स्वास्थ बीमा बोर्डका नीति निर्माताहरू र स्वास्थ मन्त्री ज्यूलाई मेरो प्रश्न छ, तपाईंहरूले देशका सम्पूर्ण बिरामी नागरिकलाई आफ्नै ठानेर समान व्यवहार गर्नु पर्दैन ?
कि निजी अस्पतालमा बीमा मार्फत सेवा लिन जानेहरू तपाईँहरूका आफन्त नातागोता नपर्ने हुन् ? किन यति साह्रै भेदभावपूर्ण नीति नियम बनाउनुभयो ?
आफूलाई विश्वास लाग्ने, घरपायक पर्ने, सहज हुने स्वास्थ्य संस्था, अस्पतालमा बिरामीले स्वास्थ्य बीमामार्फत उपचार सेवा लिन नपाउने बाध्यात्मक निमय किन बनाउनुभयो ?
सरकारी स्वास्थ्य संस्थाबाटै रिफरल हुनु पर्ने नियम किन ? निजी अस्पतालमा जाने बिरामीले बीमाबाट खर्च भएको रकमको २० प्रतिशत आफैँ तिर्नुपर्ने र सरकारी अस्पतालमा जाने बिरामीले १० प्रतिशत मात्रै तिरे पुग्ने यस्तो विभेदकारी नियम किन ?
बिरामीहरू बल्लतल्ल अस्पताल पुग्छन् । ओपीडी टिकट काटेर पालो पर्खिएर चिकित्सकहाँ पुगेपछि दिसा-पिसाब, रगत जाँच गर्न पठाइन्छ । एक्स रे, इमआरआई, सिटीस्क्यान आदिका लागि सिफारिस गरिन्छ । तिनको बिल तिर्न लाइन् । परीक्षण गर्ने ठाउँमा लाइन्, रिपोर्ट आएपछि फेरि चिकित्सकलाई देखाउनुपर्यो। अझ धेरै अस्पतालहरूमा रिपोर्ट लिन अर्को दिन बोलाउने पनि हुन्छ । कुनै समस्या भएर अस्पताल गयो भने दिनभरमा पनि प्रक्रिया पूरा हुँदैन ।
अझ ग्रामिण क्षेत्रका बिरामी त घन्टौँको यात्रा गरेर सरकारी अस्पताल पुग्नुपर्ने बाध्यता छ । घरमा गाईवस्तु, बालबच्चालाई छिमेकीको जिम्मामा छाडेर जानुपर्ने अवस्था पनि हुन्छ ।
अहिले धेरै जिल्लाका प्रादेशिक अस्पतालहरूमा दिउँसो ३-४ बजे पछि एक्स्टेन्डेन्ड्न्ट हस्पिटल सर्भिस (इएचएस) सेवा सुचारु छ। यो समयको उपचार सेवामा स्वास्थ्य बीमाको सुविधा पाइँदैन ।
बीमाको नीतिले गर्दा सरकारी अस्पताल जानै पर्ने, भीड्भाड हुने, समय धेरै लाग्ने हुन्छ अनि बिरामीहरूलाई बाध्य भई बीमा छाडेर शुल्क तिरी इएचएसमार्फत सेवा लिन बाध्य भइरहेका हुन्छन् ।
बीमाबाट हटेर इएचएसमार्फत धेरै शुल्क तिरी गरेमा छिटो उपचार तथा अप्रेसन हुन्छ भनिन्छ । के यो ठिक हो त ? त्यही काम निजी अस्पतालले गरे माफियाले ठगे भन्ने सरकारी अस्पतालले गरे सिस्टम हो भन्न मिल्छ ?
सकिन्छ भने सरकारी अस्पतालमा ३-४ बजे पछि पनि बीमा सेवामार्फत सेवा दिनुहोस् न ।
तपाईहरूलाई मेरो विनम्र आग्रह छ-स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरिरहेका सबै सरकारी तथा निजी अस्पतालहरूमा समान नियम लागू गराउनुहोस् ।
सरकारीबाट चाहिने भनिएका ‘रिफरर’ तुरुन्तै हटाएर सम्पूर्ण बिरामीहरूले सजिलो र छरितो तरिकाले आफूले चाहेको अस्पतालबाट बीमा कार्यक्रममार्फत स्वस्थ्य सेवा लिन पाउने नीति बनाउनुहोस् ।
बीमा सेवा भएका निजी अस्पतालमा पनि बिरामी जान पाउँछन्, भीडभाड हुदैन र बिरामीले सहुलीयतमा सेवा लिन पाउँछन् ।
अब सरकारले निजी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वस्थ्यकर्मी र निजी अस्पतालमा आएका बिरामीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ । सरकारी र निजी सबैको बीमा कार्यक्रमको नियम एउटै बनाएर बिरामीले रोजेको र सहज हुने ठाउँबाट सेवा लिन सक्ने बनाउन सकेमा नेपालको स्वास्थ्य सेवा सबल बन्छ ।
विभेदकारी तथा बाध्यात्मक नियम बनाएर त सेवा खस्किन्छ । बिरामीले अनावश्यक सास्ती पाउँछन् । बीमा कार्यक्रम नै असफल बन्न सक्छ ।
नीति सच्चाउनुहोस् ।सबै सरकारी र निजी स्वास्थ्य संस्थाबीच रहेको भेदभाव हटाउनुहोस् । अनि, सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध हुन आह्वान गर्नुहोस्।
प्रतिक्रिया 4