+
+
Shares

वायु प्रदूषणको संकटमा सरकारलाई हाइसन्चो

‘सरकार पानी पर्ला वा हावा आएर धुलो–धुवाँ हटाउला भनेर बसेको छ’

‘वायु प्रदूषणले हरेक वर्ष आक्रान्त बनाउँदै आएको छ । सरकार न्यूनीकरणका लागि गम्भीर देखिँदैन, हाइसन्चोमै छ,’ वातावरणविद् भूषण तुलाधर भन्छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ चैत २२ गते २०:४६

२२ चैत, काठमाडौं । वायु प्रदूषणका कारण काठमाडौं उपत्यका चार दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । बिहीबार बिहान काठमाडौंको पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण सूचकांक (एक्यूआई) ३७३ सम्म पुग्यो ।

प्रदूषण बढेसँगै वातावरणविज्ञ तथा चिकित्सकहरूले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् ।

तर सरकार भने पानी पर्ला वा हावा आएर धुलो–धुवाँ हटाएर वायु प्रदूषण कम हुन्छ भनेर मूकदर्शक बसेको छ ।

विशेषगरी जाडो (मंसिरको दोस्रो सातादेखि पुसको दोस्रो सातासम्म) र सुक्खायाम (फागुनको तेस्रो सातादेखि वैशाखको तेस्रो सातासम्म) मा वायु प्रदूषण उच्च तहमा पुग्ने गरेको छ ।

‘वायु प्रदूषणले हरेक वर्ष आक्रान्त बनाउँदै आएको छ । सरकार न्यूनीकरणका लागि गम्भीर देखिँदैन, हाइसन्चोमै छ,’ वातावरणविद् भूषण तुलाधर भन्छन् ।

सरकारले वायु प्रदूषण न्यूनीकरण गर्नका लागि तत्काल र दीर्घकालीन योजना बनाउनुपर्ने उल्लेख गर्दै वातावरणविद् तुलाधार तत्काल नै ‘एक्सनमा’ जानुपर्ने बताउँछन् ।

बिहीबार वातावरण प्रदूषण घटाउन विज्ञले सरकारलाई तत्कालै यातायातमा जोर–बिजोर प्रणाली लागु गर्नुपर्ने, घरबाट काम वा हप्तामा दुई दिन बिदा दिनुपर्ने लगायतका राय दिएका थिए । तर सरकारले भने निर्णय लिन ढिलासुस्ती गरिरहेको छ ।

डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा भन्छन्, ‘वायु प्रदूषणले संकट निम्त्याइरहेको छ । तर सरकार पानी पर्ला वा हावा चलेर धुलोधुवाँ हटाउला भन्ने रबैयामा छ ।’

सबैभन्दा बढी अहिले वायु प्रदूषण हुनुको प्रमुख कारक तत्वमा डढेलो नै देखिएको छ । हरेक दिन तीन सयभन्दा बढी स्थानमा डढेलो लागिरहेका छन् । हावा, हुरी र घामले खिस्रिक्क बनेको यो मौसममा जंगलभरि नै आगजनी भइरहेको छ । त्यसकै धुवाँ चारैतिर मडारिएको छ । अनि धेरैजसो उपत्यकाको काखमा बसेका सहरहरू उसैगरी धुम्मिइरहेका छन् ।

त्यस्तै उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणकार्यबाट उड्ने धुलोले पनि वायु प्रदूषण बढाइरहेका छन् ।

‘प्रदूषण न्यूनीकरणका लागि सरकारले कुनै ठोस प्रयास भएको छैन । केही नीति नियम पनि छन् । तर प्रदूषण नियन्त्रणको विषयमा खेलाँची मात्रै भयो,’ वातावरण गुणस्तर विज्ञ डा. भुपेन्द्र दास भन्छन् ।

सरकारले तत्काल नै नियन्त्रणका लागि कदम नचाल्ने हो भने भयावह अवस्था आउने विज्ञको चेतावनी छ । एक हप्तायता धेरै मानिस आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने, छाती पोल्ने, कालो र खैरो रङको खकार आउने, रुघाखोकीका समस्याका बिरामी बढ्न थालेका छन् ।

धुवाँधुलोका कारण कतिपय दीर्घरोगी त भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेको चिकित्सक बताउँछन् ।

