+
+
Shares
पुस्तक :

एक्ली आमाकी अटेरी छोरी

आख्यानमा पुस्ताभेद टड्कारो रूपमा देखिन्छ । सकारात्मक मार्गनिर्देशन तथा परामर्श दिने अभिभावक नहुँदा किशोर-किशोरीमा कान्छीको जीवनमा जस्तो दुर्घटना हुनु अनौठो होइन ।

धर्म गौतम धर्म गौतम
२०८१ चैत २३ गते ८:०३

किताबको नाम रोमन लिपिमा ‘कान्छी’ देख्नासाथ लाग्यो, कुनै विदेशीले लेखेको होला । हातमा लिएर लेखकको नाम हेरें- वीना पुन । पहिलो नामले त विदेशी नै भन्यो तर थर भने नेपाली जस्तै ।

उत्सुकतावश पाना पल्टाउँदा त्यसको तेस्रो पृष्ठमा भएको लेखिकाको तस्वीर र संक्षिप्त परिचयले उनी नेपाली हुन्, नेपालमै जन्मी हुर्केर हाल अमेरिकामा बसेकी भन्ने थाहा भयो । तर पङ्क्तिकारले उनको लेखनीलाई चिनेको थिएन । मनमा आयो- हेरौं न त ! तर दाम देख्दा आँखाले आत्था भन्न खोज्ने ! (रु.११०० मात्र ।)

यो आख्यान रहेछ । यसकी मूल पात्र कान्छी । एक्ली आमाले दु:ख गरेर हुर्काएकी; पुलपुल्याएर राखेकी भन्न मिल्ने । षोडशी वयमा गाउँबाट आश्चर्यपूर्ण रूपमा एकाएक बेपत्ता भएकी ! एक पटक उसको हातका औंला हेरेर उसलाई नेपाली पढाउने शिक्षकले उत्साहित गर्दै भनेका थिए- तिमी टिभीमा बोल्ने मानिसभन्दा कता हो कता गतिली हुन्छ्यौ, कि राजा कि त संन्यासी !

तर, राजा बन्ने सम्भावना कान्छीको थिएन, न त संन्यासी नै ऊ हुन्थी । भलै एकताका त्यसका प्रति उसमा केही उत्सुकता नजागेको होइन । त्रासदीपूर्ण अवस्थाले संन्यासी बनाउँछ भनेर त्यस्तो अवस्थालाई छेक्न कान्छीकी आमा मैजुले त कान्छीका बाजेका पालादेखिको कपाल काट्ने एउटा भुत्ते ब्लेडलाई सिकुवाको लाछीको खाँबामा घुसारेकी थिइन् । र, एक दिन झिसमिसेमै कान्छीलाई कसैले थाहा नपाई सुटुक्क पोखरा पठाउँदा उसको रक्खे होस् भनेर त्यस ब्लेडलाई मैजुले कान्छीको झोलामा नै हालिदिएकी थिइन् ।

लेखक वीना पुन

बिहान मिर्मिरेमै छोरीलाई बाटो लगाएर फर्केकी मैजुले बेलुकीपख बुझपचाएर छिमेकीलाई सोधेकी थिइन्- कान्छीलाई देखिनौ ? अलिक अघि यहाँ घाँसको भारी बिसाएर हँसियाको टुप्पाले ढाड कन्याउँदै थिई, कता गइछ ? !

कान्छीलाई उसकी आमाले पोखरा पुगेर फोन गर्नु भनेकी थिइन् तर उसको फोन आएन । अनि मात्रै कान्छी हराएको कुरा गाउँमा चल्यो । प्रहरीमा खबर गरियो, सबैतिर खोजियो तर कान्छी फेला परिनँ । एक दिन, उसको यो कथा भन्दा ऊ बेपत्ता भएको दश वर्ष बितिसकेको छ ।

