+
+
Shares

३४२ अर्ब डलर सहित मस्क संसारकै धनी, विनोद चौधरीको सम्पत्ति २ अर्ब डलर

विश्वभरिका अर्बपतिहरू सूची प्रकाशन गर्ने फोब्र्सले यो वर्ष २०२५ का लागि तयार पारेको सूचीमा मस्क ३ खर्ब ४२ अर्ब अमेरिकी डलर सम्पत्तिसहित पहिलो स्थानमा परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १३:०१
बायाँबाट क्रमशः इलन मस्क, मार्क जुकरबर्ग, जेफ बेजोस, ल्यारी इलिसन र बर्नार्ड आर्नो ।

२१ चैत, काठमाडौं । विद्युतीय कार निर्माता टेस्लासहित सात कम्पनीका संस्थापक इलन मस्कले संसारकै धनीहरूको सूचीको पहिलो स्थानमा परेका छन् ।

विश्वभरिका अर्बपतिहरू सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष २०२५ का लागि तयार पारेको सूचीमा मस्क ३ खर्ब ४२ अर्ब अमेरिकी डलर सम्पत्तिसहित पहिलो स्थानमा परेका हुन् ।

अमेरिकाका ५३ वर्षीय मस्कले टेस्ला, रकेट निर्माता कम्पनी स्पेस एक्स, आर्टिफिसियल इन्टिलिजेन्स स्टार्टअप एक्सएआई लगायत सात कम्पनी हाँकिरहेका छन् । त्यस्तै सामाजिक सञ्जाल एक्स (ट्विटर) पनि उनको कम्पनी हो ।

फोर्ब्स सूचीको दोस्रो नम्बरमा २ खर्ब १६ अर्ब डलर सम्पत्ति सहित सामाजिक सञ्जाल फेसबुकका सञ्चालक अमेरिककाकै ४० वर्षीय मार्क जुकरबर्ग परेका छन् ।

तेस्रो स्थानमा अमेरिकाका जेफ बेजोस छन् । प्रविधि कम्पनी अमेजनका सञ्चालक ६१ वर्षीय बेजोसको सम्पत्ति २ खर्ब १५ अर्ब डलर बराबर छ ।

त्यसैगरी चौथो स्थानमा प्रविधि कम्पनी ओराकलका सञ्चालक अमेरिकाकै ८० वर्षीय ल्यारी इलिसन परेका छन् । उनको सम्पत्ति १ खर्ब ९२ अर्ब डलर बराबर छ ।

त्यस्तै १ खर्ब ७८ अर्ब डलर कुल सम्पत्तिसहित पाँचौं स्थानमा फ्रान्सको बर्नार्ड आर्नो एन्ड फेमिली, १ खर्ब ५४ अर्ब डलर कुल सम्पत्तिसहित अमेरिकाका वारेन बफेट छैटौं, १ खर्ब ४४ अर्ब डलर सहित गुगलका मालिक अमेरिकाका ल्यारी पेज सातौं, गुगलकै अर्का मालिक अमेरिकाकै सर्गे ब्रिन १ खर्ब ३८ अर्ब डलर सहित आठौं, १ खर्ब २४ अर्ब डलर सहित स्पेनको जारा कम्पनीका मालिक अमान्सियो ओर्टेगा नवौं र माइक्रोसफ्टका मालिक अमेरिकाका स्टिभ बाल्मर १ खर्ब १८ अर्ब डलर कुल सम्पत्तिसहित दसौं स्थानमा परेका छन् ।

फोब्र्स सूचीमा पहिलोदेखि चौथो स्थानसम्म अमेरिकी धनाढ्यहरू परेका छन् । सबैभन्दा धनी १० मध्ये ८ जना अमेरिकाका छन् ।

यसपालि भारतीय अर्बपतिहरू कोही पनि शीर्ष १० भित्र पर्न सकेनन् । भारतका सबैभन्दा धनी मुकेश अम्बानी फोर्ब्स सूचीको १८ नम्बरमा परेका छन् । उनको सम्पत्ति ९२ अर्ब ५० करोड डलर बराबर छ ।

भारतका दोस्रो धेरै सम्पत्तिका मालिक गौतम अडानी सूचीको २८ नम्बरमा परेका छन् । उनको सम्पत्ति ५६ अर्ब ३० करोड डलर बराबर छ ।

त्यसैगरी सामाजिक सञ्जाल टिकटकका सञ्चालक चीनका ४१ वर्षीय झाङ यिमिङ फोब्र्स सूचीको २३ नम्बरमा छन् । उनका कुल सम्पत्ति ६५ अर्ब ५० करोड डलर बराबर छ ।

विनोद चौधरी ।

विनोद चौधरीको सम्पत्ति पुग्यो २ अर्ब डलर

नेपाली उद्योगपछि विनोद चौधरी यो वर्ष फोब्र्स सूचीको १७६३ स्थानमा परेका छन् । उनको कुल सम्पत्ति २ अर्ब अमेरिकी डलर अर्थात् २ खर्ब ७४ अर्ब रुपैयाँ बराबर रहेको छ ।

चौधरी फोब्र्सको सूचीमा पर्ने नेपालकै पहिलो डलर अर्बपति हुन् । उनको उद्योग, बैंक तथा वित्तीय संस्था, होटल, अटोमोबाइल, चाउचाउ लगायत क्षेत्रमा लगानी छ ।

डोनाल्ड ट्रम्प ।

अमेरिकी राष्ट्रपति ट्रम्प पनि सूचीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि फोब्र्स सूचीको ७००औं स्थानमा अटाएका छन् । ७८ वर्षीय ट्रम्पको कुल सम्पत्ति ५ अर्ब १० करोड डलर बराबर रहेको छ । उनी घरजग्गा व्यवसायी हुन् ।

सूचीमा पहिलो पटक ३ हजार बढी अर्बपति

फोब्र्सले यो वर्ष ३ हजार २८ जना अर्बपतिलाई सूचीमा समेटेको छ । फोब्र्सको सूचीमा पर्न कम्तीमा १ अर्ब डलर बराबर सम्पत्ति हुनैपर्छ ।

यो वर्ष २ सय ४७८ जना नयाँ अर्बपति सूचीमा थपिएका छन् । सबैभन्दा कान्छा अर्बपति जर्मनीका १९ वर्षीय जोहानिज भोन बौमब्याक छन् । उनको कुल सम्पत्ति ५ अर्ब ४० करोड डलर बराबर छ ।

यसपालिको सूचीमा पहिलोदेखि १५ स्थान ओगटेका धनाढ्यको सम्पत्ति १ खर्ब डलरभन्दा धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?