
सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझी, २०६२/६३ को जनआन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगका संयोजक हुन् । दलका नेताहरूलाई विगतको गल्ती नदोहोर्याउने ‘कबुल’ गराएरै समितिको नेतृत्व स्वीकारेको बताउने उनी राजनीतिज्ञहरूको पुरानै चरित्र र संस्कार दोहोरिएकोमा खिन्न छन् ।
जनताको संघर्षबाट आएको लोकतन्त्रलाई राजनीतिज्ञहरूले आफ्नो स्वार्थ र हितमा प्रयोग गर्दा समाजमा उकुसमुकुस बढेको र त्यो कुनै पनि बेला विस्फोट हुनसक्ने उनको आकलन छ । लोकतन्त्रको संघर्ष र त्यसको उपलब्धि, राजनीतिक संस्कार र पछिल्लो समय नेपाली समाजमा देखिएको असन्तुष्टिका विषयमा पूर्वन्यायाधीश रायमाझीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवाली ले गरेको कुराकानी :
गत साता तीनकुनेको हिंसात्मक घटनामा दुई जनाको ज्यान गयो । सार्वजनिक सम्पत्ति तोडफोड भयो, लुटपाट मच्चियो । यस्ता घटना किन दोहोरिन्छन् ?
आन्दोलनमा निर्दोष नागरिकले ज्यान गुमाउनुपर्यो । यो घटना दुःखद हो । अपरिपक्व राजनीति चलिरहँदा यस्ता घटना हुँदा रहेछन् । यस्तो भन्दाभन्दै हामीले लामो समय बिताइसकेका छौं । नयाँ संविधान जारी भएको पनि करिब १० वर्ष हुन थाल्यो ।
अब हामी कता छौं भनेर नियालेर हेर्नुपर्ने भयो । सही बाटोबाट हिँड्न सकेका छौं कि छैनौं भन्ने प्रश्न छ । हामी (न्यायाधीशहरू) पेशा र स्वभावैले पनि दलीय राजनीतिदेखि टाढा छौं । तैपनि संवैधानिक कानुनको विद्यार्थीको दृष्टिकोणले हेर्दा मुलुकको राजनीति हाम्रो अपेक्षा अनुसार अघि बढ्न सकेन ।
हामी लोकतन्त्र भन्छौं, नेताजीहरू पनि लोकतन्त्र भनेर फलाक्नुहुन्छ । तर, चिन्तन, व्यवहार र आचरण लोकतन्त्रको मूल्य, मान्यता भन्दा विल्कुल अलग भइसकेको छ ।
चिन्तन, आचरण र व्यवहार एकसाथ सँगसँगै हिँडाएको भए सही ठाउँमा पुगिन्थ्यो । त्यसमा एउटा मात्रै पक्षको अभाव भयो भने हामी गन्तव्यमा पुग्दैनौं ।
आचरण ठिक छैन भने जस्तोसुकै लोकतन्त्रको दुहाई दिएपनि कुनै अर्थ हुँदैन । राजनीतिज्ञको आचरण ठिक छैन, नागरिकले विश्वास गर्न सकिरहेको हुँदैन । अहिले नेताहरू त्यो आचरणमा नभएका कारण कतिपयले तीन प्रमुख नेताहरूलाई ‘श्री ३’ भनेर व्यंग्य गर्न थालेका छन् । यस्तो हुनु हाम्रा लागि दुर्भाग्य हो ।
सार्वजनिक वृत्तबाट यसरी खरो आलोचना भएपछि उहाँहरूलाई लाज लाग्नुपर्ने हो । उहाँहरूले हिजो लोकतन्त्रका लागि संघर्ष गर्नुभएकै हो, लडेकै हो । आन्दोलन गर्नु, सफल हुनु एउटा कुरा हो । त्यसलाई व्यवस्थित ढंगलबाट अघि बढाउनु अर्को कुरा हो । आन्दोलनको सफलतापछि प्रजातन्त्रमा असल आचरणसहित काम गर्न गाह्रो हुन्छ ।
लोकतन्त्रमा जनताको मन र विश्वास जित्नु सबैभन्दा महत्त्वपूर्ण हो । तर, यहाँ मन जित्ने आचरण र चिन्तन नै हुन सकेन । राजाको पालामा जुन संस्कार र चिन्तन थियो, त्यो निरन्तर रह्यो । उनीहरूले आफूलाई लोकतान्त्रिक मूल्यमान्यता अनुकुल रुपान्तरण गर्नै सकेनन् ।
जनआन्दोलन लगत्तै जाँचबुझ समितिमा रहँदा तपाईंले अहिलेका प्रमुख नेताहरूलाई नजिकबाट नियाल्नुभयो । उनीहरू त्यतिबेलादेखि अहिलेसम्म लोकतन्त्र र व्यवस्थाप्रति प्रतिबद्ध नै देखिन्छन् नि, होइन र ?
