+
+
Shares

महाप्रसादले पाँच वर्षमा के बनाए, के बिगारे?

परम्परालाई हाँक दिँदै कार्यकाल थाले, पुरातनवादी नियामक बनेर निक्ले

राष्ट्र बैंकमा पाँच वर्ष गभर्नर रहँदा महाप्रसाद अधिकारीले केन्द्रीय बैंकको स्वायत्ततामा सम्झौता गरेनन्, तर सरकारको वित्तीय नीतिसँग तालमेल मिलाउन असफल रहे ।

जनार्दन बराल जनार्दन बराल
२०८१ चैत २१ गते २१:४५

२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१७ मा आफैँले केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षमा नियुक्त गरेका जेरोमी पावेलसँग गम्भीर विवादमा छन् ।

व्यापारसम्बन्धी आफ्ना नीतिले अमेरिकी अर्थतन्त्र मन्दीमा जाने भएपछि त्यसबाट उक्सिन फेडरल रिजर्भले ब्याजदर घटाउनुपर्छ भन्ने ट्रम्पको माग छ ।

तर, ट्रम्पको नीतिले अमेरिकामा मूल्यवृद्धि गराउने सम्भावना रहेकाले यस्तो अवस्थामा ब्याजदर घटाउन हुँदैन भन्ने पावेलको मत छ । आफूले भनेको कुरा नमानेपछि पावेलसँग अहिले ट्रम्प रिसले चुर छन् ।

सरकार र केन्द्रीय बैंकबीच हुने विवाद नेपालमा मात्रै होइन, संसारभरि नै हुने गरेको छ । नेपालमा समेत विगतमा केन्द्रीय बैंक र सरकारबीच विवाद हुन्थ्यो । तर, महाप्रसाद अधिकारीको कार्यकालमा भने अलि बढी नै किचलो भयो । २४ चैत २०७६ मा गभर्नर भएका अधिकारीको कार्यकालमा चारवटा सरकार फेरिए । गठबन्धन फेरिँदा प्रधानमन्त्री एकै रहे पनि अर्थमन्त्री बदलिन पुगे । तीमध्ये अधिकांशसँग उनको र्‍याङठ्याङ मिलेन ।

राष्ट्र बैंकलाई स्वायत्तता दिने कानुन २०५८ मा नबन्दै २०५७ मा सरकारले तत्कालीन गभर्नर डा. तिलक रावललाई पदबाट बर्खास्त गरेको थियो । त्यही बेला सर्वोच्च अदालतले रावललाई पुनर्स्थापना मात्रै गरिदिएन, केन्द्रीय बैंक स्वायत्त हुनुपर्ने नजिर पनि बनाइदिएको थियो । त्यसैको आसपासमा आएको नेपाल राष्ट्र बैंक ऐन २०५८ ले केन्द्रीय बैंकलाई धेरै स्वायत्त बनाएको छ । यो जान्दाजान्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीमाथि छानबिन समिति बनाएर उनलाई निलम्बन गरेका थिए । स्वाभाविक रूपमा सर्वोच्चले उनलाई पुनःस्थापना गरिदियो ।

सैद्धान्तिक रूपमा नेपालको कानुन र न्यायालयले केन्द्रीय बैंकको स्वायत्तततालाई स्वीकार गरेका छन् । तर, केन्द्रीय बैंक र सरकार छुट्टाछुट्टै सार्वभौमसत्ता भएका टापु होइनन् । यी समग्रतामा एकै राज्यका अंगहरू हुन्, जसको समन्वयमा आर्थिक प्रणालीले राम्रो नतिजा आउँछ ।

