+
+
Shares

पटकपटक खोज्दा पनि पत्रकार रजक भेटिएनन् : सशस्त्र प्रहरी महानिरीक्षक

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले आगजनी गरिएको घरमा दुई पटकसम्म पसेर खोज्दा पनि पत्रकरा सुरेश रजक फेला नपरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १५:५७

२२ चैत, काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले तीनकुने घटनामा आगजनी भएको घरभित्र पसेर दुई पटकसम्म खोजी गर्दा पनि पत्रकार सुरेश रजकलाई नभेटेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै सशस्त्र महानिरीक्षक अर्यालले कोही नभेटेपछि टोली फर्किएको बताए । १५ चैतमा राजावादी प्रदर्शनको क्रममा तीनकुनेस्थित एक घरमा प्रदर्शनकारीले आगो लगाउँदा त्यसभित्र जलेर एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको ज्यान गएको थियो ।

‘प्रदर्शनकारीले आगजनी गरेको घरभित्र पत्रकार रहेको सुनेपछि ३ बजेर ४७ मिनेटमा मैले डीएसपीको नेतृत्वको टोली पठाएँ । तीन तलासम्म सर्च गरियो । चौथो तलामा ताला लगाइएको थियो । कोही नभेटेपछि हाम्रो टोली फर्कियो,’ उनले भने, ‘तल आएपछि माथि मान्छे छ भनेपछि हाम्रो टोली फेरि माथि हेर्न गयो । तर, कोही भेटेन । हाम्रो टोली फर्किंदा पनि निस्सासिएको अवस्था थियो ।’

उनले त्रिशूली र नारायणी नदीमा डुबेर मृत्यु भइसकेकाहरूको शव निकाल्न त सुरक्षाफौजले ज्यान माया मार्ने गरेको भन्दै जीवितै मान्छे छ भन्ने थाहा पाएपछि उद्धार गर्न नजाने प्रश्न नै नआउने जिकिर गरे ।

‘त्रिशुलीमा होस् वा नारायणीमा होस् शवको उद्दार गर्न सुरक्षाफौजले ज्यान माया मारेको छ भने जीवित मान्छेलाई उद्धार गर्न नजाने कुरा नै थिएन,’ सशस्त्र महानिरीक्षक अर्यालले भने, हामीले पटकपटक माथि गएर हेर्दा पनि फेला पार्न सकेनौं ।

प्रदर्शनकारीले घरभित्र छिरेर तोडफोड गरेपछि भिडियो खिच्न भित्रै पसेका पत्रकार रजक भवनमा आगजानी भए पछि पनि बाहिरिएका थिएनन् । उनी भित्रै रहेको भन्दै उद्धारका लागि प्रदर्शनस्थमा रहेका अन्य सञ्चारकर्मी तथा एभिन्युज टेलिभिजन व्यवस्थापनले सुरक्षाकर्मीलाई पटकपटक आग्रह गरेका थिए । पटकपटक आग्रह गर्दा पनि घरभित्र गएर उद्धार नगर्दा रजकको उद्धार हुन नसकी ज्यान गएको आरोप सुरक्षाकर्मीमाथि लागेको छ ।

राज्यव्यवस्था समितिको बैठकमा सांसदहरूले समेत यो विषय उठाएका थिए । त्यसको जवाफ दिँदै सशस्त्र प्रहरीका महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् ।

सोही बैठकमा त्यसअघि बोलेका गृहमन्त्री रमेश लेखकले समयमै भवनमा प्रहरी छिन नसक्दा सुरेश रजकको जीवितै उद्धार गर्न नसकिएको बताएका थिए ।

‘राजावादीका अगुवाले भिडलाई उत्तेजित बनाएर निषेधित क्षेत्र तोड्ने संसद भवन नै तोडफोड गर्नका लागि उक्साए । घरमाथि मानिस छ भनेर जानकारी हुँदाहुँदै घरमा आगो लगाइयो । आगजनी नियन्त्रणमा लिन हर प्रयास भयो । तर, प्रहरीले सकेन । दमकल पनि बोलाइएको थियो, आगो निभाउने क्रममा प्रदर्शनकारीबाट रोक्ने छेक्ने कार्य भएका कारण दमकलमा क्षति र सुरक्षाकर्मी घाइते भएकाले आगो नियन्त्रण गर्न सकिएन,’ गृहमन्त्री लेखकले भने, ‘समयमै भवनमा प्रहरी छिर्न नसकेका कारण सुरेश रजकको जीवितै उद्धार गर्न सकिएन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?