+
+
Shares

टाई किन लगाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १३:१७

टाईको इतिहास १७औं शताब्दीबाट सुरु भएको पाइन्छ । त्यस समयमा युरोपमा सल र रुमाल गलामा लगाइन्थ्यो । जुन निकै लोकप्रिय थिए ।  फ्रान्समा पुरुषहरूले लामो, पातलो कपडाको टुक्रा गलामा बाँध्थे, जसलाई ‘क्राभाट’ भनिन्थ्यो। यी क्राभाट धनी नागरिकहरूले शैलीको प्रतीकको रूपमा लगाउँथे ।

१८औं शताब्दीमा क्राभाटलाई अझ विस्तृत बनाइयो । र, लेस, कढाई तथा अन्य सजावटले सजाइयो । तिनीहरू चौडा हुँदै गए र विभिन्न रङ र डिजाइनमा देखा परे । १९औं शताब्दीको सुरुवातमा आधुनिक क्राभाट विकसित भयो, जो १८औं शताब्दीको भव्य क्राभाटभन्दा छोटो थियो ।

टाई चाँडै पुरुषहरूको पहिरनको महत्त्वपूर्ण अंग बन्यो । विशेषगरी व्यापारिक र औपचारिक अवसरहरूमा यसलाई पहिरिन थालियो । संयुक्त राज्य अमेरिकामा १९२० को दशकमा टाईलाई पहिलोपटक व्यापारिक पहिरनको महत्त्वपूर्ण हिस्सा मानियो ।

सन् १९५० को दशकमा टाई आफ्नो लोकप्रियताको शिखरमा पुग्यो ।आज टाई पुरुष पहिरनको महत्त्वपूर्ण हिस्सा बनेको छ । यद्यपि फेसन शैली बदलिएको छ । पहिले जस्तो बारम्बार लगाइँदैन । तैपनि, टाई अझै पनि शैली र सुन्दरताको प्रतीक मानिन्छ । धेरै औपचारिक अवसरहरूका टाई अपरिहार्य सहायक बनेको छ ।

नेपालमा भने स्कुल, कलेजमा टाई अनिवार्य लगाउनैपर्छ । यो विद्यार्थीको पोशाकको अभिन्न हिस्सा मानिन्छ ।

त्यस्तै, कार्यालय तथा संस्थामा पनि कर्मचारी र मुख्य पदका व्यक्तिले पनि लगाउने गर्छन् । आजभोलि विवाहको रिसेप्सन पार्टीमा बेहुलाले सर्ट, प्यान्ट र कोटमा टाई पहिरिने चलन बढ्दो छ ।

टाई : थरीथरीका स्टाइल

टाई बाँध्ने तरिकाहरू धेरै छन्, तर सामान्यतया १८ देखि २० वटा शैलीहरू प्रचलित छन् । टाईको लम्बाइ, चौडाइ र कपडाको प्रकारले पनि टाई बाँध्ने शैलीमा प्रभाव पार्छ ।

विश्वमै चर्चित टाई बाँध्ने केही लोकप्रिय विधि

१. फोर–इन–ह्यान्ड नट

यो सबैभन्दा सजिलो र प्रचलित शैली हो । जुन दैनिक कार्यालय वा अनौपचारिक अवसरका लागि उपयुक्त छ । हेर्दा गलामा सानो, असम्मित र लामो आकारको नठ बन्छ । तर, टाईको लम्बाई भने पेटसम्म पुग्छ ।

कसरी बाँध्ने?

– पहिला टाईलाई गलामा राखेर चौडा भाग दायाँ र सानो भाग बायाँ राख्ने

– त्यसपछि चौडा भागलाई सानो भागमाथि क्रस गर्ने,

– चौडा भागलाई सानो भागको पछाडिबाट घुमाउने,

– चौडा भागलाई अगाडिबाट माथि उठाएर गाँठोको बीचबाट तल झारेर कस्ने ।

२.हाफ–विन्डसर नट

यो मध्यम खालको नट बनाएर लगाइन्छ । जुन फोर–इन–ह्यान्डभन्दा अलि ठूलो हुन्छ । यो औपचारिक जुनसुकै अवसरका लागि राम्रो मानिन्छ । विद्यार्थीहरूले पनि यो तरिकाले लगाउछन् ।

कसरी बाँध्ने?

– चौडा भागलाई सानो भागमाथि क्रस गर्ने ।

– चौडा भागलाई गलाको नट बनाउने भागमा माथि उठाउने ।

– पछाडिबाट घुमाएर अगाडि ल्याउने र नटको बीचबाट तल झारेर कस्ने ।

३.फुल–विन्डसर नट

यसको नट ठूलो तर त्रिकोण भएको हुन्छ । यसमा माथिको भाग दुईतर्फ फराकिलो र तलको भाग एक मुखको साँघुरो हुन्छ । जुन विवाह, ठूला बैठक वा विशेष समारोहमा लगाइन्छ ।

कसरी बाँध्ने ?

– चौडा भागलाई सानो भागमाथि क्रस गर्ने ।

– चौडा भागलाई गलाको लुपभित्रबाट दुई पटक घुमाउने ।

– दोस्रो घुमाइ सकेपछि अगाडिबाट माथि उठाएर गाँठोको बीचबाट तल झारेर थोरै कसेपछि तयार हुन्छ ।

४.प्राट नट

यसमा मध्यम आकारको नट बनाइन्छ । जुन ‘हाफ–विन्डसर’ जस्तै देखिन्छ । यो सामान्यदेखि विशेष कार्यक्रममा सबैले लगाउन सकिने स्टाइल हो ।

कसरी बाँध्ने ?

– टाईलाई उल्टो पारेर भित्री भाग बाहिर देखिने गरी तयार पार्ने ।

– चौडा भागलाई सानो भागमुनि क्रस गर्ने ।

– माथि उठाएर गलाको लुपबाट तल झार्नुहोस्, फेरि अगाडिबाट घुमाएर गाँठो बनाउने ।

५.बोटाई

यो परम्परागत टाईभन्दा फरक हुन्छ । यसमा नट पुतली आकारको बनाइन्छ । जुन पश्चिमी मुलुकमा बढी चर्चित छ । यो शैली पार्टी, नाटक वा विशेष फेसनका लागि प्रयोग हुन्छ ।

कसरी बाँध्ने ?

– बोटाईलाई गलामा राखेर दुवै छेउ बराबर गर्ने ।

– एउटा छेउलाई अर्कोमाथि क्रस गरेर दोस्रो छेउलाई घुमाएर बीचबाट तानेर गाँठो कस्ने ।

यी बाहेक पनि धेरै शैलीहरू छन्, तर माथिका पाँचवटा सबैभन्दा लोकप्रिय र व्यावहारिक मानिन्छन् । अनौपचारिक वा औपचारिक अवसर अनुसार शैली छनोट गर्नुपर्छ ।

टाई बाँध्दा ध्यान दिनुपर्ने कुरा

– टाईको लम्बाई कम्मरसम्म पुग्नुपर्छ।

– सर्टको कलर र अनुहारको आकार अनुसार नट र रङ छनोट गर्नुपर्छ।

– रेशम, ऊन वा पोलिस्टर टाई लगाउने हो भने स्टाइलिस देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?