२२ चैत, काठमाडौं । क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्टनलाई बार्बाडोसमा लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ गरिएको छ।
किर्टन अप्रिल २ को बिहान बार्बाडोसको ग्रान्टली एडम्स अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। हाल उनी लागूऔषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन्।
रिपोर्टअनुसार यो अनुसन्धान करिब ९ किलोग्राम (२० पाउन्ड) गाँजा भेटिएको विषयसँग सम्बन्धित छ। बार्बाडोसमा लागूऔषध सम्बन्धी कानुन २०१५ मा परिमार्जन गरिए पनि गाँजाको पूर्ण रूपमा कानुनी मान्यता छैन।
दुई आउन्स (५७ ग्राम) सम्मको गाँजा साथमा राख्नु अपराध मानिँदैन, तर सार्वजनिक स्थानमा बोकेमा जरिवाना लाग्न सक्छ। यद्यपि, यो नियम चिकित्सकीय प्रयोजनका लागि मान्य हुँदैन।
किर्टनले गत जुलाइदेखि क्यानडा क्रिकेट टिमको कप्तानी गरिरहेका छन् । उनले नोभेम्बरमा नेपालमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि खेलेका थिए ।
-एजेन्सीबाट
प्रतिक्रिया 4