शेरबहादुर देउवा र केपी ओली त हिजोको राजनीतिमा पनि थिए । प्रचण्ड शान्ति प्रक्रियाबाट आएका हुन्, तर काम गर्दागर्दै यही विकृतिमा मिसिए । लोकतन्त्र के हो ? यसमा हामी कसरी हिँड्नुपर्छ भनेर यिनीहरूले छुट्याउनै सकेनन् ।
उनीहरूको स्वार्थभन्दा जनता र देशको हित ठूलो हो । जनताको मन जित्न हामीले के–के सुधार गर्नुपर्छ भन्ने हेक्का नै राखेनन् । त्यसले गर्दा उदाहरणीय नेता बन्ने सम्भावना यिनीहरूले गुमाए ।
मनमोहन अधिकारीले प्रधानमन्त्री हुँदा वृद्धभत्ताको सुरुवात गरे । अहिलेसम्म त्यसले समाजमा राम्रो प्रभाव पारेको छ । गरिब र निमुखाहरूलाई यसबाट लाभ भएको छ । देउवा र ओलीले यस्तै अरु राम्रा काम गर्नुपर्ने थियो । प्रचण्डले त झन् राम्रा काम गर्नुपर्ने थियो । उनी त रातारात कायापलट गर्छु भनेर आएका थिए । उनी पनि यसैमा अल्मलिए, यसैमा रमाए ।
त्यत्रो संघर्ष गरेर आएका नेताहरू किन चुकेका होलान् ?
स्पष्ट दृष्टिकोणको अभाव नै मुख्य कारण हो भन्ने लाग्छ । चिन्तनमा परिपक्वता देखिएन । यसै गरेर हिँड्ने र अल्मलिने बानी भयो । देउवा त त्यत्रो समय प्रजातन्त्रका लागि लडेका थिए । विद्यार्थीकालदेखि नै लडेका व्यक्तिमा स्पष्ट दृष्टिकोण हुनु पर्दैन ? उनले यथार्थमा केही पनि दिन सकेनन् ।
नेताहरू त जनताको अगाडि उदाहरण बन्नुपर्ने थियो । उदाहरण बन्नेतिर कोही पनि लागेनन् । खाली आफू, पैसा र आफ्ना मान्छेमा मात्रै ध्यान गयो । अहिले त यिनीहरू जनतादेखि टाढा हुँदै गए । नयाँहरूलाई पनि यिनीहरूले पुरानै विकृतीतिर मोडिदिए ।
यही गतिहीनताले दैनिक हजारौं मानिस देश छाडेर बाहिर गएका छन् । १२ पास गरेकाहरू कोही पनि नेपालमा बस्न चाहँदैनन् । यो अवस्था कसरी सिर्जना भयो ? आम नागरिकको हकहित र सुविधालाई यिनीहरूले कत्ति पनि ध्यान दिएनन् ।
मानिसलाई कसरी बाँच्ने भन्ने चिन्ता छ । युवाहरू नै मुलुकमा यत्रो समय काम गरेर के पाइयो र भन्ने अवस्थामा पुगे । ‘यही मुलुकमा बस’ भनेर सहमत गराउने ठाँउ नेताहरूले बनाइदिएनन् । बनाउनुपर्ने दायित्व यिनीहरूको होइन र ? यिनीहरूले अप्रत्यक्ष रुपमा ‘देशका युवा र जवानहरू विदेश गए हुन्छ’ भनिरहेका छन् । ‘तिमीहरू बाहिर जाओ, हामी बसेर खान्छम्’ भन्ने व्यवहार गरिरहेका छन् ।
