
२१ चैत, काठमाडौं । बुधबार साँझपख काठमाडौं नयाँ बानेश्वरको एक फलफूल पसलमा स्याउ किन्दै थिइन् थापागाउँकी अञ्जना श्रेष्ठ ।
उनले फलफूल पसलेलाई ‘२ किलो स्याउ जोखिदिनुस् न !’ भनिन् ।
अञ्जनाले आफूलाई स्याउ धेरै मनपर्ने फलफूलमध्ये एक रहेको सुनाइन् । अहिले काठमाडौंका अधिकांश बजारमा पाइने स्याउ चीनबाट आयातित ‘फुजी स्याउ’ हो । उनले पनि त्यही फुजी स्याउ नै किन्ने गरेको सुनाइन् ।
‘मैले वर्षौंदेखि दैनिक स्याउ उपभोग गर्दै आएकी छु, स्याउ स्वास्थ्यका लागि फाइदाजनक भएकाले मैले बिहानको सुरुवात स्याउ खाएर गर्छु,’ अञ्जनाले अनलाइनखबरसँग भनिन्, ‘स्याउ पारखी भएकाले महँगो मूल्य परे पनि तिरेरै खाइएको छ ।’
उनको परिवार ५ जनाको छ । उनले महिनामा १० देखि १५ किलो स्याउ खपत गर्ने बताइन् । अन्य फलफूल कमै मात्रामा उपभोग गर्ने गरेको उनको भनाइ छ । उनले आफ्नै घरमा सिजनमा उत्पादन हुने फलफूल लगाएकी छिन् ।
अञ्जनाले भने अनुसार हिसाब गर्ने हो भने उनको परिवारमा महिनाको १० देखि १५ किलो स्याउ खपत हुन्छ । यसको मूल्य ३ हजार ५ सय देखि ५ हजार २ सय ५० रुपैयाँ पर्न जान्छ । सोमबार साँझ उनले किनेको चिनियाँ फुजी स्याउलाई फलफूल पसलेले किलोको ३ सय ५० रुपैयाँ तोकेका थिए ।
स्याउको भाउ सदाबहार महँगो
उता, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको फुजी स्याउको भाउ किलोको ३ सय २६ रुपैयाँ छ ।
समितिको तथ्यांक अनुसार गएको पुस र माघमा फुजी स्याउ २ सय ५० देखि २ सय ८० रुपैयाँमा किनबेच भएको थियो । फागुनमा उक्त स्याउको मूल्य २ सय ७६ रुपैयाँ थियो । यस्तै १९ चैतमा फुजी स्याउको मूल्य ३ सय २६ रुपैयाँ छ ।
तीन महिनाको मूल्य तुलना गर्दा ४० देखि ५० रुपैयाँको अन्तर देखिन्छ । सदाबार पाइने स्याउको मूल्यमा उपभोक्ता भने ठगिने गरेका छन् । अहिले उपभोक्ताले प्रतिकिलो ३ सय ३० रुपैयाँ पर्ने फुजी स्याउ ३ सय ५० देखि ४ सय २० रुपैयाँसम्म तिरिरहेका छन् ।
बजारमा स्याउको कुनै निश्चित मूल्य तोकिएको छैन । फलफूल व्यापारीले आफूखुसी मूल्य निर्धारण गरेर बिक्री गर्दै आइरहेका छन् । व्यापारीहरू ग्राहक अनुसार पनि मूल्य तोक्ने गर्छन् ।
नेपालमा स्याउ बाह्रै महिना किनेर खान पाइन्छ । नयाँ बानेश्वरमा फलफूल पसल गर्दै आएका ती पसलेले अहिले दैनिक १५ देखि २० किलोसम्म स्याउ बिक्री गर्दै आएको बताए ।
उनका अनुसार स्याउको मूल्य यसको प्रकार हेरर हुन्छ । अहिले बजारमा स्याउको मूल्य २ सयदेखि ३ सय ५० रुपैयाँसम्म छ ।
