२० चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राको रिटमा सर्वाेच्च अदालतले अग्राधिकार दिएको छ । आज भएको सुनुवाईपछि सर्वाेच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश समेत जारी गरेको छ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो । यो फैसलापछि अर्का अतिरिक्त सचिव डा.विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय यथावत रहने भएको छ ।
२१ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा. देवकोटालाई सचिवमा बढुवा गरेको थियो । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा. मिश्राले चैत १ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
उनको रिटमाथि चैत ३ गते पहिलो सुनुवाई भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पछि सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको थियो । दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।
चैत ८ गते भएको अर्काे सुनुवाईमा सर्वाेच्चले सरकारसँग स्वास्थ्य सचिव नियुक्ति प्रक्रियाको फाइल मगाउने आदेश दिएको थियो ।
२ फागुनमा पूर्वसचिव डा.रोशन पोखरेलको ५ वर्षे कार्यकाल सकिएसँगै लोकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरू डा.मिश्रा, डा. विकास देवकोटा र डा.टंक बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्ले डा. विकास देवकोटालाई नियुक्त गरेसँगै डा. मिश्राले बरिष्ठताका आधारमा सचिव आफू हुनुपर्ने भन्दै असन्तुष्टि जनाएकी थिइन् ।
देवकोटा सचिव भएपनि मिश्राले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी थिइन्। उनले अनलाइनखबरसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूमाथि पटक—पटक अन्याय गरेको बताउँदै मन्त्रीको राजीनामा समेत मागेकी थिइन् ।
प्रतिक्रिया 4