
काठमाडौँ । विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ले शीर्ष अभिनेत्री बेनिशा हमालको पात्र पोस्टर सार्वजनिक गरेको छ । उनको पात्रलाई ‘रानी मारा’को रुपमा चिनाइएको छ ।
पोस्टरमा उनको वेशभुषा, मेकअप र हेयर स्टाइल आकर्षक देखिन्छ । पोस्टर हेर्दा बेनिशाको भूमिका रोचक हुने अनुमान गर्न सकिन्छ । ‘स्वर’बाट घरेलु फिल्ममा डेब्यु गरेकी हमालले पछिल्लोपटक ‘उपहार’मा अभिनय गरेकी थिइन् ।
पोस्ट सेयर गर्दै हमालले लेखेकी छन्- ‘ एक्लो’की रानी मारालाई भेट्नुहोस् । बाँच्ने अटल इच्छाशक्तिका साथ पुनर्जन्म । उनी केवल आफ्नो लागि लडिरहेकी छैनन्, उनीसँग एउटा उद्देश्य छ जसले सबै कुरा परिवर्तन गर्नेछ ।’
साइन्स फिक्सन ‘एक्लो’लाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । फिल्मको सम्पादन कार्य लण्डनमा भैरहेको छ । प्रदर्शन आउँदो तिहार छेकोमा गर्ने चर्चा छ । यद्यपि, यसको पुष्टि छैन ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरीको पनि अभिनय छ । बेलायती अभिनेता जेमी बेकन पनि यसमा देखिएका छन् । बेकनले पनि निर्माणमा सहकार्य गरेका छन् ।
फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।
तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । निर्मातामा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन छन् ।
प्रतिक्रिया 4