‘कहिले त दिनमै २५ किलोसम्म पनि स्याउ बिक्री हुन्छ, उनले भने, ‘मेरो पसलमा अहिले भएको सबै स्याउ चिनियाँ नै हो, अहिले नेपाली स्याउ बिक्री गरेको छैन । पहिला त मुस्ताङबाट आएको स्याउ पनि राम्रो बिक्री भएको थियो । स्याउको बजार सदाबहार हो । बिक्री नै भएन भन्ने दिन पनि ७ देखि ८ किलोसम्म जान्छ ।’
यसैगरी बुद्धनगरमा ‘स्पेसल फलफूल तथा जुस पसल’ सञ्चालन गरिरहेका किसन जैसवाल पनि स्याउ दैनिक १० किलोसम्म बिक्री गरिरहेको बताउँछन् । उनका अनुसार कहिले १५ किलोसम्म पनि बिक्री हुन्छ । कम भयो भने ५ किलो बिक्री हुने उनी बताउँछन् ।
‘हामीले अहिले नेपाली स्याउ बेचेका छैनौं,’ उनले भने, ‘मेरो पसलमा भएको चिनियाँ स्याउ नै हो । धेरै बिक्री हुनेमा फुजी स्याउ पर्छ । मेरोमा फुजी मात्रै छ, यो अलि महँगो नै हुन्छ । फुजीको प्रकार हेरेर मूल्य तय हुने हुँदा किलोको २ सय ८० देखि सुरु हुन्छ ।’
विदेशी स्याउले धानेको बजार
नेपालमा स्वदेशीभन्दा धेरै विदेशबाट आयात गरिएको स्याउ बिक्री हुन्छ । स्वदेशमा स्याउ उत्पादन हुने गरेको छ । तर, न त्यसले उपभोक्ताको माग धान्छ, न उचित बजार पाउँछ ।
नेपालका हिमाली भेग मनाङ, मुस्ता, हुम्ला, जुम्ला लगायतमा वार्षिक हजारौं टन स्याउ उत्पादन हुन्छ । तर, त्यसमध्ये आधा पनि बजार पुर्याउन सकिने अवस्था छैन ।
सडक पूर्वाधार गतिलो नहुँदा ती भेगमा फलेका स्याउ उतै खेर जाने गरेको छ । यति हुँदा पनि स्याउ खेती गर्ने किसान संख्या भने वर्षेनि बढ्दो क्रममा छ । जसले उत्पादन परिमाण पनि बढाइरहेको छ ।
नेपालमा स्वदेशी स्याउभन्दा धेरै विदेशबाट आयात गरिएको स्याउ बिक्री हुन्छ । अहिले पनि बजारमा चीनबाट आयात गरिएको स्याउ नै बिक्री भइरहेको छ । मुलुकमा मुस्ताङ, मनाङ, जुम्ला लगायत जिल्लामा स्याउ उत्पादन हुने गरेको छ । तर, त्यहाँको उत्पादनले बजार माग धान्दैन ।
‘स्वदेशी स्याउ चाख्न पनि पाइँदैन’
स्याउ बाह्रैमास खान पाइन्छ । तर, स्वदेशी उत्पादन भने चाख्नका लागि नै नपाइने अवस्था छ । स्याउ खपत गर्ने उपभोक्ता हुँदा पनि देशमा नै उत्पादन भएको स्याउ चार महिनाभन्दा बढी खान नपाइने अवस्था छ । विदेशबाट आयात भएको स्याउले नेपाली माग धानिरहेको अवस्थामा उपभोक्ता महँगो मूल्य तिरेर खान बाध्य छन् ।
राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बराल देशमा चाहिनेभन्दा धेरै कम स्याउ उत्पादन हुने हुँदा आयातमै भर पर्नुपरेको बताउँछन् ।
‘देशमा उत्पादन भएको स्याउले सिजनमा नै माग धान्न नसक्ने भएपछि अफ सिजनमा त आयात नगरी सुखै भएन,’ सूचना अधिकारी बरालले अनलाइनखबरसँग भने, ‘मनाङ र मुस्ताङमा उत्पादन भएको स्याउ ४ महिनाभन्दा बढी बजारमा किन्न पाइँदैन । भदौ, असोज, कात्तिक र मंसिर आधाआधिपछि हाम्रो उत्पादन सकिन्छ । त्यसपछि हामी विदेशमै भर पर्ने हो ।’
