
२० चैत, काठमाडौं । समग्र अर्थतन्त्रको विकास तथा उद्योग व्यवसाय क्षेत्रको विकासको गति तीव्र बनाउन अनुमानयोग्य नीतिगत सुधार गर्न सक्षम नेतृत्व नेपाल राष्ट्र बैंकलाई प्रदान गर्न उद्योग संगठन मोरङले आग्रह गरेको छ ।
बुधबार संगठन अध्यक्ष राकेश सुरानाले विज्ञप्ति जारी गर्दै केही वर्षदेखि अर्थतन्त्र र उद्योग–व्यवसाय क्षेत्रमा छाएको निराशा मध्यनजर गरी आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएको व्यक्तिलाई गभर्नर बनाउन सुझाव दिएका हुन् ।
‘देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याजदर निर्धारण, वित्तीय स्थिरताजस्ता विषयले औद्योगिक र आर्थिक क्षेत्र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई गभर्नर नियुक्ति गर्नुपर्छ,’ संगठनले भनेको छ ।
विगतमा राष्ट्र वैंकले लिएको कहिले अत्यन्त कसिलो र कहिले खुकुलो नीतिले आर्थिक एवं औद्योगिक क्षेत्र प्रभावित भएकाले अनुमानयोग्य मौद्रिक नीति निर्माण गर्न सक्ने नेतृत्व आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ गभर्नर नियुक्त गर्दा देशको आर्थिक अवस्थामा सुधार ल्याउने, व्यावासायिक विकासको गति तीव्र बनाउन र दिगो समृद्धि सुनिश्चित गर्न नेपालका उद्योग र व्यापारका जटिलता राम्रोसँग बुझेको योग्य नेतृत्व आवश्यक रहेको संगठनले जनाएको छ ।
‘नेपाल राष्ट्र वैंक नेपाल सरकारकै आर्थिक सल्लाहकारका रूपमा रहने भएको हँुदा अर्थतन्त्रको वर्तमान जटिल समस्या सम्बोधन गर्दै स्वदेशी उद्योगलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन सक्ने नेतृत्व केन्द्रीय बैंकलाई आवश्यक छ,’ संगठनको विज्ञप्तिमा छ ।
प्रतिक्रिया 4