प्रदूषण अस्वस्थकर तहमा उक्लिइसक्दा पनि सरकारले ‘प्रदूषण हुने काम नगर्नू’ भन्ने विज्ञप्ति निकालेर बस्नु दिक्कलाग्दो भएको शर्मा बताउँछन् ।

यसअघि २०७७ मा पुस र चैतमा काठमाडौंको वायु प्रदूषण घातक अवस्थामा पुग्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।

प्रदूषण नियन्त्रणका लागि सरकारले डढेलो नियन्त्रण, धुवाँ फ्याँक्ने गाडी सडकबाट हटाउने, फोहोर र कृषि अवशेष जलाउने देखि मास्क अनिवार्य रूपमा लगाउन विज्ञको सुझाव छ ।

अबको एक महिना डढेलो अधिक जोखिम भएकाले सरकारले डढेलोको उच्च जोखिममा रहेको स्थानमा विशेष निगरानीमा राखेर काम गर्नुपर्ने वातावरणविद् तुलाधार बताउँछन् । उनका अनुसार डढेलो नियन्त्रणका गर्न लागि स्थानीय सरकारसँग मिलेर अभियान तत्काल नै सुरु गर्नुपर्छ ।

‘वन जंगलमा भएको पात, पतिंगरलाई सफा गर्नुपर्छ । वन जंगलमा कुनै रेखा कोरिरेर राख्नुपर्छ,’ तुलाधार भन्छन्, ‘यसो गर्दा डढेलो लागिहालेको खण्डमा निभाउन सहज हुन्छ ।’

त्यसैगरी वायु प्रदूषण बढाउनका लागि सहरी क्षेत्रमा यातायतको साधन मुख्य भूमिका खेल्ने हुनाले अनुगमनको पाटोलाई चुस्त बनाउनुपर्ने विज्ञको राय छ ।

पुराना यातायातका साधनले धुवाँको मुस्लो फालिरहेका छन् । सरकारले प्रदूषण जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउनुपर्छ,’ तुलाधार भन्छन्, ‘अनुगमन गरेर मापदण्डभन्दा बढी प्रदूषित गराउने गाडी हटाउने हो भने ३० प्रतिशत वायु प्रदूषणलाई घटाउन सकिन्छ ।’

डढेलो विज्ञ शर्माले हरेक वर्ष वायु प्रदूषणले विपत्ति ल्याउँदा पनि सरकारले दीर्घकालीन योजना रूपमा राष्ट्रिय रणनीति बनाउन नसकेको बताए ।

‘अहिले काठमाडौं लगायत देशका प्रमुख सहर वायु प्रदूषणले आक्रान्त छ,’ शर्मा भन्छन्, ‘ग्यास च्याम्बर’ भित्र नागरिक बस्न बाध्य भएका छन् । स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार पनि हनन भएको छ ।’

नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक प्रत्याभूत गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (१) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक व्यवस्था गरिएको छ ।

नेपालको संविधानको धारा ३० को उपधारा (२) मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषणबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चित गरिएको छ ।

धारा ३० को उपधारा (३) मा राष्ट्रको विकाससम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यस धाराले बाधा पुर्‍याएको मानिने छैन भनी उल्लेख छ ।

‘सरकारले आफैंले पनि सडक निमार्णको कार्य गरिहेको छ । यसलाई तत्काल रोक्नुपर्छ । केही दिनका इँटाभट्टा उद्योग बन्द गर्नुपर्छ,’ शर्माले थपे, ‘ हाल वायु प्रदूषणसूचकांक ३ सयभन्दा पुगेको छ । त्यसलाई कम्तीमा पनि १५० मा झार्नुपर्छ ।’

प्रदूषण अस्वस्थकर तहमा उक्लिइसक्दा पनि सरकारले ‘प्रदूषण हुने काम नगर्नू’ भन्ने विज्ञप्ति निकालेर बस्नु दिक्कलाग्दो भएको शर्मा बताउँछन् ।

धेरै प्रदूषण गराउने ठूला सवारी आवागमन रोक्ने, जोर–बिजोर लागू गर्ने, केही दिनका लागि घरमै काम गर्नका लगायतका काम गर्नुपर्ने शर्माको सुझाव छ ।