उनका अनुसार ती क्षेत्रमा उत्पादित स्याउको उत्पादन धेरै भयो भने मात्रै मात्र स्याउ कोल्ड स्टोर गरेर राख्न सकिन्छ ।
अझै पनि उत्पादित स्याउ सडकका कारण बजारसम्म ल्याउन सकिने अवस्था छैन । यसले पनि स्वदेशी स्याउको मूल्य महँगो पर्न जाने उनी बताउँछन् ।
‘खासमा आयात गरिएको सामानको मूल्य महँगो पर्न जाने हो, तर, हाम्रोमा ढुवानीका कारण पनि महँगो पर्न जान्छ,’ बराल भन्छन्, ‘चीन र भारतबाट आयात हुने स्याउमा पनि प्राइस भेरिएसन छ ।’
डेलिसियस ग्रुपका स्याउ नै अहिले बजारमा धेरै देख्न पाइन्छ । अहिले डेलिसियस ग्रुपका स्याउ पनि चीनबाट आएको उनी बताउँछन् । नेपाली किसानले उत्पादन गरेका डेलिसियस ग्रुपका स्याउको प्रिफ्रेन्स पनि व्यापारीले बुझेका कारण विदेशबाट आयात गरिएको हुन सक्ने उनको भनाइ छ ।
कोल्ड स्टोर र ग्रेडिङ अभावले स्वदेशी स्याउ मारमा
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँ नेपालमा उत्पादित स्याउले बजार नधान्ने र लामो समय स्टोर गरेर राख्न नसकिने हुँदा बजारमा आयातित स्याउको वर्चश्व रहेको बताउँछन् ।
उनका अनुसार कोल्ड स्टोर अभाव हुँदा स्वदेशमा उत्पादित स्याउलाई १२ महिना बजारमा उपलब्ध गराउन नसकिएको हो ।
स्याउको मूल्य भने आयात गरिएको देशमा नै निर्भर हुने उनी बताउँछन् । ‘अहिले बजारमा पाइएका सबै स्याउ चिनियाँ हुन्, मूल्य हाम्रो हातमा छैन,’ अध्यक्ष बानियाँ भन्छन्, ‘चीनमा नै स्याउ महँगो भए यहाँ पनि महँगो हुन्छ र सस्तो भए सस्तो हुने हो ।’
असोज, कात्तिक र मंसिरमा स्याउ भारतबाट आयात हुन्छ । त्यसपछिको ९ महिना चिनियाँ स्याउले नै नेपालको माग परिपूर्ति गर्ने अध्यक्ष बानियाँ बताउँछन् ।
नेपालका स्याउ उत्पादक किसानले वर्षौंदेखि स्वदेशी स्याउले बजार पाएन भनेर गुनासो गर्दे आइरहेका छन् । गएको वर्ष जुम्लाको स्याउले राम्रो बजार पाउँदा किसान उत्साहित पनि छन् । बजारीकरणको समस्या हुँदा सरकारले त्यसमा ध्यान दियो भने नेपाली उत्पादबाटै बजार धान्न सकिने उनीहरू बताउँछन् । तर, अध्यक्ष बानियाँ हाम्रोमा भण्डारण समस्या हुँदा असम्भव हुने बताउँछन् ।
‘नेपाली सिजनमा मुस्ताङको स्याउले चिनियाँ स्याउले भन्दा राम्रो बजार मूल्य पाएको पनि हो,’ उनी भन्छन्, ‘चिनियाँ स्याउको मूल्य २ सय हुँदा मुस्ताङ स्याउ ३ सयमा बिकेको हो ।’
जुम्ला, मुगु लगायतका स्याउ ग्रेडिङ नगरी ल्याउँदा बजार नपाउने गरेको उनी बताउँछन् । त्यताका स्याउ त्यताकै बजारमा खपत गरिनुपर्ने उनको भनाइ छ ।
