+

सन प्रोटेक्सन क्रिम लगाउनैपर्छ ? विस्तृतमा बुझौँ

२०८१ चैत  २२ गते १८:३८ २०८१ चैत २२ गते १८:३८
सन प्रोटेक्सन क्रिम लगाउनैपर्छ ? विस्तृतमा बुझौँ

बिजनेस रिसर्च इनसाइटको रिपोर्टले देखाउँछ, अघिल्लो वर्ष अर्थात २०२४ मा सनस्क्रिनको कारोबार १२ अर्ब ६० करोड डलर बराबारको रहेको छ । यो आकार सन् २०२५ मा बढेर १३ अर्ब २७ करोड डलर पुग्ने प्रक्षेपण गरिएको छ।

सनस्क्रिनको बजार वार्षिक ५.२८ प्रतिशतका दरले बढ्दै जाने जनाइएको छ ।

यो तथ्यांकले देखाउँछ, कसरी विश्वव्यापी रुपमा सन प्रोटेक्सन क्रिमको बजार बढिरहेको छ । अतः नेपालमा पनि यसको खपत कम छैन । किन सन प्रोटेक्नस क्रिम यतिधेरै खपत हुँदै आएको छ ? के यसको प्रयोग अनिवार्य हो ?

छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. अनिलकुमार भट्ट भन्छन्, ‘अहिलेको अवस्थामा छालाको चमक र स्वस्थ्यलाई जोगाइ राख्नका लागि सन प्रोटेक्सन क्रिम लगाउनैपर्छ । यसको अर्को विकल्प छैन ।’

यद्यपि सबैले यस्तो क्रिम प्रयोग गर्दैनन् । शहरी क्षेत्रमा वा युवा वर्गमा यसको प्रयोग बढी छ । तर धेरैजसो नेपालीले अझै पनि सन प्रोटेक्सन क्रिम लगाउँदैन । जबकि यहाँ क्रिम लगाउने र नलगाउनेबीच खास भेद देखिँदैन, सौन्दर्यका हिसाबले।

त्यसैले सन प्रोटेक्सन क्रिम लगाउनैपर्छ भन्ने कुरामा विरोधाभास देखिन्छ । यसले उपभोक्तालाई अलमल बनाएको छ ।

किन अनिवार्य रुपमा लगाउनैपर्छ ? नलगाउँदा के हुन्छ ? यसले कसरी छालाको सुरक्षा गर्छ ?

घामको परावैजनी किरण भनेको के हो ?

परावैजनी किरण सूर्यबाट निस्कने हानिकारक किरणहरू हुन् । यी किरणहरू नाङ्गो आँखाले देख्न सकिँदैन । सूर्यको प्रकाशमा आँखाले देख्न सकिने र नसकिने परावैजनी किरण हुन्छ, जुन तीन भागमा बाँडिन्छ । यूभीसी, यूभीए र यूभीबी ।

परावैजनी किरणले छालामा कस्तो असर गर्छ ?

परावैजनी किरणमा भएको यूभीसी, यूभीए र यूभीबी मध्ये सबैभन्दा छालाका लागि खतरनाक हो, यूभीसी । यसको किरण जमिनसम्म पुग्नुअघि नै हावाको तहमा अवशोषित भइसकेको हुन्छ । जसकारण छालामा कुनै प्रभाव पार्न पाउँदैन । तर, बढ्दो वायु प्रदूषणका कारणले ओजन तहको विनाशले सूर्यको परावैजनी किरण पृथ्वीमा सोझै आई छालामा विभिन्न असरहरू देखाउँछ । यो कारणले छालालाई डढाउने, चाउरीपन ल्याउने, सुक्खा पार्ने र क्यान्सर समेत गराउन सक्ने छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.सुयोग मैनाली बताउँछन्।

सनस्क्रिनले छालालाई परावैजनी किरणबाट कसरी बचाउँछ ?