तर, गभर्नरजस्तो गरिमामय पदमा पुगिसकेका अधिकारीले अमुक पार्टीप्रतिको राजनीतिक आस्था देखाई इतर पार्टीका सरकारसँग द्वन्द्व बढाएको आरोप कांग्रेस र माओवादी केन्द्रबाट बनेका अर्थमन्त्रीहरूले लगाउन पुगे । एमालेको आर्थिक विभागका सदस्य ‘एम अधिकारी’ गभर्नर अधिकारी नै भएको आरोप उनीहरूको थियो, जसको न उनले, न एमालेले सप्रमाण प्रतिवाद गर्न सके ।

राष्ट्र बैंक ऐनमा राजनीतिक दलको पदाधिकारी वा सदस्य भएको व्यक्ति गभर्नर बन्न अयोग्य हुने व्यवस्था भए पनि गभर्नरलाई राजनीतिक पद नै मान्ने प्रचलन छ । त्यसैले पार्टीप्रति आस्थावान व्यक्ति गभर्नर हुनुलाई नौलो मानिदैन । तर, यो पदमा बस्ने व्यक्तिले कति व्यावसायिक रूपमा काम गर्न सक्यो, त्यो चाहिँ महत्त्वपूर्ण हो । राजनीतिक सन्तुलन कायम गर्ने मामिलामा उनकै मेन्टर युवराज खतिवडाभन्दा अधिकारी कमजोर देखिएको आरोप लाग्यो ।

त्यसबीचमा उनले चालु पूँजी कर्जा मार्गदर्शन ल्याए, जुन निश्चित समूहमा केन्द्रीकृत ऋणलाई विकेन्द्रित गर्न मात्रै होइन, कर्जामा भइरहेको अनियमितता रोक्न पनि अत्यन्तै महत्त्वपूर्ण थियो । त्यसको विरोधमा भएको निजी क्षेत्रले त्यसको कार्यान्वयन अहिल्यै गर्न नहुने माग राखेको थियो । अधिकारी त्यो मागबारे सुरुमा खास लचिलो भएनन् । व्यवसायीहरू राजनीतिक लबिङमा लागे ।

राजनीतिक तहले संशोधन गर्न दबाब दियो, जसकारण उनको सरकार तथा निजी क्षेत्र दुवैसँग द्वन्द्व बढ्यो । एक समयमा आएर उनले मार्गदर्शनमा संशोधनमा चलकता अपनाए । ठूलो दबाबपछि पछि सच्याउनुको साटो यो मार्गदर्शन चरणबद्ध कार्यन्वयनमा लगेको भए सायद उनको लक्ष्य पूरा हुने थियो । व्यवसायीहरूले त्यो स्तरको दबाबमा बस्नुपर्ने पनि थिएन । सरकारसँग द्वन्द्व पनि कम हुने थियो ।

कहिले अति नरम, अनि अति गरम

२४ चैत २०७६ मा अधिकारी राष्ट्र बैंकको सत्रौं गभर्नरका रुपमा भित्रँदा कोभिड– १९ को महामारी चरम बिन्दूमा थियो । संसारभरिका केन्द्रीय बैंकले जस्तै अधिकारीले पनि बजारमा तरलता बढाउने तथा ब्याजदर घटाउने मौद्रिक उपकरणहरू चलाउन सुरु गरे ।

अन्य मुलुकले वित्त नीतिमार्फत सरकारले जनतालाई राहत थियो, तर त्यसबेलाको सरकारले महामारीले ज्यान, काम र माम गुमाएकालाई राहत दिएन, केन्द्रीय बैंकले वित्तीय पहुँच पुगेकालाई सस्तोमा ऋण पाउने वातावरण बनाइदियो ।

अधिकारीले २०७६/७७ को मौद्रिक नीतिमार्फत मन फुकाएर सुविधा र सहुलियत घोषणा गरे । उपलब्ध कोषको ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने, लामो अवधिको रिपो सुविधा दिने तथा सावाँब्याज भुक्तानीको म्याद बढाउने नीति लिए । केन्द्रीय बैंकले बन्द सटर खोल्न नसके पनि लगानीकर्ताको मनोबल बढाउनसक्ने गभर्नर अधिकारीको तर्क थियो । यो नीतिको अर्थशास्त्री तथा निजी क्षेत्र दुवैले खुब प्रशंसा गरे, जुन स्वाभाविक थियो ।

