+
+
Shares

मकवानपुरमा मिलन दंगाल हत्या आरोपमा ४ जना युवतीसहित ७ जना पक्राउ

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ चैत २१ गते १९:५९

२१ चैत, हेटौंडा । मकवानपुरको हेटाैंडा उपमहानगरपालिका-१६ चिसापानी घर भएका ३७ वर्षीय मिलन दंगालकाे हत्या आरोपमा चार जना युवतीसहित सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका-३ का ३६ वर्षीय प्रशान्त लामा, ललितपुरको गोदावारी नगरपालिका-१२ का २४ वर्षीय किसन दानी, बाराको निजगढ नगरपालिका-३ की १९ वर्षीया इनिसा तिमल्सेना, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ की १९ वर्षीया सुस्मिता तामाङ, सिन्धुलीको मरिन गाउँपालिका-७ की २० वर्षीया शर्मिला मुक्तान, सोही ठाउँ बस्ने १९ वर्षीया रोजिना तामाङ र मकवानपुर हेटौडा उपमहानगरपालिका-१६ का २८ वर्षीय सुजन पौडेल रहेका छन् ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार पूर्वीमकवानपुरकाे बागमती गाउँपालिका र बकैया गाउँपालिकाकाे सीमा क्षेत्र भुवनचुलीडाँडामा २० चैत बुधबार बिहान साढे ६ बजे दंगाल मृत फेला परेका थिए । देउडी भज्याङबाट करिब ५० मिटर तल लडेर मदनभण्डारी लोकमार्गको भुवनचुलीस्थित दायाँतर्फकाे नालामा टाउकाेमा गम्भीर चाेट लागेकाे अवस्थामा दंगालकाे शव भेटिएकाे उनले बताए ।

डीएसपी अर्यालका अनुसार मृतक दंगाल र उनका साथी सुजन पाैडेल १९ चैत साँझ मंगलबार माेटरसाइकलमा हेटाैंडाबाट भुवनचुली भन्दा माथि रहेकाे देउडी सेकुवा घरमा पुगेका थिए । उनीहरू साेही दिन सेकुवा घरमा रहेकाे र त्याहाँ झडप भएपछि घटना भएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । यद्यपि, आराेपितहरूले घटनामा संलग्नता रहेकाे बारे स्वीकार गरिनसकेकाे डीएसपी अर्यालले अनलाइनखबरलाई जानकारी दिए ।

डीएसपी अर्यालका लामा सेकुवा घरका सञ्चालक हुन भने दानी सेकुवा घरकाे सम्पर्कमा सञ्चालित टाटासुमाेका चालक हुन् । उक्त टाटासुमाे सेकुवा घरमा आउने ग्राहकहरूलाई ओहाेरदाेहाेर गराउन प्रयाेग हुने गरेकाे थियाे ।

पक्राउ परेका चार जना युवतीहरू सेकुवा घरमा काम गर्ने गरेकाे प्रहरीले जनाएकाे छ । सेकुवा घरमा शंकास्पद गतिविधिसमेत हुने गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । घटनास्थल भनिएकाे सेकुवा घर रहेकाे देउडी भञ्ज्याङ इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चाैकी हात्तीसुँढेकाे मध्य भागमा दुवै क्षेत्रबाट करिब ४ किलाेमिटरकाे दुरीमा रहेकाे छ ।

प्रहरीले आराेपित ७ जनालाई ज्यान सम्बन्धी कसुरकाे मुद्दामा मकवानपुर जिल्ला अदालतबाट बिहीबार ७ दिनकाे म्याद थप गरेकाे छ । प्रहरीले आराेपितहरूकाे बयान लिने र घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?