एयरपोर्टतिरको भीड हेर्यो भने मलाई दिक्क लाग्छ । सारा लस्कर विदेशतिर लागेको छ । मेरो गाँउ (पाल्पा, भैरवस्थान) का छिमेकी र अरु आउँछन् । त्यहाँ घरमा ताला मारेर आएका छन् रे । त्यत्रो सम्पति छ, घरजग्गा छ, किन छाडेर आएको भनेर सोध्छु । उनीहरू भन्छन्, ‘बाँदरले बस्न दिँदैन । छोराछोरी सबै बाहिर छन् । हामी बुढाबुढीलाई बाँदरले टेर्दैन । अनि हिँडियो ।’
ताला लगाएर सबै हिँडेपछि गाँउ उजाड छ । मानिसहरू बाध्य भए, गाँउमा टिक्न सकेनन् । चिन्तन अनुसार काम नभएको परिणाम हो यो । नेताहरूले देश र जनताको भलाई हेर्नुपर्यो ।
नेताहरूले तपाईंसामु ‘अब हामी सुध्रिन्छौं, जाँचबुझ आयोगमा बसेर काम गरिदिनुपर्यो’ भनेर अनुरोध गरेपछि तपाईं आयोगमा बसेर काम गर्नुभएको रे ! अहिले उनीहरूसँग तपाईंको संवाद हुँदैन ?
तपाईं २०६२/६३ को कुरा गर्नुहुन्छ । त्यो भन्दा पहिले गिरिजाबाबुले हामी सुध्रियौं भनेको मलाई थाहा छ । त्यतिबेला पनि त्यही कुरा दोहोर्याए । नेताहरूबाट आयोगमा बस्ने प्रस्ताव आएपछि मैले भनेको थिए, ‘तपाईंहरूको ताल उही हो, म आयोगमा बस्दिनँ ।’
त्यतिबेला गिरीजाबाबुले भन्नुभएको थियो, ‘हामी सुध्रिन्छौं, अब राम्रो काम गर्छौं ।’ मैले त्यतिबेला किन प्रश्न सोधेको थिएँ भने यिनीहरूले जनार्दनलाल मल्लिकको आयोगलाई असफल बनाएका थिए । कृष्णप्रसाद सिटौला गृहमन्त्री भएका बेला पटकपटक मेरो घरमा आउनुभयो । मैले भनेँ, ‘तिमिहरूको चरित्र यस्तै हो, मलाई विश्वास नै छैन, जान्न ।’
फेरि पटकपटक आग्रह आयो, अरु साथीहरूले पनि नाँइनास्ती नगरौं भन्न थाल्नुभयो, अनि प्रस्ताव स्वीकार गरेको हुँ । आयोगमा गएको एक महिनामा नै यिनीहरूले दुःख दिन थालिहाले । हस्तक्षेप गर्ने, काममा बाधा गर्न थाले ।
‘यही पारा हो भने टुँडिखेलमा आएर पत्रकार सम्मेलन गर्छु, अनि राजीनामा दिन्छु’ भनेर चेतावनी दिएपछि बल्ल यिनीहरू शान्त भए । मैले यिनीहरू सबैको चरित्र बुझेको छु । अहिलेको क्रियाकलाप हेर्दा मलाई यिनीहरूप्रति कुनै आशा नै छैन ।
नेताहरूले आफूलाई बिर्सिदिएर देश र जनतामा समर्पित हुनुपर्छ । जबसम्म उनीहरू लोकतन्त्र र जनताप्रति समर्पित हुँदैनन्, तबसम्म केही सुधार हुँदैन । यिनीहरूको बुद्धि आओस् भनेर कामना गरेको हो, तर लक्षण छैन ।
तपाईं नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन भएन । मानवअधिकार उल्लंघन गर्नेहरूले कुनै जवाफ दिनु परेन । त्यसैको नतिजास्वरुप यस्ता हिंसात्मक घटना दोहोरिएका हुन् कि ?
त्यतिबेला एकजना बहालवाला मन्त्रीले नै, ‘खबरदार, तिमीहरूको प्रतिवेदन कार्यान्वयन भएको हेरौंला’ भनेर धम्की दिएका थिए । मिलीजुली खाऔं भन्ने भावनाका कारण यिनीहरूले काम गर्न सकेनन् । जनता निराश भएकाले नै बेलाबेलामा यस्तो विस्फोट हुन्छ ।
त्यतिबेला नयाँ पुस्ताका आशालाग्दा युवा निस्किएका थिए, तिनीहरू पनि पुरानैसँग अल्मलिए । यिनीहरू त गए गए, पुस्ता पनि बिग्रियो । अब भोलि कसको आशा गर्ने ?
हरेक घरमा बुढाबुढी मात्रै छन् । १२ पास गरेका किशोरहरू विदेश जान जिद्दी गरिरहेका छन् । राजनीतिज्ञहरूले नतिजा नदिँदा यो अवस्था आएको हो । यिनीहरू त रेमिट्यान्स आउन्छ भन्छन्, दंग परेर बसेका छन् । यस्तो पनि मुलुक हुन्छ ?
नेपाली समाज र परिवारमा पनि पैसामुखी सोच हाबी भयो । जताबाट भएपनि पैसा आए भैहाल्यो भन्ने सोच हाबी हुँदै गएको छ । परिवारकै सदस्यहरूले जसरी हुन्छ, कमाउनुपर्छ भनेर दबाब दिन थालेको देखिन्छ । यसका लागि हामी सबै जिम्मेवार छौं । कसै न कसैले काम गरेको भए मुलुक यस्तो हुन्थ्यो र ?
केही न केही सुधार र राम्रा काम भएका तर्क आउने गर्छन् । हैन र ?
यिनीहरूले ‘यो गरेँ, त्यो गरेँ’ भनेको सुनिन्छ । जबसम्म मुलुकले परिणाम पाँउदैन, यिनीहरूले ‘मैले यो गरेँ, त्यो गरेँ’ भनेर फुर्ती नगरे हुन्छ । हामी आफ्नो कर्ममा चुकेका छौं । कोहीकोहीले राम्रो काम गरेका होलान् । तर देशले परिणाम पाएन ।
हरेक देशले एउटा भिजन भएको नेता चाहेको हुन्छ भनिन्छ । स्पष्ट दृष्टिकोण भएको नेताले मात्रै मुलुकलाई एउटा दिशामा लैजानसक्छ । विश्वको इतिहास हेर्ने हो भने दुरदर्शी र स्पष्ट दृष्टिकोण भएका नेताहरूले मात्रै मुलुक बनाएको उदाहरण भेटिन्छ ।
हामी राजनीतिज्ञ र नेताहरूको आलोचना त गर्छौं । तर उनीहरूको मूलभूत समस्या के हो भन्ने स्पष्ट हुन्न । तपाईं के भन्नुहुन्छ ?
मैले धेरै पटक यो कुरा उठाएको छु । संवैधानिक निकायलाई आफ्नो ढंगले काम गर्न दिनुपर्छ भनेको छु । न्यायक्षेत्रदेखि अख्तियार अनि मानव अधिकार आयोगमा पनि आफ्नै मान्छे भरेका छन् । कुनै बेला अख्तियारले राम्रै काम गरेको थियो । न्यायपालिका नै स्वतन्त्र र निर्भिक थियो । तर अहिले…
आजीवन कसैको पक्षमा जिन्दावाद र मुर्दावादको नारा नलगाई हामी बुढेसकालमा आइपुगियो । त्यसैले हाम्रा कुरा सुनिदिए हुन्थ्यो । मैले कैयौंपटक यिनीहरूको सद्बुद्धि आओस् भनेको छु । मैले २०५८ सालतिर पनि शेरबहादुर देउवालाई खबरदारी गरेको थिए । अन्ततः उनीबाटै राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिए ।
अहिले तीनकुने घटना भयो । यसमा पनि पूर्वराजा ज्ञानेन्द्रमाथि प्रश्न उठेको छ नि ?