यो दश वर्षमा तोरीखोला गाउँ पुछारमा बग्ने सेतीखोलामा पानी धेरै बगिसकेको छ । देशमा माओवादी द्वन्द्व चर्कियो, त्यसले तोरीखोलालाई पनि अछुतो छाडेन, समय निकै अघि बढ्यो तर गाउँमा खासै परिवर्तन भएन । गाउँले जीवन, वैदेशिक रोजगारी र समाजमा त्यसले पारेको असर अनि त्यसभित्र पनि महिलाहरूको संघर्ष आख्यानमा यथार्थपरक रूपमा छताछुल्ल छ ।

स्मृतिदृश्य (फ्ल्यासब्याक) शैलीमा कान्छीको कथा भनिन्छ । उसको कथासँग उसकी आमा मैजुको कथा आउने नै भयो । मैजुसँगै उसको गाउँ तोरीखोला र त्यहाँको मिलेर बसेका जातजातिको समाजको कुरा आउने नै भयो । तोरीखोलाले मध्यपश्चिम नेपालका आम गाउँको प्रतिनिधित्व गर्छ । त्यस्तो गाउँले जीवनको सजीव वर्णन पाइन्छ यस आख्यानमा ।

मैजु पर्वतबाट तोरीखोला आउँदा पच्चीस वर्षकी थिइन् । उनले घर खाएकै दशक बितिसकेको थियो । भारतमा काम गर्ने उनका पति एकाध वर्षको अन्तरालमा घर आउँथे तथापि, मैजुबाट जायजन्म भएन । नि:सन्तान महिलाको व्यथा छ उनमा ।

एक्ली आमाले दु:ख गरेर पुल्पुल्याउँदै हुर्काएकी कान्छी षोडशी वयमा गाउँबाट एकाएक बेपत्ता हुन्छे । एक पटक उसको हातका औंला हेरेर नेपाली शिक्षकले भनेका थिए- तिमी टिभीमा बोल्ने मानिसभन्दा कता हो कता गतिली हुन्छ्यौ, कि राजा कि त संन्यासी !

माइती गाउँ आएकी बहिनी साइनो पर्ने अर्की एक महिलाको कुरा सुनेर उनकै साथ लागी मैजुले पहिलो पतिको घर त्याग्छिन् । तोरीखोलामा कलबहादुरसँग दोस्रो विवाह गर्छिन् । कलबहादुर भारतको आसामतिर काम गर्थे । एकपटक घर आएर दुई/चार दिन बसी उता लागेका उनको त्यसयता खबर छैन । कलबहादुर हिंडेपछि मात्रै मैजुलाई आफू गर्भवती भएको थाहा भयो । कान्छी जन्मिई ।

तेस्रो कक्षासम्म पढाइ हुने गरी भर्खर खुलेको घर नजिकैको स्कूलमा कान्छीलाई भर्ना गरियो । उसको पढाइ राम्रो थियो । त्यहाँको पढाइ सकेर नजिकैको माविमा गई ऊ । अतिरिक्त क्रियाकलापमा पनि ऊ पहिलो थिई ।

परम्परावादी समाज र त्यस्तैमा हुर्केकी उसकी आमा उसलाई पनि त्यसैमा डोर्‍याउन चाहन्छिन् तर कान्छी त्यस्तो बन्धन रुचाउँदिनथी । आमाले हुँदैन भनेका प्रत्येक कुरामा ऊ प्रश्न गर्छे- किन हुँदैन ? के हुन्छ ? ऊ फुक्काफाल रहन चाहन्छे ।

निश्चित बन्धनमा बस्नुपर्छ भनेर महिनावारी समेत लुकाउँछे आमासँग । कविता लेख्छे, कथा लेख्ने यत्न गर्छे, अपराधका घटनाले भरिएका ‘तथ्यकथा’ पढ्छे, केटाहरूसँग घुलमिल हुन्छे, तिनलाई चिठी लेख्छे ।

गाउँकै प्रहरी चौकीमा आइपुगेको झलनाथ नामको हेडकन्स्टेबलसँग ऊ नजिकिन्छे । उनीहरू लुकीछिपी घरबाहिर शारीरिक सम्पर्क समेत राख्छन् । विस्तारै, रात परेपछि झलनाथ एसएलसी पूर्व परीक्षाको तयारी गरिरहेकी कान्छीको ओछ्यानमै सुटुक्क आउने गर्छ ।

