
२२ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिका निवर्तमान संयोजक नवराज सुवेदीलाई प्रहरीले विनापुर्जी घरमै सुरक्षा घेराभित्र राखेको पाइएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
आयोगका सदस्य मनोज दुवाडीको टोलीले घरमै सुरक्षा घेराभित्र रहेका सुवेदीलाई भेट गरेको छ ।
सुवेदीसँग भेटेपछि आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ,‘निज (सुवेदी) लाई विना पूर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको छ ।’
आयोगले १५ चैतमा राजावादी प्रर्दशनका क्रममा काठमाडौंको तीनकुने लगायत क्षेत्रमा भएका घटनाको अनुसन्धानमा सघाउन सर्वसाधारणसँग अनुरोध समेत गरेको छ ।
१५ चैतको घटनाबारे मानव अधिकारको अवस्था र आयोगको भूमिकाबारे भइरहेका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न टोलीहरू खटाएर घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणा समेत सार्वजनिक गरिसकेको आयोगले जनाएको छ ।
घटनामा भएको क्षति र मानव अधिकारको उल्लंघनका विषयलाई लिएर आयोगमा थप उजुरी र जानकारीहरू समेत प्राप्त भएको भन्दै आयोगले घटनाको गाम्भीर्यता र उजुरी समेतलाई मध्येनजर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानविन/अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाको उपचारको अवस्थाबारे पनि विभिन्न अस्पतालमा पुगी आयोगले जानकारी लिएको जनाएके छ ।
प्रतिक्रिया 4