२१ चैत, काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम १७५औं स्थानमै यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपालको वरियता यथावत रहेको हो ।
नेपालले मार्चमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जहाँ मैत्रीपूर्ण खेलमा १४ स्थान माथि रहेको सिंगापुरलाई १–० ले पराजित गरेको नेपाल एसियन कप छनोटमा भने ४३ स्थान माथि रहेको मलेसियासँग २–० ले पराजित भएको थियो ।
दक्षिण एसियामा भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा छ । भारत १२७औं र माल्दिभ्स १६४औं स्थानमा झरेको छ । भारत एक र माल्दिभ्स दुई स्थान तल झरेको हो ।
नेपालभन्दा पछि रहेको भुटान १८२औं स्थानमा यथावत छ भने बंगलादेश दुई स्थान सुधार गर्दै १८३औं स्थानमा उक्लेको छ । पाकिस्तान १९८औं र श्रीलंका २००औं स्थानमा छ ।
विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमै यथावत छ । यस्तै स्पेन दोस्रो स्थानमा उक्लँदा फ्रान्स तेस्रोमा झरेको छ भने इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौ स्थानमा यथावत छन् ।
नेदरल्याण्ड्स एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लँदा पोर्चुगल सातौं स्थानमा झरेको छ । बेल्जियम आठौं, इटली नवौँ र जर्मनी दशौँ स्थानमा कायम छन् ।
एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा अघि रहेको जापान १५औं स्थानमा छ ।
प्रतिक्रिया 4