वायु प्रदूषणका स्रोतका रूपमा रहेका कृषि अवशेष, फोहोर बाल्न नियन्त्रण गर्ने तथा डढेलो न्यूनीकरण गर्ने, जनचेतना बढाएर प्रदूषणका स्रोतलाई घटाउनुपर्ने काम आवश्यक भएको डा. दासको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालयले ८ माघ २०७४ माघमा काठमाडौं उपत्यकाको वायु प्रदूषण घटाउन इँटा उद्योगबाट निस्किने धुवाँ र चिम्नीको उचाइ सम्बन्धी मापदण्ड अघि सारेको थियो ।

तर कति इँटा उद्योगले मापदण्ड अनुसार चिम्नीबाट निस्किने धुलोको कणको मात्रा पालन गर्छन् कि गदैनन् भनेर  अनुगमन समेत गरेको छैन ।

‘अहिले फोहोर, कृषिजन्य अवशेष बाल्ने क्रम भइरहेको छ । त्यस्तो कामलाई पूर्णरूपले बन्द गर्नुपर्छ,’ डा. दास भन्छन्, ‘ वायु प्रदूषण बढाउने इँटाभट्टादेखि पुराना गाडीको अनुमन गरेर मापदण्डभन्दा बढी भए कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

डा. दासले अगाडि थपे, ‘प्रदूषण न्यूनीकरण गर्नका लागि विस्तृत कार्ययोजनाको आवश्यक छ । नियन्त्रणका लागि सरकार मात्र होइन, निजी क्षेत्र, समुदाय साथै आम नागरिकको जनचेतनासँगै समन्वयको आवश्यकता छ ।’

अस्पतालमा बिरामीको घुइँचो

त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ निरज बमका अनुसार पछिल्ला दिनमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी अत्यधिक बढेका छन् ।

उनका अनुसार बहिरंग सेवामा दैनिक सेवा लिन आउने बिरामीमध्ये आधाभन्दा बढी वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुगेका छन् ।

‘पछिल्लो एक हप्तादेखि आकस्मिक कक्षमा श्वासप्रश्वास समस्या लिएर धेरै बिरामी भर्ना भएका छन्,’ डा. बमले भने, ‘निमोनिया, छातीमा पानी जमेको, श्वासप्रश्वासमा समस्याका बिरामी क्षमताभन्दा बढी भर्ना भइसके ।’

डा. बमका अनुसार दैनिक ओपीडीमा भाइरल ज्वरो, रुघाखोकी, श्वासनली सुख्खा भएका, छाती घ्यारघ्यार भएका बिरामी ३ सयभन्दा बढी आइपुगेका छन् ।

वायु प्रदूषण सम्बन्ध कारणबाट औसतमा प्रत्येक दिन नेपालमा १३१ जनाको मृत्यु भइरहेको छ ।

‘वायु प्रदूषण साइलेन्ट किलर हो । तत्कालको असर केही दिनलाई होला, तर दीर्घकालीन असरले मृत्युदर नै बढाइरहेको छ,’ डा. बम भन्छन्, ‘सरकारले तत्काल प्रदूषण न्यूनीकरणलाई दीर्घकालीन योजनामा गम्भीर हुन जरूरी छ ।’

वायु प्रदूषण नियन्त्रण गर्न निकाय बीच पनि अलमल रहेको वातावरणविद् तुलाधार बताउँछन् ।

‘ सरकारले प्रदूषण नियन्त्रणका लागि कार्ययोजना बनाउन सकेको छैन । स्थानीय स्तरमा नगरपालिका वायुप्रदूषण प्राथमिकतामै राखेनन्, ‘ तुलाधारले भन्छन्, ‘ प्रदूषण नियन्त्रण बलियो निकाय छैन, कानुन छैन, जसले वषेपिच्छे नागरिक दीर्घकालीन असर भोगिरहेका छन् ।’

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भने यो साता नै वर्षाको सम्भावना रहे पनि मौसम धुम्म नै रहने बताइन् ।

‘बिहीबारदेखि हल्का हावा चल्ने सम्भवना छ । तर प्रदूषण हटाउने किसिमको हावा चल्दैन’, उनले भने, ‘पानी भने अर्को साता पर्ने सम्भवना पनि देखिन्छ ।’

तर माहाशाखाले पूर्वानुमान मात्र गर्ने भएकाले लामो समयमा पूर्वानुमान नमिल्न पनि सक्ने जनाएको छ ।

किन धुम्मिरहेको छ काठमाडौं उपत्यका ?