घामको प्रत्यक्ष किरण नाङ्गो छालामा पर्दा डढ्न सक्छ । घरबाहिर केही घण्टासम्म दिनहुँ काम गर्दा वा डुल्दा छालामा क्षति पुग्नसक्छ । छालामा रहेको तत्त्वको काममा बाधा पुग्छ । जसले गर्दा उमेर अगावै छाला चाउरी पर्ने समस्या देखा पर्ने छाला रोग विशेषज्ञ डा.रूपक घिमिरेको भनाइ छ ।

‘परावैजनी किरणले छालाको सतहमुनि रहेको डिएनएमा क्षति पुर्‍याई छालाको रुपमा परिवर्तन स्वरूप छालाको चाउरी पर्छ’ डा.घिमेरे भन्छन् ‘डीएनए क्षति भएमा मेलेनोमा सहित छालाका समस्या एक पछि अर्को गरी देखा पर्छ । मेलेनो छालाको बाहिरी तहमा गहिरो रङ दिने तत्त्व हो । जसले छालालाई सामान्य रङ दिन्छ।’

छालामुनि रहेको तहमा हुने हानिबाट बचाउन मेलेनोलो मेलेनिनको उत्पादन बढी गर्छ । मेलानिनले घामको विकिरणलाई अवशोषित गर्ने काम गर्छ । मेलानिन बढी भएमा छालामा क्षति हुन नपाउने घिमिरेले बताए।

सनस्क्रिन लगाएको छैन भने मेलेनिनको उत्पादनमा पनि कमी आउँछ । जसकारण छाला रातो हुने वा डढेको दाग जस्तो देखिन्छ । त्यसैले यसबाट बच्न सनस्क्रिन लगाउनै पर्ने डा घिमिरेको भनाइ छ।

आयुर्वेद : सनस्क्रिन अनिवार्य लगाउनै पर्छ भन्ने छैन

अनिवार्य रुपमा सनस्क्रिन लगाउनै पर्छ ? भन्ने प्रश्नमा आयुर्वेद तथा पञ्चकर्म विशेषज्ञ डा. निर्मल भुसालको तर्क भने फरक छ । उनी भन्छन् ‘शरीरको सौन्दर्ययताले मनलाई पनि प्रसन्न बनाउँछ । त्यसैले छालालाई सुन्दर बनाउनका लागि विभिन्न कुराको प्रयोग गर्ने चलन उहिलेदेखि छ ।’

आयुर्वेदमा पनि दैनिक नरिवलको तेल, घ्युको प्रयोग गरेर छालाको मसाज गर्दा यसले सौन्दर्य बढाउने र छालाको सुरक्षा पनि गर्छ भन्ने रहेको डा.भुसालले बताए ।
‘छालाको प्रकृतिअनुसार छालाको हेरचाह गर्ने कुरा आयुर्वेदमा पनि उल्लेख छ’ भुसाल भन्छन्, ‘जस्तो कसैको छाला सुख्खा छ भने तेल, घ्यु लगाएर मसाज गर्ने, कसैको छाला चिल्लो छ भने मुलतानी मिट्टी वा अन्य हर्बल पाउडरको पेस्ट लगाउन सकिन्छ।’

प्राकृतिक छालालाई क्रिमको लेयरले ढाक्दा त्यसको सुरक्षा हुन्छ भन्ने कुरा भने आयुर्वेदमा उल्लेख नभएको उनले बताए । दैनिक रुपमा मुख धुनेबाहेक सनस्क्रिन वा अन्य क्रिमको प्रयोग गर्नुपर्छ भन्ने कुरा पनि उल्लेख नभएको भुसालको भनाइ छ ।

घामको हानिकारक किरणबाट छालालाई बचाउनका लागि विभिन्न रासायनिक क्रिम लगाउनु भन्दा । त्यसबाट बच्ने अन्य उपाय पनि अपनाउन राम्रो हुने भुसालको तर्क छ ।

‘जस्तो-: छाता ओडने, शरीर ढाक्ने कपडा लगाउने, टाउको र अनुहार सलले ढाक्ने गर्न सकिन्छ’ भुसाल भन्छन्, ‘यसरी छालालाई घाम, धुलो र प्रदूषणबाट पनि बचाउन सकिन्छ ।’

हाम्रो छालासँग प्राकृतिक रुपमा सूर्यको किरणलाई ग्रहण गर्ने र त्यसको हानिकारक किरणसँग लड्ने क्षमता हुने भुसाल बताउँछन् । ‘सानैदेखि सूर्यको किरणमा प्रत्यक्ष एक्पोजर हुने व्यक्तिहरूमा सूर्यको हानिकारक किरणसँग लड्ने क्षमता हुन्छ’ उनी भन्छन् ‘तर, बच्चैदेखि सूर्यको किरणमा एकदमै कम एक्पोज भएका व्यक्ति घाममा एक छिन बस्दा पनि एलर्जी हुने छाला डढी हाल्ने लगायतका समस्या हुन्छ।’

सनस्क्रिनमा त विभिन्न प्रकारको केमिकलको पनि प्रयोग भएको हुन्छ । जसले छालालाई हानि पनि गर्नसक्छ । त्यसैले सनस्क्रिनको प्रयोग गर्दा यो कुरामा पनि ध्यान दिनु जरुरी हुने भुसाल सुझाउँछन् ।

सनस्क्रिनले छालामा कसरी काम गर्छ ?

छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. सुयोग मैनालीका अनुसार सामान्यतया सनस्क्रिन दुई किसिमका हुन्छन्– भौतिक र रासायनिक। यी दुवैको काम भनेको सूर्यको हानिकारक किरण युभी, यूभीए र यूभीबीलाई छालामा जान रोक्नु हो।

भौतिकमा जिङ्क अक्साइड र टिटानियम डाइअक्साइड जस्ता तत्त्व हुन्छ । जसले घामबाट आएका विकिरणलाई प्रतिबिम्बित गरी छालाको सतहबाट छिर्न दिँदैन । यसले छालामा दाग धब्बालाई कम पनि गर्छ ।

त्यस्तै रसायनिकले घामबाट आउने विकिरणलाई छालाको सतहमाथि नै सोस्ने गर्छ । जसले गर्दा विकिरण छालाभित्र छिर्न पाउँदैन ।

केमिकल सनस्क्रिनमा अक्सिबेनजोन, अभोबेनजोन, अक्टिसिलेट र होमोसालेट, अक्सिटोसिजेट जस्ता तत्त्व हुने डा.मैनाली बताउँछन् । यी तत्त्वहरूको काम भनेको हानिकारक विकिरण सोस्नु हो । र, यो लगाउँदा च्यापच्याप लाग्ने पनि नहुने उनको भनाइ छ ।

कस्तो सनस्क्रिन लगाउने ?

कस्तो सनस्क्रिन लगाउने भन्ने कुरा तय गर्नु भन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको हो त्यो थाहा पाउनुपर्छ । आफ्नो छालाको प्रकार अनुसार सनस्क्रिनको प्रयोग गर्नुपर्ने छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. अनिलकुमार भट्ट बताउँछन् ।

छाला मुख्यतया पाँच प्रकारका हुन्छन् तैलीय, सुख्खा, मिश्रित, सामान्य र संवेदनशील। यस्तोमा आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छाला रोग विशेषज्ञको पनि सल्लाह लिनुपर्ने डा. भट्ट बताउँछन् ।

उनका अनुसार चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने जुनसुकै लगाउँदा पनि हुन्छ । सुख्खा छाला छ भने क्रिम बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । त्यसबाहेक कसै–कसैको छाला धेरै संवेदनशील छ भने मिनिरल्स सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन छनोट गर्दा जहिले पनि त्यसमा एसपीएफ भएको हेर्नुपर्ने भट्टको सुझाव छ । ‘एसपीएफको पूरा अर्थ हो, सन प्रोटेक्सन फ्याक्टर । यूभीबी र युभी विकिरणमा छाला डढाउने, छालामा क्यान्सर गराउने र अनुहार बिगार्ने तत्त्व हुन्छ’ भट्ट भन्छन्, ‘एसपीएफको काम भनेको छालालाई यी तत्त्वबाट जोगाउनु हो।’

एसपीएफ मुख्य १५, ३० र ५० गरी तीन किसिमको हुन्छ । एसपीएफ १५ ले ९३ प्रतिशत, एसपीएफ ३० ले ९७ प्रतिशत र एसपीएफ ५० ले ९८ प्रतिशत यूबीबी किरणलाई रोक्छ । यी तीन खासै भिन्नता नभए पनि बढी घाममा बस्नुपर्ने भएमा ९७ प्रतिशत प्रभावकारिताका लागि एसपीएफ ५० उपयुक्त हुने उनले सुझाए।

कसरी लगाउने ?