त्यसले ३ खर्ब रुपैयाँभन्दा बढी नयाँ पैसा बजारमा आयो, तरलता अत्यधिक बढ्यो । कर्जाको ब्याजदर ६ प्रतिशतभन्दा मुनि झर्‍यो । तर, महामारीका बीचमा कसले दीर्घकालीन लगानी गर्थ्यो र । सस्तो ब्याजको पैसा सेयरबजार, घरजग्गा र आयातमा प्रयोग भयो ।

कर्जा विस्तार ३० प्रतिशतसम्म पुग्यो, आयात ३६ प्रतिशतसम्म बढ्यो । सेयरबजार ३२ सय अंकसम्म पुग्यो । घरजग्गाको भाउ आकासियो ।

यो जोखिम आउनसक्नेबारे अधिकारीलाई त्यही बेला सोधिएको थियो, उनले सजग हुन्छौं पनि भनेका थिए । छाती खोलेर राहत दिएकोमा प्रशंसा पाएका अधिकारीले त्यो अपरम्परागत (अन्कन्भेन्सनल) मौद्रिक नीतिबाट ब्याक हुन समय लगाए ।

त्यसैको परिणामस्वरुप विदेशी मुद्राको सञ्चिति निरन्तर ओरालो लागेर २०७९ को असारमा ६ दशमलव ७ महिनाको मात्रै आयात धान्नसक्ने स्तरमा पुग्यो । शोधनान्तर घाटा २ खर्ब ७० अर्ब र चालु खाता ५ खर्ब ९६ अर्ब पुगेको थियो ।

अर्थात् देश विदेशी मुद्रा संकटको सम्मुखमा पुग्यो । अधिकारी स्वयम् मुलुक श्रीलंका बन्ने हो कि भन्ने त्रासमा देखिए । राष्ट्रिय ढुकुटी सम्हालिरहेका जिम्मेवार अधिकारी स्वयंले ‘नेपाल श्रीलंका बन्नसक्ने’ सार्वजनिक अभिव्यक्ति दिएपछि अर्थतन्त्रमा त्रास फैलिन गयो ।

त्यसपछि राष्ट्र बैंकले कोभिडमा दिइएका सुविधाहरू करिब एकैपटक र अचानक हटायो । ४८ समूहका हजारौं वस्तुको आयात गर्न एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरियो, मन्त्रालयले विलासी वस्तुको आयात नै बन्द गर्‍यो । राष्ट्र बैंककै सल्लाहमा भएको आयात प्रतिबन्ध नेपालको इतिहासकै एउटा गम्भीर भूल मानिन्छ ।

त्यस बाहेकका मौद्रिक उपकरणहरू पनि कडा पारिए । समय अनुसार सन्तुलित मौद्रिक नीति अवलम्बन गर्नुको साटो कुनै बेला अति लचिलो र कुनैबेला अति नियन्त्रणमुखी नीति लिने कार्यलाई अर्थशास्त्री तथा केन्द्रीय बैंकरहरूले आलोचना गरेका छन् ।

नेपालबाट दैनिक २४ सयको हाराहारीमा युवाहरू विदेश गइरहेकाले त्यसले माग घटेको कतिपयको विश्लेषण छ । तर, रेमिट्यान्सको वृद्धि उत्साहजनक भइरहँदा पनि माग नबढ्नु गम्भीर विषय हो ।

पछिल्ला वर्षमा राष्ट्र बैंकले लिएका कठोर मौद्रिक नीतिकै कारण आन्तरिक मागमा अत्यन्तै कमी आयो, आयात–निर्यात दुवै घटे, आयात प्रतिबन्धले तस्करी मुलबाटो हुन गयो । नेपाल उद्योग परिसंघको एक अध्ययनले २०७८/८० को दुई वर्षमा आन्तरिक माग ३७ प्रतिशत घटेको देखाएको छ । त्यसले अन्ततोगत्वा सरकारको राजस्व र खर्च प्रभावित बनेको छ ।

