+

वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

२०८१ चैत  २० गते २२:०८ २०८१ चैत २० गते २२:०८

काठमाडौंबासीको आँखा पोल्ने, नाक बन्द हुने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएका छन् ।

वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

२० चैत, काठमाडौं । मंगलबार बिहानैदेखि काठमाडौँको आकाश धुम्म थियो । तुवाँलोले घाम छर्लंग देखिएको थिएन ।

भक्तपुरका नवराज कोइराला बानेश्वर अफिस जान घरबाट निस्किए । सानोथिमी आइपुग्दा उनको आँखा अलिअलि पिरो भयो । कोइरालाले अनलाइनखबसँग भने, ‘कोटेश्वर आइपुग्दा त आँखै हेर्न सकिएन । बाइक रोकेर मुख धुनुपर्‍यो ।’

कंलकी सीता थापा बिहानै तरकारी लिन कालीमाटी पुगेकी थिइन् । तर अत्यधिक आँखा पोलेपछि उनी तुरुन्तै घर फर्किन् । ‘कालिमाटीमा मात्रै होइन रहेछ, सबैतिर उस्तै रहेछ । घर पुग्दा त घाँटी खसखसायो, खोक्दा कालो खकार आयो,’ उनले अनलाइनखबरसँग समस्या सुनाइन्, ‘बिहान त श्वास फर्नै गाह्रो भएको महसुस भयो ।’

पछिल्ला केही दिनमा उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको छ, जसका कारण आँखा पिरो हुने, घाँटी खसखसाउने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको छ ।

केही सातायता आँखाले प्रष्ट देखिने र शरीरले महसुस गर्ने गरी वायु प्रदूषण बढेको छ । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ । काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित शहर बनेको थियो । बुधबार झन् वायु प्रदूषण बढेको छ । काठमाडौं दोस्रो प्रदूषित शहर बनेको छ ।

काठमाडौंबासीको आँखा पोल्ने, नाक बन्द हुने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएका छन् ।

आईक्यूएयरको तथ्यांकअनुसार मंगलबार बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।

जबकि, १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।

वायु प्रदूषण – Online Khabar

एक हप्तायता धेरै मानिस आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लक्षण लिएर अस्पताल पुगिरहेका छन् । धुवाँधुलोका कारण कतिपय दीर्घरोगी त भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेको चिकित्सकहरु बताउँछन् ।

छाती तथा सघन उपचार रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार पछिल्ला दिनमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी अत्यधिक बढेका छन् । उनका अनुसार बहिरंग सेवामा दैनिक सेवा लिन आउने बिरामीमध्ये आधाभन्दा बढी वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुगेका छन् ।

केही सातायता आँखाले प्रष्ट देखिने र शरीरले महसुस गर्ने गरी वायु प्रदूषण बढेको छ

डा पंगेनीका अनुसार उनले हेरेका बिरामीमध्ये ५० प्रतिशत श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, कफ आउने लगायतका समस्या लिएर आउने बिरामी धेरै छन् ।

‘भाइरल इन्फ्लुएन्जा हुँदा हप्ता दिनमै रुघाज्वरो निको हुने गरेको छ । तर वायु प्रदूषणले तीन/चार हप्तासम्म पनि निरन्तर खोकी लागिरहने, घाँटी खसखस भइराख्ने र नाक बन्दको समस्या लिएर बिरामी आएका छन्,’ डा. पंगेनीले भने ।

चिकित्सकका अनुसार ओपीडीमा मात्रै होइन, आकस्मिक तथा आईसीयूमा पनि बिरामीको चाप बढ्दो छ । कतिपयमा अक्सिजन कम हुने, निमोनिया देखिने, श्वास फेर्न गाह्रो भएर भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

वायु प्रदूषणको असर दीर्घरोगी वा ज्येष्ठ नागरिकमा मात्रै देखिएको छैन । वायु प्रदूषणको असरस्वस्थ व्यक्तिमा देखिएको पंगेनी बताउँछन् ।

वायु प्रदूषणको असरका कारण रुघाखोकी लागेर आएका बिरामीमा औषधिले समेत काम नगर्ने अवस्था बनेको चिकित्सक बताउँछन् ।

पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि वायु प्रदूषणले असर गर्नसक्छ । सँगसँगै प्रदूषणका कारण खोक्नसक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पुर्‍याउँछ ।

वायु प्रदूषणले खतराको तह नाघ्यो

काठमाडौंमा वायु प्रदूषण अचानक बढेको होइन । प्रदूषणका कणहरू एक/दुई दिनयता आकाशमा जम्मा भएका पनि होइनन् । काठमाडौंको हावामा जंगलमा लागेको डढेलोको धुवाँ पनि मिसिइरहेको छ ।

डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार वायु प्रदूषण बढ्नुमा डढेलोको धुवाँको ८० प्रतिशतभन्दा धेरै योगदान छ । उनका अनुसार हरेक वर्ष वैशाखको दोस्रो हप्ता डढेलो धेरै लाग्छ । त्यसपछि बिस्तारै घट्दै जान्छ ।

तर, चैतको तेस्रो सातामा देशभरका यस्तो अवस्था देखिनुले केही हप्तापछि झन् भयावह अवस्था बन्ने विज्ञको चेतावनी छ । शर्माका अनुसार अहिले ३ सयभन्दा धेरै ठाउँमा डढेलो फैलिरहेको छ । पर्सा, चितवन, मकानपुर, सिन्धुली, उदयपुरका जिल्ला अति प्रभावित छन् ।

‘डढेलोको धुवाँले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको छ,’ शर्मा भन्छन्, ‘काठमाडौंमा मात्रै होइन, हिमालमा समेत धुवाँ तैरिएर बसेको देखिन्छ । जसले हिँउ पगाल्ने कामसमेत गरेको छ ।’

गाडी, इँटाभट्टाबाट निस्कने धुवाँ र धुलोको कणले समेत प्रदूषण भइरहेको उनले बताए । ‘काठमाडौं मात्रै होइन, देशभर नै वायु प्रदूषण बढेको छ । पानी नपरी आकाशमा जम्मा भएको धुलो र धुवाँ बाहिर निस्किन पाउँदैन,’ शर्माले अनलाइनखबरसँग भने, ‘केही दिनसम्म यस्तै धुम्म रहिरहन्छ ।’

वायु प्रदूषण कम गर्ने दीर्घकालीन उपाय खोज्न आग्रह – Online Khabar

अहिले नेपालका धेरै स्थानमा वायुमण्डल स्थिर अवस्थामा छ । हावा चलिरहेको छैन र यहाँको धुवाँ धुलो अन्यत्र फैलिन पाएको छैन, वायुमण्डलमा नै तैरिरहेका हुन्छन् ।

डा. पंगेनी भन्छन्, ‘वायु प्रदूषण साइलेन्ट किलर हो । देखिँदैन तर, यसले पार्ने असर उच्च हुन्छ । वायु प्रदूषणले शरीरका प्रत्येक अंगलाई असर गरिरहेको छ ।’

‘लामो समयदेखि पानी नपरेका कारणले वायुमण्डल सुख्खा छ । यस्तो अवस्थामा धुलोका कणहरु अत्यधिक हुन्छन् । त्यसमाथि पनि जंगलमा आगलागी पनि भइरहेको छ’, शर्मा भने, ‘काठमाडौं, पोखरा जस्ता शहर कचौराजस्तो छ । यसको भू–बनोट नै यस्तै भएकाले धुलोधुवाँ सहजै निस्किएर जान पाएन ।’

वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले पोखरादेखि पूर्वी नेपालसम्मका वनजंगलमा धेरै डढेलो बढेको बताए ।

‘तीन दिनयता काठमाडौंमा अत्यधिक वायू प्रदूषण भइरहेको छ । चितवन, हेटौंडा र चुरेको जंगलमा लागेको डढेलो काठमाडौंको आकाशमा छ,’ लामिछानेले अनलाइनखबरसँग भने, ‘ चैत, वैशाख डढेलो सिजन हो । पानी नपर्दासम्म डढेलो असर केही लम्बिने देखिन्छ ।’

