२२ चैत, काठमाडौं । कप्तान एन्जो फर्नान्डेजको एक मात्र गोलमा चेल्सीले प्रिमियर लिगमा टोटनहम माथि १-० को कठिन जित निकालेको छ ।
यस जितपछि चौथो स्थानमा उक्लेको चेल्सीले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना पनि कायम राखेको छ ।
घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा अर्जेन्टिनी मिडफिल्डर एन्जोले ५०औं मिनेटमा गोल गरे । उनले कोल पाल्मरको क्रसमा हेड मार्फत गोल गरे ।
निकै तनावपूर्ण बनेको खेलमा दुई गोल भिएआरबाट अस्वीकृत भएको थियो ।
चेल्सीका मोइसिस काइसेडोले ५६औं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन । यस्तै टोटनहमका पापे मतार सारले ६९औं मिनेटमा गरेको गोलाई पनि भिएआरले मान्यता दिएन ।
खेलमा कूल १० पहेँलो कार्ड देखाइएको थियो । दुवै टिमका ५-५ खेलाडीले पहेँलो कार्ड सामना गरेका थिए ।
जितपछि चेल्सीले ३० खेलबाट ५२ अंक जोडेर चौथो स्थानमा उक्लेको हो । चेल्सीले म्यानचेष्टर सिटी र न्युकासललाई पछि पारेको हो । चेल्सी तेस्रो स्थानको नटिङहम फरेस्ट भन्दा ५ अंकले पछि छ । पारजित टोटनहम भने ३४ अंकसहित १४औं स्थानमा छ ।
लिभरपुल ३० खेलबाट ७३ अंक जोडेर शीर्ष स्थानमा आसिन छ र उपाधि जित्ने बलियो दाबेदारको रुपमा छ ।
प्रतिक्रिया 4