घरबाट निस्कनुभन्दा १०–१५ मिनेट अघि सधैँ सनस्क्रिन लगाउने र अतिरिक्त सुरक्षाका लागि प्रत्येक दुई–तीन घण्टाको फरकमा दिनमा दुईदेखि तीन पटक लगाउनु राम्रो हुने डा. भट्ट बताउँछन् ।

वाटर प्रुफ सनस्क्रिन पानीमा भएको लगभग ४० देखि ८० मिनेटको लागि प्रभावकारी हुन्छ, त्यसैले पानीबाट बाहिर निस्केपछि यसलाई पुनः लगाउनुपर्छ । घरबाट बाहिर निस्कँदा मात्र होइन घरभित्र हुँदा पनि सनस्क्रिन लोसन लगाउनुपर्ने भट्टलको सुझाव छ।

सनस्क्रिन छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू

सनस्क्रिन किन्दा एसपीएफ मात्र नभई पराबैजनी किरण पीए पनि भएको हेर्नुपर्छ । यदि (पीए+++) अथवा चार वटा प्लस भएको सनस्क्रिन छ भने त्यो अझ राम्रो हुने भट्टले बताए ।

हामीले प्रयोग गर्ने सनस्क्रिन मुख्यतया दुई प्रकारको हुन्छ । एउटा जसले सूर्यको किरणलाई रिफ्लेक्ट गर्छ । अर्कोले सूर्यको किरणलाई सोस्छ र तापको रुपमा नष्ट गर्छ ।
सूर्यको किरणलाई सोस्ने सनस्क्रिन शरीरमा अवशोषित हुन्छ । यस्तोमा सनस्क्रिनमा हुने केमिकल पनि शरीरमा अवाशोषित भएर रगतमा मिसिन्छ र क्यान्सरको जोखिम बढाउँछ।

त्यसैले सूर्यको किरणलाई अवशोषित गर्ने भन्दा पनि किरणलाई रिफ्लेक्ट गर्ने सनस्क्रिन प्रयोग गर्नुपर्ने एउटा अध्ययनले देखाएको छ ।

सनस्क्रिनका बारेमा प्रचलित भ्रम र वास्तविकताहरू

(छाला तथा यौन रोग विशेषज्ञ डा. विकास पौडेल)

भ्रम : सनस्क्रिनले ट्यानिङ पूर्णरूपमा रोक्छ

वास्तविकता : सनस्क्रिनले परावैजनी किरणबाट केही हदसम्म सुरक्षा त दिन्छ तर यसले छाला कालो हुनबाट जोगाउँदैन । यदि लामो समय घाममा बसिन्छ भने, ट्यानिङ हुन सक्छ । तर, सनस्क्रिनले सनबर्न, फोटोएजिङ, चाउरीपना र छालाको क्यान्सरको जोखिम चाहि पक्कै घटाउँछ ।

भ्रम : कालो छाला भएकाहरूले सनस्क्रिन चाहिँदैन

वास्तविकता : गाढा रङका छालामा मेलानिनले केही सुरक्षा त दिन्छ, तर यसले यूभी किरणबाट पूर्ण बचाउ गर्दैन । जसले, छाला चाउरी पर्ने र क्यान्सरको जोखिम बढाउन सक्छ । त्यसैले, सबै रङका छाला भएकाहरूले नियमित रूपमा सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

भ्रम : उच्च एसपीएफ ५०+ भएको सनस्क्रिनले दिनभर सुरक्षा दिन्छ

वास्तविकता : एसपीएफ ३० ले ९७ प्रतिशत सुरक्षा र ५० एसपीएफले ९८ प्रतिशत सुरक्षा दिन्छ । सनस्क्रिन २–३ घण्टापछि घट्दै जान्छ, त्यसैले यसलाई बारम्बार लगाउनुपर्छ ।

भ्रम : बादल लागेका बेला वा वर्षामा सनस्क्रिन चाहिँदैन

वास्तविकता : बादलले युभी किरण पूर्णरुपमा रोक्न सक्दैन । पानी परेका बेलामा सनस्क्रिन बग्न सक्छ । त्यसैले, हरेक मौसममा सनस्क्रिन आवश्यक छ ।

भ्रम : सनस्क्रिनले भिटामिन डी बनाउन रोक्छ

वास्तविकता : सनस्क्रिनले यूभीबी किरणलाई छेक्छ जुन भिटामिन डी बनाउन चाहिन्छ तर यसले पूर्णरूपमा भिटामिन डी उत्पादन रोक्दैन । दैनिक १०–१५ मिनेट घाम ताग्नु वा भिटामिन डीयुक्त खाना खानुपर्छ ।

भ्रम : एकपटक लगाएपछि पूरै दिन सुरक्षित

वास्तविकता : सनस्क्रिनको असर २–३ घन्टामा सक्किन्छ । पसिना, पानी, घर्षण आदिले पनि घटाउँछ । त्यसैलेः हरेक २/३ घण्टामा पुनः लगाउनुपर्छ ।

सन प्रोटेक्सन क्रिम
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय