+
+
Shares
फिल्म :

मान्छेको मूल्य 

लडाइँ नदेखाएर पनि सानो क्यानभास र थोरै पात्र रहेको डेढ घण्टाको फिल्मले युद्धका अनेक आयामलाई छोएको छ। ‘ट्याङ्गरिन्स’ केवल युद्धको कथा मात्र नभएर युद्धमा मानवताको खोजी गर्ने उत्कृष्ट फिल्म हो। युद्धमा दुश्मन हुँदैनन्, केवल पीडितहरू मात्र हुन्छन् भन्ने फिल्मले देखाएको छ। 

ऋतेश ऋतेश
२०८१ चैत २३ गते २०:०४

अहिले नेपालको राजनीतिक अवस्था अस्थिर छ। सन् २००८ यता देशमा १३ पटकसम्म सरकार परिवर्तन भइसकेको छ, जसले स्थिरताको अभाव स्पष्टसँग देखाएको छ। बारम्बार सरकार परिवर्तन, भ्रष्टाचार, आर्थिक संकट, बेरोजगारी र राजनीतिक दलहरू बीचको टकरावले गर्दा आम-जनताको असन्तुष्टि र अविश्वास बिस्तारै बढ्दै गइरहेको छ। त्यसैबाट प्रेरित राजावादी समूहले केही दिनअघि राजतन्त्र पुनर्स्थापनाको माग गर्दै तीनकुनेमा प्रदर्शन गरे। सत्ता र राजावादी बीच भएको झडपमा केहीले आफ्नो ज्यान गुमाउन पुगे, थुप्रै घाइते भए, सुपरमार्केटबाट सामानहरू लुटिए, घर-गाडी जलाइए।

पक्षधरका निमित्त मर्ने र घाइते हुनेहरू त्याग तथा बलिदानको संज्ञा मात्र भए पनि उनीहरूको परिवारले भोग्नु परेको दुर्दशा कसैले कल्पना पनि गर्न सक्दैनन्। इतिहास हेर्ने हो भने, युद्धमा कसैको पनि पक्ष लिएर नलड्नेहरूले सबैभन्दा धेरै पीडा खेप्नु परेको छ। त्यसैले रणमैदानमा लड्नेहरूको दु:ख भन्दा ज्यादा दु:ख उनीहरूको प्रतीक्षामा बसेका मान्छेहरूले पाउने गर्छन्। मर्नेहरू मरेर जान्छन्, जीवित हुनेहरू पटक–पटक मर्न बाध्य हुन्छन्।

केही समयअघि मात्र निर्देशक जाजा उरुशाद्जेको इस्टोनियाली-जर्जियाली फिल्म ‘ट्याङ्गरिन्स’ हेरेको थिएँ, जसले ती मान्छेहरूको कथालाई बताउँछ, जसका घर, खेत, बगैंचा नै युद्धभूमिमा परिणत भइदिन्छन्। ८७औं एकेडेमी अवार्डस् र ७२औं गोल्डेन ग्लोब अवार्डस्‌मा सर्वश्रेष्ठ विदेशी भाषाको फिल्मका लागि मनोनीत ‘ट्याङ्गरिन्स’ १९९२-१९९३ को अभखाजियाको युद्धको मैदानमा कोरिएको छ। फिल्म हेरिरहँदा मलाई कता-कता आफ्नै देशभित्र चलिरहेको आन्तरिक युद्ध याद आएको थियो, जसको प्रभाव-असर हामी आम-जनताले सहनु परिरहेको छ।

अभखाजियाको युद्ध सन् १९९२ अगस्ट १४ मा सुरु भई सन् १९९३ सेप्टेम्बर २७ मा समाप्त भएको थियो। उक्त युद्ध जर्जियाली सरकार र अभखाजिया समूहहरू बीच भएको थियो, जसलाई रूस समर्थित समूहहरूले पनि सहयोग गरेका थिए। सोभियत संघको समयमा अभखाजिया जर्जियाको एक स्वायत्त गणराज्य थियो। अभखाजियामा जर्जियनहरूको बाहुल्य थियो भने अभखाजियालीहरू अल्पसंख्यक थिए। जब सोभियत संघ टुक्रियो, अल्पसंख्यक अभखाजियालीहरूले आफ्नो छुट्टै पहिचान खोज्न थाले। उनीहरू जर्जियाको नियन्त्रणमा बस्न चाहेनन्, उनीहरू स्वतन्त्र हुन चाहन्थे। तर, जर्जिया राष्ट्रिय एकता चाहन्थ्यो। त्यहींबाट दुई पक्षबीच युद्धको आगो सल्कियो।

