+
+
Shares

सुनसरीमा अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार

आरोपित पक्राउ

प्रहरीले बिहीबार दिउँसो सप्तकोशी नदीको ५६ नम्बर ढोकाबाट अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १६:१०
प्रतीकात्मक तस्वीर

२१ चैत, विराटनगर । सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट बुधबार दिउँसो अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरिएको छ ।

प्रहरीले बिहीबार दिउँसो सप्तकोशी नदीको ५६ नम्बर ढोकाबाट अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार ती बालिका बुधबार दिउँसो साढे १ बजे आफ्नै घरबाट अपहरणमा परेकी थिइन् ।

घरबाटै बालिका अपहरणमा परेको सूचना पाएसँगै खोजी सुरु गरिएको र बिहीबार दिउँसो सप्तकोशी नदीको ५६ नम्बर ढोकाबाट आरोपीलाई समेत पक्राउ गर्न सफल भएको डीएसपी खतिवडाले बताए ।

पक्राउ पर्नेमा सप्तरी कञ्चननरूप नगरपालिका–१२ धरमपुरका ३१ वषीय जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेको उनले बताए ।

बुधबार करिब २ बजे बालिका अपहरणमा परेको जानकारी आफूहरूले पाएको र खोजी गर्ने क्रममा बिहीबार दिउँसो कोशी पुलमा बालिका सहित जितेन्द्रलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

डीएसपी खतिवडाका अनुसार बालिकालाई अपहरण गर्नुको कारण जितेन्द्रले खुलाएका छैनन् ।

‘कोशी पुलको सप्तरी खण्डमा भटिएपछि कार्यालय ल्याएका छौं, थप सोधपुछ भएको छैन,’ डीएसपी खतिवडाले भने,‘ अनुसन्धानपछि थप विषय खुल्छ ।’

कोशी गाउँपालिका– ७ का अध्यक्ष लालदेव सदाका अनुसार बालिकालाई सिटी सफारीमा लिएर जाने व्यक्ति बेलाबेला गाउँमा आँउथे । घरमा कोही नभएको मौकामा बुधबार दिउँसो बालिकालाई लिएर गएको देखिएको उनले बताए ।

‘हिजो राति राजविराजमा लगेर राखेको भन्ने छ ,’ उनले भने, ‘किन लग्यो भन्ने जानकारी छैन, मान्छे समातियो ।’ उनका अनुसार बालिकाको घर र बालिका भेटिएको स्थान करिब ९ किलामिटर पश्चिममा पर्छ ।

बालिकालाई अपहरण गरी भारत पुर्‍याएको आशंकामा प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरेर खोजी सुरु गरेको थियो । तर, सीसी क्यामेरा अध्ययन गर्दा कोशी पुलमा शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले साहलाई पक्राउ गरी बालिकाको उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?