‘जुम्लाको स्याउ नेपालगञ्ज, सुर्खेततिरै कटाउनुपर्छ,’ उनी भन्छन्, ‘काठमाडौंमा जनसंख्या धेरै छ भनेर यहाँ ल्याउँदा मात्रै बिकिहाल्ने भन्ने हुँदैन । मान्छेले क्वालिटी खोज्छन् । ग्रेडिङ अभावले नै बजार नपाएको हो ।’
बानियाँका अनुसार चिनियाँ स्याउ उच्च प्रविधि प्रयोग गरिएको कोल्ड स्टोरमा राखिने हुँदा लामो समयसम्म ताजै रहिरहन्छ । स्वदेशी उत्पादनको बजार माग बढी हुँदाहुँदै किसानले कोल्ड स्टोरन बनाएकाले पनि समस्या भइरहेको छ ।
कहिलेकाहीँ विदेशबाट आयात भएको स्याउमा गुणस्तरको विवाद पनि चल्दै आएको छ । चिनियाँ स्याउमा मैनबत्ती कोटेट गरिएको हुने र त्यसले स्वास्थ्यलाई असर पार्ने भन्दै बेलाबेला प्रश्न उठ्ने गरेको छ । तर, अध्यक्ष बानियाँ भने मान्छेले कुरा नबुझेकाले हल्ला फैलाउने गरेको बताउँछन् ।

‘अमेरिकामा बिना कोटेट स्याउ बेच्नै पाइँदैन, त्यो मैनको खान मिल्ने कोटेट नै हो,’ उनी भन्छन्, ‘यो भनेको ब्याक्टेरियाले आक्रमण गर्छ भनेर सुरक्षाका लागि प्रयोग गरिएको हो । तर, चीनले भने यस्तो गर्दैन । मैन कोटेट गर्यो भने त्यसको लागत महँगो पर्न जान्छ ।’
काठमाडौं उपत्यकामा स्याउको दैनिक खपत कति ?
अध्यक्ष बानियाँका अनुसार दैनिक १ सय टन स्याउ काठमाडौंबाट बाहिरी जिल्लामा जाने गरेको छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक २० टन स्याउ खपत हुने उनले बताए ।
‘काठमाडौं उपत्यकामा जनसंख्या धेरै हुँदैमा सबैले स्याउ नै खान्छन् भन्ने हुँदैन,’ अध्यक्ष बानियाँ भन्छन्, ‘औसतमा एक व्यक्तिले महिनामा ४ देखि ५ किलो स्याउ खपत गर्छन् ।’
३–४ महिनाअघि नर्मल स्याउ १ सय १० देखि १ सय ३० रुपैयाँमा पाइनेमा अहिले होलसेल (थोक) मै १ सय ६० देखि १ सय ८० रुपैयाँ पर्न गएको उनी बताउँछन् । अबको २–३ महिनामा स्याउको मूल्य अझै बढेर जाने उनको भनाइ छ ।
नेपालमा स्याउ उत्पादन र आयात कति ?
राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ५२ हजार ७ सय ८४ टन स्याउ उत्पादन भएको थियो । यो भनेको ६ हजार १ सय ९९ हजार हेक्टर क्षेत्रफलमा फलेको हो । नेपालमा वार्षिक ८ अर्ब रुपैयाँ हाराहारीको स्याउ किनबेच हुने गरेको छ ।
भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को ८ महिना (फागुन मसान्तसम्म) विभिन्न देशबाट ६ अर्ब १२ करोड ३ लाख २२ हजार रुपैयाँको स्याउ आयात भएको छ ।
गत आव २०८०/८१ को ८ महिनामा भने ५ अर्ब ४० करोड ४७ लाख ३९ हजार रुपैयाँको स्याउ आयात भएको थियो ।
नेपालमा वार्षिक ७ अर्बभन्दा बढीको ९ करोड किलोसम्म स्याउ चीन, भारत, अमेरिकका, टर्की, इन्डोनेसिया लगायत देशबाट आयात हुने गरेको छ । चीनबाट भने सबैभन्दा धेरै स्याउ आयात हुन्छ ।
प्रतिक्रिया 4