
२२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले २१औं शताब्दीमा सक्रिय राजसंस्था बोक्नेको मानसिक स्वास्थ्यमाथि प्रश्न गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २०१७ सालमा जस्तो सक्रिय राजसंस्था हुनुपर्छ भन्नेहरूको मानसिक स्वास्थ्य अवस्थामाथि प्रश्न उठाएका हुन् ।
उनले अहिले सक्रिय राजतन्त्रको स्थापना सम्भव नभएको बताए ।
‘कतिपयले २०१७ साल पछिको राजसंस्थाको कुरा गर्छन्, त्यस्तो होइन, हामीले राजसंस्थालाई अभिभावकको रूपमा राख्ने एजेन्डा बोकेर हिँडेका हौँ’ उनले भने, ‘यो २१ औँ शताब्दी हो। २०१७ सालको जस्तो सक्रिय राजसंस्था बोक्ने …. (मानसिक स्थिति ठिक नभएको अवस्था) हो । त्यस्तो सम्भव छैन । म त स्पष्ट रूपमा भन्छु । म झूट बोल्ने मान्छे पनि होइन ।’
पूर्वगृहमन्त्री समेत रहेका तामाङले आफू सक्रिय राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पार्दै राजाको फोटो खिचेर देखाउँदैमा नतर्सिन आग्रह गरे ।
‘राजामा किन भूत देख्नुहुन्छ ? फोटो खिचेर देखाउँदैमा किन तर्सिनुहुन्छ ? म राजसंस्था हुनुपर्छ भन्ने मान्छे त्यसमा विमति छैन’ उनले भने, ‘मेरो छोराछोरीलाई म जिउँदो रहँदासम्म राजसंस्थाको विरोध नगर, म मरेपछि जे गर गर भन्छु ।’
चैत १५ गते तीनकुनेको प्रदर्शनमा सुरक्षाकर्मीले सुरक्षाको पूर्ण रणनीति र कार्यनीति अपनाएको नदेखिएको उनको जिकिर थियो ।
उनले राप्रपाका नेताहरूलाई पक्राउ गरेकोमा पनि आपत्ति जनाए । ‘हाम्रो पार्टीको महामन्त्री धवल शमसेरलाई थुनेर राख्नुपर्ने त्यस्तो अपराध गरेको हो त ? माननीयलाई हतकडी लिएर लानुपर्छ ? रवीन्द्र मिश्र भागेर जान्छ त ?’ उनले भने, ‘यस विषयमा पनि के हो, हाम्रा साथीहरूलाई थुन्ने काम भएकोले उहाँहरूलाई बिना सर्त रिहाइ गर्नुपर्छ ।’
उपाध्यक्ष तामाङले तीनकुने घटनाको अनुसन्धान गर्न न्यायिक छानबिन आयोग गठन गर्न माग गरे ।
‘राष्ट्रिय गान बजिरहेकै बेला प्रहरीले मञ्चमा टेयर ग्याँस हानेको भिडिओ आइरहेको छ । आन्दोलनकर्मीलाई चारैतिर भाग्नै नदिने गरी घेरिएको छ’ उनले भने, ‘सुरु-सुरु हिँडिरहेको सविन महर्जनलाई किन गोली हानियो ? सत्तापक्षले पनि संलग्नता भएको भनिएको छ । न्यायिक छानबिन आयोग गठन हुनुपर्यो ।’
प्रतिक्रिया 4