छोरीको चाला देखेर आमाको मुटु कुँडिन्छ । उनी सम्झाउन खोज्छिन् तर छोरी चाहिंले सुने पो ! यसै क्रममा एक बिहान गाउँलेले उनीहरूलाई रंगेहात फेला पारेर टीकाटाला गरिदिन्छन्, केही दिनपछि विवाह गर्ने शर्तमा । केटो विवाह गर्न कर गर्छ तर ऊ मान्दिनँ । अचम्मकी छ ।

उसलाई जे सुन्यो त्यही गर्न मन लाग्छ । एक दिन उसका एक शिक्षकबाट सुन्छे- मनोविज्ञान भनेको मान्छेको मस्तिष्कको होइन, मनस्थितिको अध्ययन हो । बस्, ऊ त्यही विषय पढ्ने सोच बनाउँछे । राजनीतिशास्त्र पढ्न सुझाउँदा ऊ आफूले सुनेको कुरा भन्छे- राजनीति फोहोरी खेल हो ।

विवाह गर्ने दिन आउनै लाग्दा कान्छी सुटुक्क पोखरा लाग्छे, आमासँगको सल्लाहमा । पोखरामा उसकी फुपू हुन्छिन् । तर फुपूकोमा पुग्नुभन्दा पहिले ऊ त्यहाँ एउटा क्लिनिकमा पुग्छे र छद्म नाम टिपाएर गर्भपतन गराउन पस्छे । त्यही क्रममा त्यहीं अचानक उसको हृदय गति रोकिन्छ । पाठकलाई झसङ्ग पार्दै उसको कथा पनि त्यहीं टुङ्गिन्छ । तर यो सत्य न उसकी आमाले थाहा पाउँछिन् न अरू कसैले ।

क्लिनिकमा पस्नुपूर्व उसले आमालाई गाउँमा रहेको सोलारले चल्ने ल्यान्ड लाइनमा खबर छाड्न फोन गर्ने प्रयास गर्छे तर उता फोन टिप्दैन । यसरी आमासँग पनि ऊ सम्पर्कविहीन अवस्थामै ज्यान गुमाउन पुग्छे ।

किताब पढिसक्दा पनि कान्छीलाई त्यसरी पोखरा किन पठाइएको थियो भन्ने रहस्य खुल्दैन । गर्भपतन गराउन ? झलानाथसँगको विवाह टार्न ? तर जे गर्न भए पनि आमा-छोरीको सल्लाहमै भएको थियो ।अन्यथा, कसैलाई थाहा नदिई मैजुले उसलाई सुटुक्क बाटो लाएर हराएको वहाना गर्ने थिइनन् ।

नभन्दै कान्छी हराएको दोष उसकी एक्ली आमाले बेहोर्नु पर्छ, धेर पुलपुल्याई, अधीनमा राख्न सकिनँ, मसिनोगरी खोजबिन गर्न सकिनँ आदि । एक्ली महिलाले खेप्नुपर्ने सास्तीको थुप्रो छ कथामा ।

गत वर्ष अर्थात् सन् २०२४ मा ह्याचेट इन्डियाले प्रकाशन गरेको ३३० पृष्ठको यो आख्यान एकै बसाइमा पढिसकिने खालको छ । कथाको भाषा सलल बगेको छ । कान्छीसँग हुने रोचक अन्तर्वार्ताको भाषाले उसको भिन्न सोचाइलाई छर्लङ्ग पार्छ । आख्यानमा स्वाभाविक रूपमा प्रविष्ट नेपाली शब्द तथा वाक्यांशको अंग्रेजी भावानुवाद किताबको पुछारमा राखिदिनाले गैरनेपाली पाठकलाई सजिलो भएको छ ।

यस आख्यानमा पुस्ताभेद टड्कारो रूपमा देखिन्छ । सकारात्मक मार्गनिर्देशन तथा परामर्श दिने अभिभावक नहुँदा किशोर-किशोरीमा कान्छीको जीवनमा जस्तो दुर्घटना हुनु अनौठो होइन ।

लेखक
धर्म गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?