यसैमा पनि यिनीहरूले अत्यन्त आलोकाँचो चरित्र देखाए । घटनापछि हत्त न पत्त मन्त्रिपरिषद्ले ‘ज्ञानेन्द दोषी’ भनिदियो । हामी न्यायाधीशहरूको चरित्र त्यस्तो हुँदैन । छानबिन गरेर, दोषी देखिएमा ‘ए तिमी दोषी हौं’ भन्न पाइन्छ ।
जसले छानबिन गर्नुपर्ने हो, उसैले नै हत्तपत्त ‘तिमी नै दोषी’ भनिदियो । आन्दोलन गर्नेहरूले हामीले होइन भनेपछि सरकारले छानबिन वा जाँचबुझ गरेर सत्यतथ्य पहिल्याउनुपर्छ । राजनीतिक विचारधारा नमिल्दैमा दोषी हुने हो र ?
एउटा नागरिकको हैसियतले पूर्वराजा ज्ञानेन्द्रलाई पनि राजनीति गर्ने अधिकार छ । उनी संलग्न छन् भने भूमिका देखिनुपर्यो । नवराज सुवेदीले ‘आयोजक म हुँ’ भनिरहेका छन् । तर यिनीहरूले छानबिन नै नगरी एकाएक दोषी ठहर गरिदिएका छन् । कस्तो काँचो बुद्धि होला ? हत्तपत्त कसैलाई दोषी भन्न कहाँ सकिन्छ र ? यस्ता कुरामा सरकार गम्भीर हुनुपर्छ ।
हिजो तपाईंहरूको आयोगले पनि त दोषी ठहर गरिदिएको थियो, अहिले पनि त्यस्तै घटना त हो नि ?
छानबिन गर्दा दोषी देखिए, सजाय पाउनुपर्छ । त्यसमा विवादै छैन । हिजो हामीले प्रमाण भेटिएकाले नै दोषी भनेका थियौं । त्यतिबेला संविधानमा नै राजालाई कारबाही गर्ने कुनै कानुन थिएन । २०४७ सालको संविधान जारी रहेका बेला राजाले ‘मेरो नेतृत्वमा सरकार गठन भएको’ भनी घोषणा गरेका थिए ।
सिद्धान्ततः संवैधानिक राजा सक्रिय राजनीतिमा आएपछि सरकार प्रमुखलाई कारबाही गर्नुपर्छ भनेका हौं । त्यतिबेला राजा र सरकार प्रमुख एउटै थिए । तर अहिलेको कुरा फरक छ । कसैले पनि ज्ञानेन्द्र शाहलाई ‘मलाई तपाईंप्रति आस्था छ’ भन्न पाँउछ । त्यो आस्था प्रकट गरेर दल खोल्न पनि सक्छ । उनको संलग्नता पुष्टि नहुँदै कारबाहीको कुरा गर्नु भनेको प्रचण्डले कुनै गल्ती गरेमा उनले आदर्श मानेका ‘माओ’लाई सजाय हुनुपर्छ भन्नुजस्तै हो ।
जसलाई सजाय गर्नुपर्ने हो, उ बदमासीमा संलग्न देखिनुपर्यो । कि त्यहाँ उपस्थिति हुनुपर्यो, कि योजना बनाएको, अह्राएको वा निर्देशन दिएको देखिनुपर्यो । यदि त्यस्तो प्रमाण छ भने सरकारले भनेको ठिकै होला ।
हिजो पनि नाममा एकार थपेर सडकमा नारा लागेकै हो । निष्क्रिय हुन्जेल सबै चुप थिए । आज सक्रिय हुन खोज्दा सरकारले प्रतिक्रिया जनाउनु त्यति अनौठो हो र ?
नेताहरूको संस्कार मात्रै होइन, उनीहरूले प्रयोग गर्ने भाषा पनि लोकतान्त्रिक आचरण सुहाउँदो भएन । ओलीले प्रचण्डलाई त्यस्तै भाषा प्रयोग गर्छन् । प्रचण्डले पनि ओलीलाई त्यस्तै भाषा प्रयोग गरेका हुन्छन् । त्यो स्तरको नेताले त्यस्तो भाषा प्रयोग गर्न सुहाउँदैन ।
त्यसैगरी पूर्वराजालाई पनि ‘फलानो चोर’ भन्न सुहाउँदैन । रिस उठ्यो भन्दैमा जसलाई पनि चोर भन्न मिल्छ र ? ओली र प्रचण्ड सवालजवाफ गरेको देख्दा र प्रयोग भएको भाषा सुन्दा ‘यस्ता त हाम्रा नेता छन्’ भन्ने लाग्छ । सभ्य ढंगबाट व्यंग्य गर्न सकिँदैन र ?