काठमाडौंमा वायु प्रदूषण अचानक बढेको होइन । प्रदूषणका कणहरू एक/दुई दिनयता आकाशमा जम्मा भएका पनि होइनन् । काठमाडौंको हावामा जंगलमा लागेको डढेलोको धुवाँ पनि मिसिइरहेको छ ।

काठमाडौंको आकाश पनि छ्याङ्ङ नखुलेको हप्ता दिन भइसक्यो । खासगरी बर्खेझरी रोकिएपछि हिउँदमा पानी नै परेन ।

‘उपत्यकाको उत्तर र दक्षिणका वनजंगलमा लागेको डढेलो र उपत्यकाबाहिरबाट आएको प्रदूषित हावा जमेर बस्दा खतरा तह पार गरेको छ,’ डढेलो विज्ञ शर्मा भन्छन्, ‘ प्रदूषणका केहीमात्राहरू त वर्षौंदेखि हावामा मिसिइरहेको छ । अहिले त त्यसले एउटा बिन्दु पारमात्रै गरेको हो ।’

विज्ञका अनुसार हावामा प्रदूषणको मात्रा त पहिलादेखि नै अस्वस्थकर नै छ । हप्तादिन यता प्रदूषणको भार बढिरहेको काठमाडौंको हावामा जंगलमा पुत्ताइरहेको धुवाँ अलि बक्लोगरी धुम्मिरहेको छ ।

सरकार निकायले बेलैमा ध्यान नपुर्‍याउँदा वायु प्रदूषण खतराको बिन्दुसम्म पुगेको विज्ञ बताउँछन् ।

‘उपत्यकाको उत्तर र दक्षिणका वनजंगलमा लागेको डढेलो र उपत्यकाबाहिरबाट आएको प्रदूषित हावा जमेर बस्दा खतरा तह पार गरेको छ,’ डढेलो विज्ञ शर्मा भन्छन्, ‘ प्रदूषणका केहीमात्राहरू त वर्षौंदेखि हावामा मिसिइरहेको छ । अहिले त त्यसले एउटा बिन्दु पारमात्रै गरेको हो ।’

अहिले काठमाडौं उपत्याका लगायतका ठूला शहरमा हावा नचल्दा र पानी नपर्दा प्रदूषित विखालु हावा सतहमा तैरिएर बसेका छन् ।

विज्ञका अनुसार जबसम्म झरी दर्केर पर्दैन, हावी चल्दैन, त्योबेलासम्म यस्तै हुनेछ । त्यसका लागि त मध्य मनसुन नै कुर्नुपर्छ ।

काठमाडौँ त कचौराजस्तो छ । खासगरी काठमाडौंको पश्चिमी ढोका नागढुंगाको वनपाखा हुँदै छिरेको धुवाँ धुलोसहितको हावा नागार्जुन, साँगा हुँदै बाहिरने गर्छ । तर अहिले धुवाँ र धुलोको कण सतहमा माथि जान सकेको छैन ।

वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले पोखरादेखि पूर्वी नेपालसम्मका वनजंगलमा धेरै डढेलो बढेको बताए ।

‘तीन दिनयता काठमाडौंमा अत्यधिक वायु प्रदूषण भइरहेको छ । चितवन, हेटौंडा र चुरेको जंगलमा लागेको डढेलो काठमाडौंको आकाशमा छ,’ लामिछानेले अनलाइनखबरसँग भने, ‘ चैत, वैशाख डढेलो सिजन हो । पानी नपर्दा, हावाको वेग बढि नहुँदासम्म यस्तै हुन्छ ।’

लामिछानेले थपे, ‘यो प्रदूषण बागमती करिडोरबाट काठमाडौं प्रवेश गरेकाले काठमाडौंमा अहिले तुवाँलोको समस्या छ । हावा पनि एकदम कम चलिरहेको छ । प्रदूषण घटाउन ठुलो प्रकारको मौसमी चक्र आउनुपर्छ ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?