+
+
Shares
फिल्म :

सोनम तोप्देनलाई लिएर ‘जलाकी’ छायांकन, ग्लोबल ट्रेन्डिङपछि आकृतिको डेब्यु

त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देनको शीर्ष भूमिका हुनेछ । केही अन्तर्राष्ट्रिय फिल्ममा पनि काम गर्न लागेको चर्चाबीच ‘जलाकी’मार्फत उनले घरेलु फिल्ममा पुनरागमन गर्न लागेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १२:४१
दायाँदेखि सोनम तोप्देन, उपासनासिंह ठकुरी, आकृति राजभण्डारी लगायत ।

काठमाडौं । यसवर्षको हिट फिल्म ‘खुस्मा’का निर्माताले नयाँ कथानक ‘जलाकी’ निर्माण थालेका छन् । ‘जलाकी’को अर्थ, मगर समुदायमा सम्झना र मायाको प्रतिकको रुपमा मानिने ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ ।

शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्म थालेका हुन् । पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभसाइत पूजा गरियो । पहिलो दिनको छायांकन बागलुङको कालिका भगवती मन्दिरमा भैरहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देनको शीर्ष भूमिका हुनेछ । बर्लिन फिल्म फेस्टिभलमा छनोट भएर इतिहास रचेको ‘शाम्बाला’पछि तोप्देनले अन्तर्राष्ट्रियरुपमै ख्याती प्राप्त गरे । केही अन्तर्राष्ट्रिय फिल्ममा पनि काम गर्न लागेको चर्चाबीच ‘जलाकी’मार्फत उनले घरेलु फिल्ममा पुनरागमन गर्न लागेका हुन् ।

उपासनासिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको पनि अभिनय हुनेछ । निर्देशक थापाले ‘खुस्मा’मा अभिनेत्री ठकुरीसँग सहकार्य गरेका थिए जहाँ उनले द्वन्द्वपीडित परिवारकोे सदस्यको भूमिका निर्वाह गरेकी थिइन् ।

सुशान्त केसीको चर्चित गीत ‘बार्दली’बाट उदाएकी मोडल आकृति राजभण्डारीको यो डेब्यु फिल्म हो । ‘बार्दली’ यसवर्ष ग्लोबल ट्रेन्डिङमा परिसकेको गीत हो ।

छायांकन तीन चरणमा हुने निर्देशक अशोक थापामगरले बताए । रुकुम, म्याग्दी, बागलुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने फिल्मले मगर र गुरुङ समुदायको संस्कृतीलाई झल्काउने जनाइएको छ ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको फिल्मको निर्मातामा ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।

माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापामगर, राजु रेग्मीमगर, खड्कबहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ । शैलेन्द्र डी कार्कीको छायांकन, एसडी योगी र सरित राईको संगीत हुनेछ । ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?