
१८ वर्षका एक करोडपति उद्यमीले कलेज भर्नाका विषयमा बहस छेडिदिएका छन् । उत्कृष्ट शैक्षिक रेकर्ड तथा करोडौं डलरको कारोबारका बाबजुत पनि आफूलाई स्टानफोर्ड, हार्वर्ड तथा येललगायतका प्रसिद्ध कलेजहरुमा भर्ना नलिइएको उनले खुलासा गरेसँगै यस विषयमा चर्को बहस सिर्जना भएको छ ।
पोषण ट्रयाकिङ एप केल एआईका सह सस्थापक तथा सीईओ ज्याक यादेगारीले सोसल मिडिया प्लाटफर्म एक्समा एउटा पोस्ट गर्दै विभिन्न कलेजहरुको नाम समेत उल्लेख गरेका छन् ।
करिब एक करोडले हेरिसकेको उक्त पोस्टमा उनले आफूलाई भर्ना लिन अस्वीकार गरेका कलेजहरुको नाम सार्वजनिक गर्दै आफ्नो शैक्षिक प्रमाणपत्रमा ४ जिपिए, ३४ एसिटी स्कोर तथा ३ करोड डलरको वार्षिक आम्दानी गर्ने एक स्टार्टअप कम्पनी रहँदा समेत आफू ती कलेजमा भर्नाका लागि योग्य नभएको बताएका छन् ।
उक्त पोस्टमा यादेगारीले भनेका छन् कि उनी जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ टेक्सास तथा मायामी युनिभर्सिटीमा मात्र प्रवेश पाउनका लागि सफल भए ।
स्टानफोर्ड, हार्वर्ड तथा येलजस्ता कलेजमा उनले भर्ना नै नपाएको कुरा एक्समा धेरैले विश्वास नै गर्न सकिरहेका छैनन् । जसको स्टार्टअपलाई फोर्ब्सले नै सह्राना गरेको र ठूलो बिरासतको उद्योगको लिगेसीलाई नै चुनौती दिने एप भएको भनी उल्लेख गरेको अवस्थामा यादेगारीलाई ती कलेजले भर्ना गर्नै अस्वीकार गरेको तथ्य थाहा पाउँदा धेरै मानिसहरू आश्चर्यचकित बनेका छन् र उनले मजाक गरेको हुनसक्ने पनि लख काटेका छन् । तर, यादेगरीले भने आफूले यथार्थ कुरा भनेको र आफू केवल एक सामाजिक जीवन जिउन चाहेकोले कलेज पढ्ने इच्छा गरेको बताएका छन् ।
उनको उक्त खुलासाका बारेमा एक्समा धेरैले प्रश्न गरेसँगै यादेगरीले आफूले प्रवेश परीक्षामा लेखेको एक निबन्ध पनि शेयर गरेका छन् । निबन्धमा उनले आफूले ‘कसरी ७ वर्षको उमेरमा कोडिंग सिकें ? १० वर्षको उमेरमा सबैका लागि प्रतिघण्टा ३० डलर शुल्क लिन सुरु गरें र १४ वर्षको उमेरमा एउटा गेमिङ वेबसाइट बनाएर बर्सेनि ६० हजार डलर कमाउन थालें भन्ने बारेमा खुलासा गरेका छन् ।
१६ वर्षको हुँदासम्म यादेगरी करोडपति बनिसकेका थिए । उनले वास्तविक दुनियाँको अनुभवको पक्षमा पारम्परिक शिक्षा त्याग गर्ने आफ्नो निर्णयका बारेमा पनि बताएका छन् । उनले सन फ्रान्सिस्को गएर केल एआईको निर्माण गरेका थिए ।
-एजेन्सी
प्रतिक्रिया 4