लामिछानेले थपे, ‘यो प्रदूषण बागमती करिडोरबाट काठमाडौं प्रवेश गरेकाले काठमाडौंमा अहिले तुवाँलोको समस्या छ । हावा पनि एकदम कम चलिरहेको छ । पानी नपरेको र आगालागी बढेले वायु प्रदूषण झन् थपिएको हो ।’

वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास नेपालमा विशेषगरी जाडो (मंसिरको दोस्रो सातादेखि पुसको दोस्रो सातासम्म) र सुक्खायाम (फागुनको तेस्रो सातादेखि वैशाखको तेस्रो सातासम्म) मा वायु प्रदूषण उच्च तहमा पुग्ने बताउँछन् ।

‘काठमाडौंको भौगोलिक स्थिति कचौरा आकारको छ । फागुनदेखि डढेलो, कृषि अवशेष जलाउनु र इँटाभट्टाका कारणले प्रदूषण बढिरहेको छ,’ डा. दासले अनलाइनखबरसँग भने ।

डा. दासले तराईमा गहुँको छ्वाली जलाउनुका साथै वनजंगलमा डढेलो लागेकाले उपत्यका सहरमा वायू प्रदूषण छिरिको बताए ।

सम्पूर्ण अंग बिगारिरहेको प्रदूषित हावा

नेपाल ‘बर्डेन अफ् डिजिज’ को पछिल्लो तथ्यांकअनुसार नेपालमा वार्षिक १ लाख ९३ हजार ३३१ जनाको मृत्यु हुन्छ ।

नेपालीको सर्वाधिक मृत्युको कारण हो– मुटु तथा रक्तनलीसम्बन्धी रोग । यो रोगका कारण वार्षिक ४६ हजार ३९९ नेपालीको मृत्यु हुन्छ । यसपछि दीर्घ श्वास–प्रश्वास रोग कारण वार्षिक ४० हजार, ७९२ नेपालीको मृत्यु हुने गर्छ ।

श्वासप्रश्वाससम्बन्धी रोगमध्ये सीओपीडी, दम र आस्थमाले ९० प्रतिशतभन्दा बढी बिरामीलाई प्रभावित पारेको चिकित्सक बताउँछन् ।

डा. पगेनीका अनुसार दीर्घ श्वास–प्रश्वासको समस्याले फोक्सो र श्वासनली सुन्निने र खुम्चिने हुन्छ । जसले गर्दा श्वास फेर्न अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ–स्वाँ हुने, छाती कस्सिने, छाती भारी हुने लगायत लक्षण देखिन्छन् । धूमपान र वायु प्रदूषण दम रोगका प्रमुख कारक हुन् ।

वायु प्रदूषणको बढ्दो जोखिमले नागरिकको स्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको चिकित्सकहरू बताउँछन् । विशेषगरी दीर्घरोगी, बालबालिका र वृद्धवृद्धामा यसको तत्काल असर देखिए पनि दीर्घकालीन रूपमा सबै उमेर समूहका व्यक्ति प्रभावित हुने डा. पंगेनीको भनाइ छ । प्रदूषित हावामा रहेका कणहरु श्वासनली, फोक्सो हुँदै रगतसम्म पुग्छ र शरीरभरि फैलिन्छ ।

पीएम २.५ स्वास्थ्यका लागि खराब मानिन्छ । त्यसका साथै निकोफिन, क्याटमियम, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड जस्ता क्यान्सरजन्य पदार्थहरू समेत रहेका हुन्छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु हावामा भएका मसिना धुलोको कण पीएम २.५ र अन्य विभिन्न सूक्ष्म कण स्वास्थ्यका लागि हानिकारक छ । हानिकारक पदार्थहरू रगतमा पुगेपछि रगतलाई कडा बनाइदिन्छन् । जसका कारण विभिन्न अंगलाई असर गर्छ ।

डा. कोजुका अनुसार प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयघात, मस्तिष्कघात, आँखा, उच्च रक्तचाप, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गर्छ ।

‘वायु प्रदूषणका कारण नाक पोल्ने, नाक सुख्खा हुने, घाँटी खसखसाउने तथा आँखामा असर तत्काल हुने हुन्छ,’ डा. कोज भन्छन्, ‘वायु प्रदूषणले एकैचोटी निसासिएर मानिस मर्दैन । विस्तारै साइलेन्ट किलरको मानिसलाई मारिरहेको छ।’

