
२० चैत, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारको बिर्सिए जनतालाई स्वीकार्य नहुने स्पष्ट पारेका
‘लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफैंले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो। तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गर्दा हामी कति जिम्मेवार हुनुपर्छ भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ’ राष्ट्रपति पौडेलले रेडियो नेपालको हीरक महोत्सवको बुधवार उद्घाटन गर्दै भने, ‘संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा हाम्रै संविधानले एउटा लोकतान्त्रिक संस्कृति र संस्कारको अपेक्षा गरेको छ भन्ने पनि हामीले विर्सन हुन्न । र, लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हो । संविधानको यो व्यवस्था, मर्म र भावना हामीले भुल्यौं भने नेपाली जनतालाई स्वीकार्य हुने छैन।’
राष्ट्रपति पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोड़फोड़, आगजनी र लूटपाट सर्वदा निषेधित रहेको पनि स्पष्ट पारे । उनले भने, ‘नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको छ । तर स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ । यस्तो प्रकृतिको घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।’
राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउदै सञ्चारजगतको यो महत्वपूर्ण र म्ंभीर जिम्मेवारीलाई बोध गरेर नै संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको बताए ।
उनले केही दिनअगाडि काठमाडौंमा भएको घटनाको क्रममा जनधनको जुन क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै होनाहार पत्रकार र नागरिकको मृत्यु हुनु दुखद भएको बताए ।
राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता भएको बताउँदै समाचार र कैंयन शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायतका कार्यक्रम आफ्नो स्मृतिमा आजपर्यन्त मीठो सम्झना बनेर झञ्कृत भइरहेको उल्लेख गरे ।
उनले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
उनले सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने वहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाको खास लक्ष्य पुरा हुने बताउदै सञ्चारमाध्यम विपद्का बेला आम नागरिकको भरोसाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प र कोरोना महामारीलगायतका विपत्तिका बेलामा रेडियो नेपालसहितका सञ्चारमाध्यमले गरेको योगदानबाट पुष्टि भएको बताए ।
राष्ट्रपति पौडेलले २००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना भएको बताउँदै २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँ–गाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराए ।
उनले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आजका दिन रेडियो नेपाल हुनुमा कोइरालाको लोकतान्त्रिक चेत र मूल्यमान्यता यसको मुख्य कारण भएको बताए ।
प्रतिक्रिया 4