
२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश दिएको थियो ।
राति ९ बजेतिर उनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली हात्तीगौंडास्थित सिजी हिल्समा पुगेको थियो । प्रहरी टोली पुग्दा लामिछाने आफ्नो कोठामा बसिरहेका थिए ।
उनलाई थुनामा पठाउने आदेश आएको थाहा पाएलगत्तै रास्वपाका उपसभापति डिपी अर्याल, सांसद् शिशिर खनाल, गणेश पराजुली, नेता प्रणय राना, विपिन आचार्य लगायत पनि त्यहाँ पुगिसकेका थिए ।
लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट, डीएसपी अनिल घिमिरे लगायतले लामिछानेलाई अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरुसँगै जान भनेका थिए । त्यहाँ पक्राउ पूर्जीको विषयलाई लिएर केही बेर वादविवाद भयो । पछि प्रहरीले जरुरी पक्राउ पूर्जी दिएर उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याएको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए । सरकारी वकिलको कार्यालय समेत धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत गएको थियो । यही प्रकरणका आरोपित पूर्वडीआईजी छविलाल जोशीले समेत जिल्लाको आदेशविरुद्ध निवेदन दिएका थिए ।
अदालतले तीन वटै निवेदन एउटैमा राखेर सुनुवाइ गरेको थियो । त्यसक्रममा उच्च अदालतका न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले शुक्रबार त्यो आदेश बदर गर्नुपर्ने ठहर गरेको थियो । सुप्रिम सहकारीबाट ऋण प्रवाह हुँदा रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए । पदमा रहेको अवस्थामा उनले सहकारीबाट ऋण लिएको बारे आफूलाई केही थाहा नभएको जिकिर गरेका थिए । तर, उच्च अदालतले उनको बयान ‘पत्यारलाग्दो नदेखिएको’ भनेको छ ।
लामिछाने गोर्खा मिडियामा कार्यरत रहँदा गोर्खा मिडियाले ४० लाख ९२ हजार रुपैयाँ ग्लोबल आईएमई बैंकमा रहेको सुप्रिम सहकारीको खातामा फिर्ता गरेको थियो । यसरी किस्ता तिरेको विवरण समेत थाहै नभएको मान्न नसकिने अदालतले भनेको छ ।
यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट २५ पुसमा ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए भने काठमाडौंका स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
चितवनमा २४ माघमा जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी मागेको थियो ।
पक्राउ गर्न प्रहरी पुगेपछि लामिछानेले रास्वपाको फेसबुकमार्फत लाइभ गरेर भिडियो सन्देश जारी गरेका थिए । त्यसमा उनले भनेका छन्ः
आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरू,
मेरो घरमा प्रहरी आएको छ। मैले समाचारबाट उच्च अदालतको आदेशबारे त थाहा त पाएँ। तर, बिना कुनै कारण अहिले यतिखेर केही पूर्जी पनि दिइएको छैन । कागज पनि दिइएको छैन।
मेरो घरभित्र आएर बेडरूमभित्र आउनु भएको छ । मैले सार्वजनिक पनि गरिसकेको छु। उताबाट आदेश हुनुभन्दा पहिले यसरी प्रहरी तैनाथ हुनु। यो सबैचीजले एउटा ठूलो आशंका सृजना गरेको छ ।
मैले सम्मानित अदालतको आदेशलाई सही मानेकै छु। कानुनलाई मानेकै छु । म आफै पनि उपस्थित हुन गएको छु । अहिले पनि सार्वजनिक गरेकै छु। तर यो राज्य आतंक ।
यो धरपक्कड ममाथि के कारणले भइरेको छ ? मैले बुझ्न सकेको छैन । भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनुहोला । मलाई लागेको थियो केही कुरा भन्छु भनेर। तर, सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती बिना कागजपत्र प्रहरीले आतंक सृजना गर्यो ।
मलाई आतंकित बनाएको छ । मेरा लागि कुनै पक्रिया पूरा गर्न मानेको छैन। मेरो घरभित्र प्रहरी छिरेको छ । मैले यसरी नै गिरफ्तारी दिन्छु भनेको हुँ ।
जे होस् आम नागरिकले सब चिज हेरिरहेको छ भन्ने मलाई विश्वास छ । न्यायको लडाइँ म एक थोपा रगत रहुञ्जेल लडिरहन्छु। मैले कुनै गल्ती गरेको पनि छैन। कुनै पनि अपराध गरेको छैन। तर मलाई संसारकै सबैभन्दा ठूलो अपराधीले जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने मैले विश्वास लिएको छु। म धेरै केही पनि भन्दिन ।
म सम्मानित अदालतप्रति आशा र भरोसा राखेर कानुनी प्रक्रियामा सघाउनका लागि लागि परेको छु । यो दुनियाँका जति पनि न्यायलयका ढोकाहरू छन् । ती सबै ढोका ढक्ढक्याउँछु। मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि मतपत्रमा घण्टी चुनाव चिह्न रहनेछ। यसैलाई आशा र भरोसाको आवाज बुलन्द गरिरहनु होला ।
म कानुनी लडाइँमा छु । नमस्ते ।
प्रतिक्रिया 4