
२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई-मधेस जागरण अभियान’ पुनः सुरु गरेको छ ।
केही समयअघि अभियान रोकेर समाजवादी मोर्चाद्वारा आयोजित चैत १५ गतेको काठमाडौं केन्द्रित प्रदर्शनका लागि माओवादी नेताहरू काठमाडौं आएका थिए ।
बिहीबार कोहलपुरमा जनयुद्धका शहीद, घाइते, अपांग र बेपत्ता परिवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर माओवादी केन्द्रले अभियान सुचारु गरेको हो ।
माओवादी अध्यक्ष प्रचण्डको स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको केही तस्वीरहरूमा मञ्चमा डेढ दर्जन नेताहरू मालासहित विजयी भावमा बसेका देखिन्छन् ।
तल भुईंमा शहीद, बेपत्ता र घाइते परिवारका आफन्त र अरू स्थानीय तहका नेताहरू बसेका देखिन्छन् ।
ती तस्वीरहरूले माओवादी आन्दोलनको एक गहिरो विरोधाभास उजागर गरिदिएको छ।
यो कार्यक्रमले पार्टी र पीडित परिवारबीचको सम्बन्धलाई पुनर्जागृत गर्ने उद्देश्य राखेको भए पनि यसले केही गम्भीर प्रश्नहरू उठाएको छ।
मञ्चको विजयगाथा, जमीनको दुःखगाथा
कार्यक्रमबारे भनिएको छ- जनयुद्धका शहीद, घाइते, अपाङ्ग र बेपत्ता परिवारसँग अन्तर्क्रिया । तर शहीद, बेपत्ता र घाइते परिवारकै सदस्यहरू भुईंमा बस्न बाध्य छन् । जबकि माओवादीका शीर्ष नेताहरू मञ्चमा विजयी भावमा विराजमान देखिन्छन् ।
नेताहरू माला र सम्मानले सजिएका थिए, तर जनयुद्धका वास्तविक पीडितहरू- वयोवृद्ध बाबुआमा, विधवा महिला, टुहुरा सन्तान भुँईंबाट मञ्चमा सिंगारिएका नेताहरू हेरिरहेका देखिन्छन् ।
दशकौंसम्म आफूलाई ‘जनताको पार्टी’ दाबी गर्ने माओवादीका नेताहरू जनयुद्धका बलिदानीबाट आजको सत्ता-शक्ति केन्द्रमा पुगे । तर, जनयुद्धकै कारण अपूरणीय क्षति बेहोरेका परिवारहरू अझै पनि न्याय, सम्मान र समान अवसरको खोजीमा संघर्षरत छन् ।
भुईंमा राखेर गरिएको यो ‘अन्तरक्रिया’ वस्तुतः उनीहरूमाथि फेरि एक पटक गरिएको अपमान थियो।
माओवादी नेताहरूले आफ्नो सम्बोधनमा ‘बलिदानीको सम्मान’ र ‘समृद्धिको ग्यारेन्टी’ जस्ता गम्भीर शब्द प्रयोग गर्दै आएका छन् । तर, आन्दोलनका शहीद परिवारहरू अझै पनि राहत, पुनर्स्थापना र सामाजिक सुरक्षाको अभावमा बाँचिरहेका छन्।
‘जागरण अभियान’ नाम दिइए पनि हाम्रा नेताहरूको आत्मप्रशंसा र भुलभुलैयाको अर्को अध्याय जस्तो बनिरहेको छ- एक माओवादी कार्यकर्ताले प्रतिक्रिया दिए ।
‘यदि माओवादीले साँच्चै शहीद परिवारलाई सम्मान गर्न खोजेको भए, तिनीहरूलाई मञ्चमा उच्च स्थान दिएर उनीहरूको पीडा सुन्ने होइन? तर यहाँ त मञ्चमा नेताहरूको ‘विजय’ र जमीनमा शोकसन्तप्त परिवारको दुःखको विषम चित्र उभिएको छ, यो त एकप्रकारले प्रदर्शनवादी राजनीति भयो,’ ती नेताले भने ।
नेपालमा अरु राजनीतिक दलहरूसँगै माओवादी केन्द्रभित्र पनि खादामाला र मञ्च संस्कारविरुद्ध प्रश्न उठ्ने गरेको छ ।
प्रतिक्रिया 4