
२१ चैत, काठमाडौं । भारत नयाँदिल्लीमा जारी स्टार्टअप महाकुम्भ २०२५ मा ‘नेपाल प्याभिलियन’ उद्घाटन भएको छ ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले बिहीवार नेपाल प्याभिलियन उद्घाटन गरे ।
अन्तरिक्ष, सूचना प्रविधि (आईटी), कृत्रिम बौद्धिकता (एआई), जलवायु प्रविधि, शिक्षा प्रविधि (एडटेक) देखि कृषि प्रशोधनसम्मका विभिन्न क्षेत्रमा संलग्न १० नेपाली स्टार्टअपले महाकुम्भमा आफ्ना उत्पादन प्रदर्शन गरेका छन् ।
भारत सरकारको आन्तरिक व्यापार तथा उद्योग प्रवद्र्धन विभागको सहयोगमा स्थापित नेपाल प्याभिलियनमा सहभागी हुन उनीहरूलाई काठमाडौंस्थित भारतीय दूतावासले मद्दत गरेको छ ।
बिहीबारदेखि शनिबारसम्म तीन दिन चल्ने यो कार्यक्रम नेपाली स्टार्टअपलाई भारतीय स्टार्टअप इकोसिस्टमसँग जोडिने अवसर प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
दोस्रो संस्करणमा प्रवेश गरेको स्टार्टअप महाकुम्भ हालसम्मको विश्वकै सबैभन्दा ठूलो स्टार्टअप कार्यक्रम बनेको छ । जसमा ३ हजारभन्दा बढी प्रदर्शक, १० हजार स्टार्टअप र १ हजार लगानीकर्ता, इनक्युबेटर तथा एक्सेलेरेटर भारत र अन्य देशबाट सहभागी छन् ।
यसअघि फेब्रुअरीमा काठमाडौंस्थित भारतीय दूतावासले दोस्रो भारत–नेपाल स्टार्टअप कनेक्ट कार्यक्रम आयोजना गरेको थियो । २०२३ मा पहिलो संस्करणदेखि नै भारत–नेपाल स्टार्टअप सहकार्य विशेषगरी इनक्युबेसन क्षेत्रमा उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले पहिले नै आईआईटी मद्रासको प्रवर्तक फाउन्डेसनसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।
प्रतिक्रिया 4