२१ चैत, काठमाडौं । नेपाल सुपर लिग (एलएसएल) ले हालै सम्पन्न खेलमा भएको अनुशासनहीन तथा हिंसात्मक घटनाक्रमका कारण पोखरा थन्डर्स एफसीमाथि कारबाही गरेको छ। लिगको अनुशासन समितिले घटनाको समीक्षा गरी दोषी पाइएको भन्दै विभिन्न प्रतिबन्ध र जरिवाना लगाउने निर्णय गरेको छ।
सबैभन्दा ठूलो कारबाही क्लबका अधिकारी सुन्दर थापामाथि गरिएको छ। उनीमाथि एनएसएल २०२५ को बाँकी सम्पूर्ण खेलहरूका लागि रंगशाला प्रवेशमा प्रतिबन्ध लगाइएको छ।
उनले निषेधित क्षेत्र प्रवेश गरी रेफ्री र टूर्नामेन्ट निर्देशकलाई आक्रमण गर्न खोजेका थिए। एनएसएलले पोखरा थन्डर्स एफसीलाई उनको मान्यता कार्ड तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ।
यस्तै क्लबका अर्का सदस्य दीपक श्रेष्ठलाई पनि अनुशासनहीन व्यवहारका लागि दुई खेलको प्रतिबन्ध लगाइएको छ। उनी डगआउट क्षेत्रमा आक्रामक र हिंसात्मक रूपमा प्रस्तुत भएको भन्दै उनलाई यो कारबाही गरिएको हो।
यस अतिरिक्त, पोखरा थन्डर्स एफसीलाई खेलकुद भावना र अनुशासन मापदण्ड उल्लङ्घन गरेको भन्दै रु. ५०,००० जरिवाना गरिएको छ। लिगले सबै क्लबलाई अनुशासन कायम राख्न आग्रह गर्दै यस प्रकारको व्यवहार पुनः दोहोरिए थप कडा कारबाही हुने चेतावनी दिएको छ।
एनएसएल अनुशासन समितिले घटनाको थप अनुसन्धान गरिरहेको छ। यदि आवश्यक परेमा दोषीहरूमाथि थप कारबाही लगाइने जनाएको छ।
बुधबार ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रीले गोल मान्यता नदिएपछि उनीहरूले रेफ्रीसँग विवाद गरेका थिए ।
प्रतिक्रिया 4