‘ट्याङ्गरिन्स’को कथा त्यही युद्धबीच अभखाजियास्थित इस्टोनियन समुदायको एक ग्रामीण गाउँमा बगेको छ। इस्टोनियन समुदाय धेरै वर्षदेखि जर्जियाको अभखाजिया क्षेत्रमा बस्दै आइरहेका थिए, तर उनीहरू युद्धमा भने निष्पक्ष भएर बसे। युद्ध शुरू भएपछि धरैजसो इस्टोनियनहरू आफ्नो देश फर्किए, तर ‘इवो’जस्ता केही पात्रहरू भने आफ्ना घर छोड्न चाहँदैनन्। इवोको छिमेकी साथी ‘मार्गुस’ पनि त्यहीं छन्, जसले आफ्नै बगैंचामा फलेका सुन्तलाहरूलाई टिपेपछि मात्र इस्टोनिया जाने योजना बनाएका छन्। उनलाई इवोले सहयोग गरिरहेका छन्। यसरी युद्धको समयमा दुई साथी एउटा सुदूर गाउँको किनारमा बगैंचामा भएका सुन्तलाहरूलाई बजारसम्म पुर्‍याउन चाहन्छन्।

फिल्ममा कुनै पनि महिला पात्र देखिंदैन, तर इवोको नातिनीको फोटो फिल्मभरि देखाइरहन्छ, जसले पुरुषहरू लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहेका छन् भन्ने संकेत देखाउँछ

तर, एक दिन युद्ध डढेलो झैं सल्किंदै उनीहरूको बगैंचासम्म आइपुग्छ। जर्जियन र अभखाजियालीहरूको पक्षबाट लडिरहेका रूसका चेचेन लडाकुहरू एकआपसमा लड्दै त्यहाँ आइपुग्छन्। लडाइँको क्रममा दुई लडाकु बाहेक सबै मर्छन्। एउटा जर्जियन र अर्को चेचेन लडाकु बाँच्छ। ती दुई घाइते लडाकुहरूलाई इवोले आफ्नो घरमा ल्याएर उपचार गर्न थाल्छन्। यसरी एउटै छतमुनि दुई दुश्मनलाई उनी बचाउन लागिपर्छन्। दुवैले आफू स्वस्थ भइसकेपछि एकअर्काको हत्या गर्ने प्रतीज्ञा लिन्छन्, तर इवोले उनीहरूलाई एकअर्कासँग बदला नलिने वाचा गर्न लगाउँछन्। यसरी उनको नैतिक प्रभावले दुई लडाकुबीच शत्रुता कम हुँदै जान्छ, बिस्तारै उनीहरूले एकअर्काप्रति इज्जत र मानवता देखाउन थाल्छन्। त्यही समयमा चेचेन लडाकुहरू त्यहाँ आइपुग्छन्, उनीहरूले इवोको शरणमा रहेका दुई दुश्मन लडाकुहरूलाई चिन्न अस्वीकार गर्छन्।

दुई हप्तामा लेखेर पाँच हप्तामा सुटिङ गरेर सकेको फिल्म ‘ट्याङ्गरिन्स’ले न्यायसंगत र शान्तिवादी दृष्टिकोणबाट युद्धको कथालाई हामीमाझ प्रस्तुत गरेको छ। फिल्मले सिधै युद्ध देखाउँदैन, तर युद्धको परिधिमा परेका निर्दोष व्यक्तिहरूको कथालाई बयान गरेको छ। निर्देशकले हामीलाई युद्ध महसुस गराउन सफल भएका छन्, उनले युद्धलाई देखेको, भोगेको हरेक पात्रहरूको मनोदशालाई राम्रोसँग केलाएका छन्। इवो शान्ति र नैतिकवादी पात्र भएर उभिएको छ, जसले युद्धको समयमा पनि न्याय र करुणा देखाउँछ। उनको पात्रले हामीलाई युद्धभन्दा माथि उठ्न प्रेरणा दिएको छ। युद्धको कठोरताबाट गुज्रिरहेका दुई लडाकुहरू भित्रका भावनाहरू बिस्तारै पग्लिदै जान्छन्। मानवीयता र मित्रताको वास्तविक महत्त्व बुझेपछि युद्ध कति तुच्छ लाग्छ, त्यो उनीहरूले अनुभव गर्न थाल्छन्। सुन्तलालाई बजारसम्म पुर्‍याएर आफ्नो घर फर्किने सपना बुनेको निर्दोष मार्गुस भने मारिन पुग्छ।

