
२० चैत, काठमाडौं । टोखा नगरपालिका–२ झोरस्थित सडकखण्डमा ४ चैत राति ११ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको २५ करोड रुपैयाँको मालिक पहिचान भएको छ ।
राजस्व अनुसन्धान विभागको टोलीले करिब १५ लामो अनुसन्धानपछि मालिक पहिचान गर्न सफल भएको हो । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले २५ करोडको मालिक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ स्थायी घर भएका ३५ वर्षीय नारायण पौडेल रहेको अनलाइनखबरलाई बताए ।
‘हामीलाई यसका मालिक पहिचान गर्नुपर्ने चुनौती पनि थियो । संसद्सम्म यसका मालिकबारे प्रश्न उठेको थियो । जसकारण पनि मालिक पहिचान गर्न हामीलाई चुनौती पनि थियो । तर यसमा सफल भएका छौं,’ घिमिरेले भने ।
पछिल्लो समय टोखा नगरपालिका–१० महादेवटार हाइटस्थित आफ्नै घरमा बसोबास गर्ने पौडेलकै मुख्य लगानी र योजनामा यो रकम चीन जान लागेको विभागको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंबाट युरो र अमेरिकी डलर चीन लगेर उताबाट सुन लिएर आउने गरको निष्कर्ष निकालेको थियो । विभागको अहिलेसम्मको अनुसन्धानले पनि सुन तस्करी गर्नकै लागि उक्त रकम चीन गएको निष्कर्ष निकालेको छ ।
त्यसका लागि पौडेलले आफ्नै पालिकाका चालकलाई भरियाको रूपमा प्रयोग गरेको देखिएको छ । भरियाको रूपमा प्रयोग भएका कुसाङ लामाको घर पनि सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो ।
उनै कुसाङको आपराधिक पुष्ठभूमिबारे पौडेल राम्रोसँग जानकार थिए । सोही कारण कुसाङलाई उनले सहजै प्रयोग गरेर डलर र युरो चीन तस्करी गरेर सुन ल्याउन खोजेको देखिएको विभागका अधिकारीहरु बताउँछन् ।

ना ७ ख १६५२ नम्बरको कन्टेनरसहित पक्राउ परेका कुसाङलाई प्रहरीले विभागको जिम्मा लगाएको थियो । विभागले सीसीटीभी फुटेज, कल डिटेल तथा एनालाइसिस, डिजिटल डिभाइसको अध्ययन र विभागलाई प्राप्त सूचनाका आधारमा पौडेल २५ करोडका मालिक रहेको विभागले निष्कर्ष निकालेको छ ।
पौडेलकै संलग्नतामा ५००, २००, १०० दरको जम्मा १३ लाख ७५ हजार १५० युरो र १००, ५० दरका ३ लाख २० हजार ८५० रुपैयाँ (२५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ) रकम ट्रकमा लोड भएको सीसीटीभ फुटेज समेत पत्ता लगाइएको एक अनुसन्धान अधिकृतले बताए ।
नारायण पौडेल नै मालिक हुन् भन्ने पहिचान कसरी गर्नुभयो भन्ने प्रश्नमा एक अनुसन्धान अधिकृतले भने, ‘पौडेलको विगत, पक्राउ परेका चालकमाथिको अनुसन्धान र सीसीटीभी फुटेजबाट समेत यो प्रमाणित हुन्छ ।’
विभागले पौडलेकै संलग्नतामा रकम ट्रकमा राखेको फुटेज समेत पत्ता लगाएको छ । यद्यपि विभागले भने रकम कहाँ लोड भयो भन्नेबारे जानकारी गराएको छैन । यसअघि चालकले प्रहरी समक्ष भने सामाखुशीमा रकम हालिएको बयान दिएका थिए । यसलाई महत्त्वपूर्ण प्रमाण मानेर यही आधारमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत लिइएको विभाग स्रोत बताउँछ ।
