
२० चैत,बुटवल । रुपन्देहीको ‘सबैको बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भएको छ ।
प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रदेशस्तरीय कार्यक्षेत्र भएका ८ सय ४८ सहकारी मध्ये कार्य सम्पादन मूल्यांकनमा सबैको बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरेको हो ।
मन्त्रालयले सुशासन लगायत क्षेत्रमा विभिन्न सूचक निर्धारण गरी संस्थाहरूको सघन मूल्यांकन गरेको थियो ।
६८ औं सहकारी दिवसका अवसरमा दाङमा भएको कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले सहकारीका अध्यक्ष भरतराज भुसाललाई नगद सात हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
चार वर्षअघि ११ वटा सहकारी एकीकरण भएर बनेको सबैको सहकारीमा ८ हजार सदस्य छन् । एक अर्ब २८ करोड कूल पूँजी र १० करोड ५० लाख सेयर पूँजी रहेको सहकारीको तिलोत्तमा–५ मा केन्द्रीय कार्यालय सहित ११ वटा सेवा केन्द्र छन् ।
सहकारीलाई पुरस्कार वितरण गर्दै मुख्यमन्त्री आचार्यले सहकारी संस्थाहरू समाजवादी अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।
प्रतिक्रिया 4