
२२ चैत, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा सभा, धर्ना, विरोध प्रदर्शनजस्ता कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ ।
समितिले तीनकुने घटनाका दोषीउपर आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
समितिको आज बसेको बैठकले १५ चैतमा तीनकुने क्षेत्रमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा जनधनको क्षति भएको थियो । त्यसबारे गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापा र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँगको छलफलपछि समितिले अब त्यसक्षेत्रमा कार्यक्रम आयोजना गर्ने अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा बोलेको सबै सांसद्ले तीनकुने संवेशनशील रहेकाले त्यहाँ प्रदर्शन आयोजना दिनु प्रशासनको कमजोरी भएको भन्दै आलोचना गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अति प्रज्ज्वलनशील इन्धन भण्डारण केन्द्र रहेको तथा तीनकुने नजिकै संसद् भवन, विभिन्न सञ्चारगृह रहेकाले पनि त्यस क्षेत्रमा सभा, धर्ना तथा प्रदर्शन आयोजना गर्न दिन नहुने सांसदहरूको भनाइ थियो ।

समिति सभापति रामहरि खतिवडाले बैठकको अन्त्यमा निर्णय सुनाउँदै तीनकुने आसपासका क्षेत्रमा सभा, धर्ना, विरोध प्रदर्शनजस्ता कार्यक्रम गर्न अब अनुमति नदिन सरकारलाई निर्देशन दिए । खतिवडाले तीनकुनेमा गत १५ चैतमा राजावादीहरूले विरोध प्रदर्शन गर्दा भएको घटनाको भत्र्सना गर्ने निर्णय भएको पनि जानकारी दिए ।
संसदीय समितिले आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरू दोहोरिनबाट रोक्न एवं संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रक्षाको लागि गम्भीरताका साथ अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ ।
समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई साधन–स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया 4