अहिले पनि अर्थतन्त्रको मनोबल बढ्न सकेको छैन । सेयर, घरजग्गाको कारोबारमा मात्रै होइन, अन्य क्षेत्रमा पनि मन्दी छ । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा आर्थिक वृद्धि नै माइनस १.१ प्रतिशतसम्म पुग्यो ।

नेपालबाट दैनिक २४ सयको हाराहारीमा युवाहरू विदेश गइरहेकाले त्यसले माग घटेको कतिपयको विश्लेषण छ । तर, रेमिट्यान्सको वृद्धि उत्साहजनक भइरहँदा पनि माग नबढ्नु गम्भीर विषय हो ।

मुलुकमा ‘डिमान्ड साइकल’ बन्द भई आन्तरिक अर्थतन्त्र संकटमा पर्नुमा सुरुको अति नरम र पछिल्लो अति कडा मौद्रिक नीतिको पनि भूमिका छ ।

आन्तरिक अर्थतन्त्र उकास्नेभन्दा पनि डलर सञ्चितिलाई आफ्नो सफलता/असफलताको सूचक मान्ने गल्ती गरेको आरोप उनीमाथि लाग्यो ।

आन्तरिक व्यवस्थापनमा अब्बल

नेपाल राष्ट्र बैंकको आन्तरिक व्यवस्थापनमा अधिकारीले अब्बल भूमिका निर्वाह गरेको बैंकभित्रै अधिकारीहरू बताउँछन् । आफ्नो निष्ठा र इमानदारितामा प्रश्न गर्ने ठाउँ अधिकारीले छोडेनन् । कर्मचारीको सरुवा र अन्य व्यवस्थापनमा राजनीतिक आस्थाका आधारमा काखापाखा गरेको आरोप उनीमाथि लागेन ।

यसबीचमा सेवाग्राहीको हितलाई पनि उनले प्राथमिकतामा राखेको देखिन्छ । बैंकहरूले लिने सेवाशुल्कलाई उनले घटाउन लगाए । अनलाइन तथा क्यूआर पेमेन्टलाई उनले अत्यन्तै धेरै प्रोत्साहन गरे । राष्ट्र बैंकको स्वायत्तताका लागि उनी सधैं डटिरहेको देखियो । नियामकीय गरिमा उच्च बनाउने कुरामा उनले सम्झौता गरेनन् ।

आफूअघिका गभर्नर डा. चिरञ्जिवी नेपालले सुरु गरेको मर्जर र एक्विजिसनको एजेन्डालाई अधिकारीले निरन्तरता दिए । त्यसैको परिणामस्वरूप वाणिज्य बैंकको संख्या २० मा झरे, वित्त कम्पनी र विकास बैंक १७/१७ मा पुगे । क्षेत्रीय र स्थानीय विकास बैंक र वित्त कम्पनी करिब लोप भएका छन् । ‘यसले स्थानीयतामा आधारित वित्तीय सेवा बन्द भएको छ । उद्यमशीलताको विकास रोकिएको छ । यसमा अधिकारीले ध्यान पुर्‍याएको भए उचित हुन्थ्यो,’ एक अर्थशास्त्रीले भने ।

सुदृढ सूचकका साथ विदाइ

अधिकारी अवकाशमा जाँदा राष्ट्र बैंकको जिम्मा रहेका अधिकांश तथ्यांकहरू उत्साहप्रद छन् । कानुनले नेपाल राष्ट्र बैंकलाई मूल्य स्थिरता, वाह्य क्षेत्र र वित्तीय क्षेत्रको स्थायित्वको जिम्मेवारी सुम्पेको छ । त्यसमध्ये दुई क्षेत्र मूल्य र बाह्य क्षेत्र (भुक्तानी सन्तुलन, विदेशी मुद्रा सञ्चिति) मा अधिकारीले सफल सूचक छोडेर जाँदै छन् ।