विभागका प्रवक्ता नवराज अधिकारीले समेत पौडेलविरुद्ध पक्राउ पुर्जी जारी भएर पक्राउका लागि प्रहरीलाई समेत भनिएको बताए । ‘पौडेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परका लागि प्रहरीलाई समेत भनिसकेका छौं,’ प्रवक्ता अधिकारीले भने ।
नारायण पौडेलले प्रयोग गर्ने मोबाइल र चालक कुसाङको मोबाइलमा समेत सूचना आदान प्रदान भएको र फोन सम्पर्क भएको समेत भेटिएको छ । प्रहरीले ११ बजे राति चालक कुसाङलाई पक्राउ गर्नुभन्दा केही समय पहिला मात्रै नारायण र चालकबीच फोनमा कुराकानी भएको विवरण समेत भेटिएको छ ।
टोखाबाटै २५ करोडका मालिक फरार
२५ करोडका मालिक नारायण पौडेल रहेको खुलेपछि यसबारे प्रहरीले अनुसन्धान गर्दा उनको अन्तिम लोकेसन समेत टोखा देखिएको विभाग स्रोतले बतायो । ‘चालक पक्राउ परेकै ठाउँ टोखाबाट यसका मालिक पौडेल फरार भएको देखिन्छ,’ विभागका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
अन्तिम लोकेसन टोखा देखिएपछि त्यहाँबाट भने पौडेलको मोबाइल स्वीच अफ भएको थियो । त्यसपछि फरार भएका उनी अहिलेसम्म फरार छन् । टोखा समेत घर भएका पौडेलले नै करिब साँझ ६ बजेतिर रकम ट्रकमा लोड गरेका थिए । रकम हाल्नुअघि ट्रक ग्यारेज, पार्किङस्थित र विभिन्न गोदामहरुमा पुगेको पत्ता लागेको छ । रकम लोड भएपछि ट्रक कता–कता भयो भन्नेबारे अनुसन्धान समेत गरिएको थियो ।
टोखास्थित उनको घरमा समेत पुगेर विभागको टोलीले खानतलासी गरेको थियो । घरमा अहिले उनका सुरक्षा गार्ड बोहक कोही पनि छैनन् । चालक पक्राउ लगत्तै भागेर उनी भारत पुगेको हुनसक्ने आशंका गरिएको छ । बाहिर भाग्न सक्ने आशंका गरेर उनको पासपोर्ट समेत रोक्का गरिएको छ ।
कुसाङको अस्वाभाविक कारोबार, पौडेलको खाता रोक्का
अनुसन्धानका क्रममा ट्रक चालक कुसाङको बैंक खाता जाँच गर्दा अस्वाभाविक कारोबार भएको समेत भेटिएको छ । प्रहरीले ट्रक बुझाएपछि पुनः खानतलासी गर्दा विभिन्न बैंकका भौचरहरू समेत बरामद भएका थिए । जसमा कुसाङको खातामा नगद जम्मा भएका बैंक भौचरहरू भेटिएको विभागको भनाइ छ ।

त्यसैगरी कुसाङको बैंक खातामाहरू निरन्तर ठूलो रकमको ट्रान्ज्याक्सन समेत देखिएको छ । कमजोर आर्थिक हैसियत भनिएका कुसाङको आमाको नाममा उक्त ट्रक रहेको खुलेको थियो । उक्त ट्रक समेत पौडेलले नै खरिद गरिदिएको हुनसक्ने आशंका गरिएको छ ।
यसअघि भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष साङबु लामाले समेत ट्रक कुसाङकी आमाको नाममा रहेको थाहा पाएपछि आफू अचम्मित भएको अनलाइनखबरलाई बताएका थिए । उनको सबै परिवार र बा–आमासँग समेत राम्रो चिनजान रहेका वडाध्यक्ष साङबुले पनि २५ करोडको हैसियत भएका व्यक्ति कुसाङ नरहेको बताएका थिए । यद्यपि यसबारे पुष्टि हुन बाँकी नै छ । यो पाटोबारे अनुसन्धान गर्न बाँकी नै रहेको विभागले जनाएको छ ।
अहिले पक्राउ परेका कुसाङ यसअघि १३ पुस २०७३ मा ७ किलो सुनसहित कलंकीबाट समातिएका थिए । त्यतिबेला पनि रसुवा नाकाबाट गल्छी हुँदै काठमाडौं आएको बा ८च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुन बरामद भएको थियो । कुसाङले चलाएको गाडीको एयरफिल्टरमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो ।