लोकतन्त्रमा विरोध हुनु स्वाभाविकै हो, सबैको विचार मिल्नुपर्छ भन्ने छैन । तर भाषा प्रयोग गर्ने तरिका ख्याल गर्नुपर्छ । विचार पो मिलेन, व्यक्तिगत दुष्मनी हो र त्यो खालको भाषा प्रयोग गर्न ? हामी कुन दायरामा बस्नुपर्छ भन्ने हेक्का समेत भएन ।
यो १८ वर्षको अवधिमा नेताहरूले स्पेस छाडिदिएको भएर हिजो संकुचित भएका राजावादीहरू फैलिन खोजेको देखिन्छ । हो नि हैन ?
त्यो लगायत अरु कैयौं कारण छन् । भ्रष्टाचार जहिले पनि माथिल्लो तहबाट तल्लो तहमा बग्छ । यिनीहरूले माथिल्लो तहमा जति भ्रष्टाचार सिके, त्यो गाँउ तहसम्म पुगेको छ । यिनीहरूले आफ्नो कमजोरी देख्नै खोजेका छैनन् ।
यिनीहरूले आफूले आफैंलाई राम्रो भनिरहेका छन् । समाजले पो ‘यो राम्रो’ भनिदिनुपर्ने होइन र ? समाजले तपाईंको कामको, विचारको र प्रस्तुतिको तारिफ गर्नुपर्ने होइन ? आफ्नो कामको आफैंले तारिफ गरेर ‘गजब भयो’ भन्न त जसले पनि सकिहाल्छ नी ।
वैज्ञानिक न्युटनको गतिसम्बन्धी सिद्धान्त सामाजिक क्षेत्रमा पनि लागू हुन्छ । हरेक कामको प्रतिक्रिया हुन्छ भनेझैं ‘मान्छेले गाली गरिसकेपछि उसले प्रतिफलमा पाउने गाली नै हो । तपाईंले गर्ने दुष्कर्मको प्रतिक्रिया त्यस्तै दुष्कर्मयुक्त हुन सक्दैन र ? केही नपाएर आकुलव्याकुल भएको जनताले जे पाँउछ, त्यही गर्छ ।
हामी नेताहरूको अलोकप्रियता चरम अवस्थामा पुग्यो भन्छौं । तर हिजोको निर्वाचनबाट त्यस्तो देखिएको थिएन । यो कसरी आकलन गर्नुभयो ?
त्यही भएर त मैले हामीमा पनि कमीकमजोरी छ भनेको । यी कुरा सर्वसाधारण पनि बुझ्नुपर्ने हो । नेताहरूको हातमा हतियार र शक्ति भएकाले हामी पनि भ्रष्टहरूकै पछाडी गएर ‘जी, हजुरी’ गरिरहेका हुन्छौं । कसैलाई राजदूत बनाइदेला भन्ने आशा हुन्छ, कसैलाई जागिरको लोभ ।
पढेलेखेका मानिसहरू पनि त्यस्तैका पछाडी दौडिरहेका छन् । अनि नेताहरूले पनि पढेलेखेकालाई हेपेका छन् । यिनीहरूले देशको भलाइ चाहेका छन् भन्ने कुरा मानिसले विश्वास नै गर्दैनन् । यसले देशका लागि केही गर्ला भन्ने आशा त जगाइदिनुपर्छ नि !
अब उनीहरूलाई कसले खबरदारी गर्ला त ?
चिन्तन र विचार भएकाहरूले समाजलाई सुसूचित गर्न सक्नुपर्छ । भारतमा एउटा उचाई बनाएका नेताहरूलाई अर्को पक्षले पनि स्वीकार्ने संस्कार छ । हामीकहाँ त्यो खालको उचाई भएको नेता पनि भएनन्, एक अर्कालाई टेर्दा पनि टेर्दैनन् ।
राजनीतिज्ञहरूको व्यवहारका कारण गणतान्त्रिक व्यवस्थाकै औचित्यमाथि पनि प्रश्न उठ्न थालेको देखिन्छ । त्यो अवस्थामा हिजो हामीले मिल्क्याएको व्यवस्था पो ठिक थियो कि भन्नु गलत हैन नि ?