यो वर्षको माघ मसान्तमा मूल्यवृद्धि ४.१६ प्रतिशत छ । शोधनान्तर २ खर्ब ८४ अर्बले बचतमा र चालु खाता १ खर्ब ६७ अर्बले नाफामा छ । विदेशी विनिमय सञ्चिति १७ अर्ब ५ करोड अमेरिकी डलर पुगेको छ, जुन इतिहासकै सबैभन्दा धेरै हो । कर्जाको भारित औसत ब्याजदर घटेर ८.५५ प्रतिशतमा झरेको छ ।

यति हुँदाहुँदै पनि वित्तीय क्षेत्र गतिलो अवस्थामा छैन । बैंकहरूको औसत खराब कर्जा नै ५ प्रतिशत पुगेको छ । कर्जा नउठेपछि बैंकहरूले सकारेका घरजग्गा तथा अन्य जिन्सी सम्पत्ति (ननबैंकिङ एसेट्स) अत्यन्तै धेरै बढेको छ, जसको बिक्री वा व्यवस्थापनमा बैंकहरूलाई अप्ठ्रो परिरहेको छ । चार्टर्ड एकाउन्टेन्ट अधिकारीले वित्तीय क्षेत्रका यी हिसाब भने मिलाउन सकेका छैनन् ।

आफ्नो कार्यकालको अन्तिमतिर आएर नेपाल सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी अन्तरसरकारी निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा पर्‍यो । त्यसो हुनबाट जोगाउन केन्द्रीय बैंकको गभर्नरका रूपमा उनको प्रयासमा प्रश्न उठाउने ठाउँ छैन । तर, कानुन बनाउने, कार्यान्वयन गर्ने राजनीतिक र प्रशासनिक नेतृत्वबाट पनि त्यही स्तरको गम्भीरता देखिएन । त्यसका कारण देश ग्रे लिस्टमा पर्‍यो, अधिकारीले पनि कोटमा खैरो दाग बोकर केन्द्रीय बैंक छोड्नुपर्‍यो ।

अर्थतन्त्र विस्तार हुने वा नहुने, समग्र माग बढ्ने वा खुम्चने, जनताले राहत पाउने वा गुमाउने, यी सबै विषयको केन्द्रमा सरकार हुन्छ, सरकारको वित्त नीति नै जिम्मेवार हुनुपर्ने हो । केन्द्रीय बैंक र त्यसका गभर्नरको भूमिका यी मामलामा सहायक हुनुपर्ने हो । तर, सरकारको वित्त नीतिले त्यो धरातल गुमाएपछि उनको मौद्रिक नीतिले ‘फिस्कल अपरेसन’ समेत गर्‍‍यो । अर्थ मन्त्रालयलाई बाइपास गरेर समानान्तर अर्थनीतिको अभ्यास गरेको अपजस पनि अधिकारीमाथि लाग्यो ।

त्यसकारण जस र अपजसको केन्द्रमा मौद्रिक नीति रहन गयो । मौद्रिक नीतिप्रति यसबेलाजस्तो जनचासो इतिहासमा कहिल्यै पनि थिएन । अर्थशास्त्रीय हिसाबले यसलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट विश्लेषण गर्न सकिन्छ । तर, अपरम्परागत मौद्रिक नीति ल्याउँदै गभर्नरको कार्यकाल थालेका अधिकारीले कार्यकाल टुंग्याउँदै गर्दा भने ‘पुरातनवादी नियामक’ कै छवि बनाउन पुगे ।

(इन्फोग्राफिक्स अरुण देवकोटा/अनलाइनखबर)

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?