
२२ चैत, काठमाडौं । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म साप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सञ्चालन गर्ने घोषणा सो पार्टीले गरेको हो ।
घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र आर्थिक स्थायीत्वका लागि संघीयता ठूलो बोझ भएको भन्दै खारेजी जरुरी रहेको बताए ।
‘गणतन्त्र नेपाली जनताले ठूला सङ्घर्ष र बलिदानपछि स्थापित गरेका हुन् । यसलाई ध्वस्त पार्ने षड्यन्त्रलाई परास्त गर्न हामी निरन्तर संघर्षरत छौं,’ केसीले भने, ‘संघीयता नेपालको राष्ट्रियता र आर्थिक स्थायित्वका लागि ठूलो बोझ बनेको छ, त्यसैले यसको खारेजी जरुरी छ ।’
पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सन्देश, फागुन २५ गते आयोजित राजावादी शक्ति प्रदर्शन, र चैत्र १५ गतेको हिंसात्मक घटनालाई प्रतिगमनको गम्भीर संकेतको रुपमा व्याख्या गरे ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाले सम्पूर्ण गणतन्त्रवादी शक्तिहरूबीच सहकार्यको आवश्यकता औंल्याएको छ ।
आन्दोलन अन्तर्गत प्रत्येक दिन राजधानीका विभिन्न स्थानमा जुलुस, सभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियान सञ्चालन गरिने बताइएको छ । सभा हुने प्रमुख स्थानहरूमा शान्तिबाटिका (रत्नपार्क), चाबहिल चोक, माइतीघर मण्डला, गोंगबु चौक, न्यूरोड (भूगोल पार्क) र भृकुटीमण्डप रहेका छन् ।
प्रत्येक दिन दिउँसो २ बजे हुने कार्यक्रममा प्रमुख वक्ताका रूपमा अध्यक्ष चित्रबहादुर केसी, नेता बोमबहादुर खत्री, महासचिव मनोज भट्ट, ने.क.पा. (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, सल्लाहकार आनन्द शर्मा तथा उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
प्रतिक्रिया 4