अब पछाडी फर्केर हेर्ने होइन, हामी त अगाडि बढ्ने हो । पछाडीको कुरा सम्झनाका लागि मात्रै हुन्छ । अघि मैले पूर्वराजामाथि हतारमा दोष किटान गर्नु गलत भयो भनेँ । तर, राजतन्त्रको पक्षमा त्यसो भनेको होइन, न्यायका हिसाबले प्रमाण विना किटान गर्नु हतारो भयो है, भनेको हो ।
ज्यानमाराले पनि प्रक्रियासम्मत रुपमा न्याय पाउनुपर्छ । प्रमाणबाट मात्रै ऊ दोषी ठहरिनुपर्छ । कोही राजावादी बनेर ज्ञानेन्द्र शाहको तारिफ गर्छ भने तारिफ खानेलाई सजाय गर्न मिल्छ र ? उसको संलग्नता वा भूमिका पुष्टि हुनु पर्दैन र ?
काठमाडौं महानगरपालिकाले त अध्ययन गरेर जरिवानाको रसिद पठाएको छ नि, हैन ?
मेयर बालेनले जरिवाना तोकेर पठाइदिए । आयोजक एकातिर भएकोमा पूर्वराजालाई जरिवाना तोकिदिए । जसले अपराध गरेको छ, उसलाई पो जरिवाना तिराउने होला त । आयोजकको रुपमा हेर्दा नवराज सुवेदी, अर्का दुर्गा प्रसाईं देखिन्छन् ।
राजाले त्यो भेला आयोजना गरेको कसरी देखिन्छ र ? हिजो २०६२/०६३ मा ज्ञानेन्द्रले मुर्ख्याईं गरे । उनको आफ्नै बुद्धिका कारण राजतन्त्र गएको हो । तर उनी संलग्न नभएको ठाँउमा कसरी दोषी ठहर गर्ने ?
कार्यकर्ताहरूले गलतलाई सही र सहीलाई गलत भनेर नेतृत्वलाई थप विकृत बनाइरहेका छन् । ओलीले जे गरेपनि कार्यकर्ताहरूका लागि सही हुन्छ । देउवाले जे गरेपनि उनका कार्यकर्ताका लागि उचित देखिन्छ ।
गलत कार्यकर्ताको बीचमा हिजो राजा बिग्रिए, तिमीहरू ‘श्री ३’ पनि त्यसैगरी बिग्रँदैछौं भनेर मैले भनिदिने गरेको छु । बाहिरको अनुभव सिक्न नचाहने, मै जान्ने र मै ठूलो भन्ने सोच राख्दाराख्दै उनीहरूको यो दुर्गति भयो ।
अब यो घटनाबाट पाठ सिकेर कसरी अगाडि बढ्ने ?
ढिलोचाँडो यो जनआक्रोश विस्फोट नभइ सुखै छैन । मानिसले कति खप्नु ? यसरी चल्दैन । त्यसैले सुध्रिनुपर्नेहरूले गल्ती महसुस गर्नुपर्छ । समाजको धारणाका आधारमा नेतृत्वले आत्ममूल्यांकन गर्नुपर्ने हुन्छ । तर यिनीहरूमा त्यो आदत बसेकै छैन ।
ओलीजीले जहिले पनि म ठिक भनेर हुन्छ ? आम मानिसहरूले आफ्ना बारेमा दिएको प्रतिक्रिया र धारणाबारे विचार गर्नुपर्दैन ? देउवा र प्रचण्डका हकमा पनि यही कुरा लागू हुनुपर्छ । कसैले आफैं म बेठिक रहेछु भन्छन् र ? यिनीहरूले अब पनि बानी नसुधार्ने हो भने गुम्सिएको समाज एकदिन विस्फोट हुन्छ ।
तस्वीर/भिडियो : शंकर गिरी
प्रतिक्रिया 4