युद्धमा जहिल्यै सर्वसाधारण जनता नै पीडित हुने गर्छन्, अभखाजियाको त्यस युद्धमा जर्जियाली पक्षका १० हजारदेखि १५ हजार सैनिक र नागरिकको मृत्यु भएको थियो। अभखाजियाली पक्षका ३ हजारदेखि ४ हजार अभखाजियाली लडाकुहरू मारिएका थिए। आम नागरिक करिब ४ हजारदेखि ८ हजार मारिएका थिए। युद्धपश्चात् जर्जियनहरूलाई अभखाजियाबाट विस्थापित गरियो, लगभग २ लाख ५० हजार जर्जियन शरणार्थी बन्न पुगे। यसरी कैयौं निर्दोष मान्छेहरू मारिए, लाखौं शरणार्थी बन्न बाध्य भए। अभखाजियाले आफूलाई स्वतन्त्र घोषणा गर्‍यो, तर अन्तर्राष्ट्रिय समुदायले भने अभखाजियालाई स्वतन्त्र देशका रूपमा पहिचान गरेको छैन। आजसम्म पनि यो विवाद समाधान भएको छैन। जर्जिया अझै पनि अभखाजियालाई आफ्नो क्षेत्र मान्छ, तर अभखाजिया आफूलाई स्वतन्त्र भन्छ।

फिल्म ‘ट्याङ्गरिन्स’मा निर्देशकले विभिन्न बिम्ब तथा संकेतहरू प्रयोग गरी युद्ध, शान्ति, मानवता र नैतिकताको गहिरो सन्देश दिएका छन्। फिल्मको सबैभन्दा महत्वपूर्ण बिम्ब हो, सुन्तला। युद्धको बीचमा पनि सुन्तलाको खेती चलिरहेको छ, जसले जीवनलाई संकेत गरेको देखिन्छ। जसरी निर्दोष मान्छेहरूको जीवन युद्धले नष्ट गरेको छ, त्यसरी नै युद्धका कारण मार्गुसले बेच्न खोजेका सुन्तलाहरू खेर जान्छन्। तर, त्यो समयमा पनि सुन्तलाको बजार र मूल्य छ, मानव जीवनको छैन, यो फिल्मले बुझाएको एउटा विडम्बनापूर्ण सन्देश हो। सुन्तलाका बगैंचाहरू केवल फलफूल उत्पादन गर्ने ठाउँ मात्र नभएर पात्रहरूको जीवन र अस्तित्वको प्रतीक पनि बनेका छन्। युद्धको समयमा पनि पात्रहरूले आफ्नो कामलाई धर्म मानेर निरन्तरता दिन्छन्, जुन उनीहरूको भूमि र पहिचानप्रतिको मायालाई दर्शाएको छ। फिल्ममा संवाद एकदमै कम छ, बरू दृश्यभाषा र मौनता मार्फत गहिरो भावनाहरू प्रस्तुत भएको छ। हामी ती गाढा मौनतामा अर्थ भर्न सजिलै सक्छौं। दृश्यशैली सरल र प्राकृतिक लाग्छ, जसले युद्धको भयावहता र जीवनको सौन्दर्यलाई सन्तुलित रूपमा देखाउने कोसिस गरेको छ।

इवोको घर फिल्ममा शान्तिको प्रतीक भएर उभिएको छ, जहाँ दुई दुश्मन लडाकुहरूले करुणा र मानवताको पाठ सिक्छन्। उनीहरूभित्रबाट युद्धले सिर्जना गरेको घृणा बिस्तारै सकिंदै जान्छन्। फिल्ममा कुनै पनि महिला पात्र देखिंदैन, तर इवोको नातिनीको फोटो फिल्मभरि देखाइरहन्छ, जसले पुरुषहरू लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहेका छन् भन्ने संकेत देखाउँछ। फिल्मको अन्त्यतिर इवोले एक लडाकुलाई आफ्नो छोराको चिहान नजिकै गाडिदिन्छ, जसले गहिरोसँग बुझाएको छ, युद्धले जातीय वा राजनीतिक मतभेदलाई पनि अर्थहीन बनाउँछ। युद्धले मान्छेलाई बाँड्छ, तर मानवता र करुणाले उनीहरूलाई जोड्ने काम गर्छ।

लडाइँ नदेखाएर पनि सानो क्यानभास र थोरै पात्र रहेको डेढ घण्टाको फिल्मले युद्धका अनेक आयामलाई छोएको छ। ‘ट्याङ्गरिन्स’ केवल युद्धको कथा मात्र नभएर युद्धमा मानवताको खोजी गर्ने उत्कृष्ट फिल्म हो। युद्धमा दुश्मन भन्ने कोही हुँदैनन्, त्यहाँ केवल पीडितहरू मात्र हुन्छन् भन्ने फिल्मले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?