उनका अनुसार वायु प्रदूषणले नेपालीको आयूलाई क्रमशः घटाउँदै लगेको छ ।

तिलगंगा आँखा अस्पतालकी वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रिता गुरुङका अनुसार अहिलेको वायु प्रदूषणले आँखामा निकै गम्भीर असर पर्न सक्छ । उनको भनाइमा आँखामा यस्तो प्रदूषणको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्ने देखिन्छ । ड्राई आई सिन्ड्रोम अर्थात् आँखा सुक्खा भएर विभिन्न समस्या पनि देखिन सक्छ ।

प्रदूषणले गर्दा आँखाबाट आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढिरहेको उनले बताइन् ।

‘प्रदुषणले गर्दा एलर्जीको समस्या लिएर बिरामी आइरहेका छन् । यो मौसममा फूल धेरै फुल्ने हुन्छ । यसका परागले पनि आँखालाई असर गरिरहेको छ,’ डा. गुरुङले भनिन्, ‘ धेरैजसो स्कुल जाने बालबालिका प्रभावित छन् ।’

आँखा एलर्जी हुँदा अधिक मात्रा औषधिको प्रयोग गर्दा आँखाको लेन्स नै बिग्रिने र मोतिबिन्दुुसम्म हुनसक्ने उनको भनाइ छ । वायु प्रदूषणका कारण रेटिना पनि बिग्रिने खतरा हुन्छ ।

वायु प्रदूषणले खुला स्थानमा लामो समय काम गर्नेलाई बढी असर गर्छ । विशेषगरी घर बाहिर खेल्न मन पराउने बालबालिका, ड्राइभर, प्रहरी तथा कलकारखानामा काम गर्ने मानिसमा वायु प्रदूषणले छिटो असर गर्छ ।

वायु प्रदूषणले मानव शरीरमा कति असर गर्छ भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको फोक्सोको तस्वीरले पनि प्रष्ट पार्छ ।

गत वर्ष चैतमा मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोको रङ १५ दिनमै कालो भएपछि निकालिएको थियो । वायु प्रदूषणका कारण १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको मन्त्रालयका अधिकारी बताउँछन् ।

वायु प्रदूषणको नकारात्मक प्रभावबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट बचाउन तत्काल ठोस कदम चाल्नुपर्ने डा. दास बताउँछन् । यसका लागि दीर्घकालीन रुपमा व्यवस्थित शहरीकरण, नवीकरणीय ऊर्जा प्रयोग, रुख–बिरुवा लगाउने, फोहोर नजलाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिने विज्ञ बताउँछन् ।

डा. पंगेनी भन्छन्, ‘वायु प्रदूषण साइलेन्ट किलर हो । देखिँदैन तर, यसले पार्ने असर उच्च हुन्छ । वायु प्रदूषणले शरीरका प्रत्येक अंगलाई असर गरिरहेको छ ।’

काठमाडौँ बिरामी वायु प्रदूषण
लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सात सरल योगासन, जसले घटाउँछ पेटको बोसो (भिडियोसहित)

सात सरल योगासन, जसले घटाउँछ पेटको बोसो (भिडियोसहित)

वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

३५ वर्ष कटेपछि सन्तानको योजना बनाउँदै हुनुहुन्छ ? यसो गर्नुहोस्

३५ वर्ष कटेपछि सन्तानको योजना बनाउँदै हुनुहुन्छ ? यसो गर्नुहोस्

डा.मिश्राको रिटमा सर्वाेच्च अदालतले दिएन अन्तरिम आदेश

डा.मिश्राको रिटमा सर्वाेच्च अदालतले दिएन अन्तरिम आदेश

मान्छेको जिन नै कम खाने र धेरै हिँड्नुपर्ने खालको छ

मान्छेको जिन नै कम खाने र धेरै हिँड्नुपर्ने खालको छ

उपत्यकाका सरकारी अस्पतालमा कार्यरत २५६ नर्सको पाठेघरको मुखको क्यान्सरको जाँच

उपत्यकाका सरकारी अस्पतालमा कार्यरत २५६ नर्सको पाठेघरको मुखको क्यान्सरको जाँच