
२२ चैत, काठमाडौं । नेपाली संस्कृति संरक्षण र परम्परागत नेपाली खाना तथा आन्तरिक एवं वाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन राजधानी पोखरामा ‘२०औं फेवा नव वर्ष महोत्सव २०८२’ हुने भएको छ ।
३० चैतदेखि १ वैशाखसम्म फेवा किनारको करिब ३ किलोमिटर क्षेत्रमा महोत्सव चल्ने छ । महोत्सवमा निःशुल्क प्रवेश व्यवस्था गरिएको होटल संघ नेपाल (हान) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
नेपाली नयाँ वर्ष उल्लासमय बनाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरी आफ्नो मौलिक संस्कृति रक्षा गर्ने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सवको आरम्भ हुने भएको छ ।
नेपाली खाना प्रदर्शनी र प्रवद्र्धनलाई पनि महोत्सवमा विशेष जोड दिइने भएको छ । महोत्सवका अवसरमा पोखरा आउने पाहुनाका लागि संघ अन्तर्गतका होटलमा २० प्रतिशत छुट दिइने छ ।
अन्य पर्यटन प्रतिष्ठान र व्यवसायीले पनि सक्दो छुट तथा सहुलियत प्रदान गर्नेसमेत हानले जनाएको छ । नेपाली संस्कृति जगेर्ना गर्दै पोखराको पर्यटन प्रवद्र्धन गर्ने र पर्यटक बसाइ अवधि लम्ब्याइ आर्थिक चलायमान बढाउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।
महोत्सवकै प्रचार–प्रसारका लागि संघले नेपाल पर्यटन बोर्डको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरमा हालै ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरेको थियो । संघले ‘घुमघाम पोखरा’, ‘शैक्षिक भ्रमण पोखरा’ र ‘मधुमास पोखरा’ जस्ता प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ ।
सन् २०२५ लाई पोखरा महानगरपालिकाद्वारा पोखरा भ्रमण वर्ष घोषणा गरिएपछि आयोजना गर्न लागिएको यस बृहत महोत्सवले भ्रमण वर्षको लक्ष्य पूरा गर्न सघाउ पुग्ने आयोजकको भनाइ छ ।
प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खाना प्रदर्शन, सांस्कृतिक कार्यक्रम प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, पर्यटक दौड प्रतियोगिता, ब्याडमिन्टन कप, स्थानीय एवं प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवं हस्तकलाका सामान प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम लगायत महोत्सवका आकर्षण रहने छन् ।
प्रतिक्रिया 4