यो प्रकरणमा उनी ५ वर्ष जेल बसेर २०७८ मा छुटेका थिए । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको इजलासले २६ असार २०७४ ३ करोड १६ लाख २६ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैदको फैसला सुनाएको थियो । तोकेको जरिवाना तिर्न नसेपछि उनले पाँच वर्ष जेल बस्नु परेको थियो ।
जेलबाट छुटेपछि उनी फेरि तस्करीमै आवरुद्ध भएका हुन् । उनै कुसाङको बैंक खाताहरू समेत रोक्का गरिएको छ ।
यता २५ करोड रुपैयाँका मालिक भनिएका पौडेलको पनि बैंक खाताहरू रोक्का गरिएको विभागका महानिर्देशक घिमिरे बताउँछन् । ‘बैंक खातादेखि घरजग्गासम्म रोक्का गरेका छौं’ घिमिरेले भने यसको विस्तृत अनुसन्धान जारी छ ।’
विभागले अहिलेसम्म विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अतर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । अब यो रकम कहाँबाट आयो कहाँ जान लाग्यो भन्नेबारे अनुसन्धान भएपछि राजस्व चुहावटको विषय पनि जोडिने बताइएको छ ।
रकमसहित पक्राउ परेका र यसका मालिकविरुद्ध सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान गर्नुपर्ने देखिएको अवस्थामा त्यसमा समेत अनुसन्धान गर्ने विभागको तयारी छ । यी तीन वटै कसुरको अनुसन्धान क्षेत्राधिकार विभागसँग छ । संगठित अपराधको कसुर जोडिएको अवस्थामा भने विभागबाट यो अनुसन्धान प्रहरीमा सर्नेछ ।
को हुन् २५ करोडका मालिक नारायण पौडेल ?
सिन्धुपाल्चोकको भोटेकोशीका पौडेल विवावादस्पद पृष्ठभूमि भएका व्यक्ति हुन् । उनको श्रीमतीको मृत्यु भइसकेको छ भने एक छोरा र एक छोरी छन् ।
चीनबाट विभिन्न सामान ल्याएर बेच्ने गरेका पौडेल अहिले हुन्डीदेखि डलर र सुन तस्करीसम्म जोडिएका छन् । उनीविरुद्ध सार्वजनिक छाप दस्तखत कीर्तेमा समेत मुद्दा चलेको पाइएको छ । उनका दाजु राजकुमार माओवादी केन्द्रबाट २०७४ को चुनावमा भोटेकाशी गाउँपालिका अध्यक्षमा समेत निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा भने उनी नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए ।
राजकुमारविरुद्ध समेत १५ करोड सुन तस्करीको प्रकरणमा मुद्दा चलेको थियो । त्यतिबेला उनी धरौटीमा रिहा भएका थिए । पछि सफाइ पाएका थिए । नारायणका अर्का भाइ बच्चु नेपाली कांग्रेसमा आबद्ध छन् । जेठा दाजु ध्रुव भने २०५४ सालमा एमालेबाट गाविस अध्यक्ष समेत निर्वाचित भएका थिए । अहिले २५ करोडका मालिक भनिएका नारायण भने माओवादीमा आबद्ध रहेको जानकारहरू बताउँछन् ।

२०६० सालतिर कन्टेनर किनेर सामान आयात निर्यात गर्न थालेपछि पौडेल दाजुभाइको आर्थिक हैसियत एक्कासी बढेको जानकारहरू बताउँछन् । पछि पौडेल दाजुभाइहरूले लगानी बिस्तार गर्दै होटलदलेखि क्रसर र हाइड्रोसम्म पुर्याएको बताइन्छ ।
उनका बाबु दुर्गाप्रसाद प्रधानपञ्च समेत बनेका थिए । नारायणले रक्तचन्दनदेखि हुन्डी, डलर, सुनसम्मको अवैध कारोबार गर्ने गरेको दाबी अनुसन्धान अधिकारीहरूको छ ।
प्रतिक्रिया 4