+
+
Shares

बूढीगण्डकीको तीरैतीर

शिशिर योगी ओझेल परे । अब नारायण दाइ गुन्जिरहेका छन्, ‘केही मिठो बात गर’ । दीपा मिठो कुरा गरिरहेकी छिन् । माया पिरतीका होइन; सभ्यताका, विकासका, समृद्धिका ।

विष्णुप्रसाद आचार्य विष्णुप्रसाद आचार्य
२०८१ चैत २३ गते २०:०१

जीवन यात्राको भँगालो न हो । यो उसैगरी पलाउँछ, जसरी पलाउन र फैलिनका लागि जन्मेको होस् । जति यात्रा भयो उति मिठा सम्भावना र कल्पनाको तरानामा तरङ्गिन पाइने । योजना बुन्न, सपना देख्न सम्भावनाको खेती गर्न पनि त सकिन्छ ।

यात्रा अन्तरलोकको होस् वा भौतिक, यसले गन्तव्यसम्मको उज्यालो गोरेटो मार्गनिर्देश गर्छ । यही विश्वासमा म नजिक, टाढा जता भए पनि भौंतारिइरहन्छु ।

०००

गाडीबाट ओर्लन नपाउँदै दीपा हामीलाई स्वागत गर्न आइपुगिन् ।

‘नमस्कार, म दीपा कुमाल । यहाँहरूलाई धादिङबेसीमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छु । आज दिनभरि हामी सँगै हुनेछौं । तपाइँहरूलाई यो क्षेत्रको भ्रमण गराउन पाउनु मेरो सौभाग्य हो ।’

स्वागतका लागि गरिएका शब्द चयनले यिनी प्रोफेसनल गाइड हुने तयारीमा छिन् भनेर मैले अन्दाज गरें ।

हामी करिब पाँच मिनेट अत्यन्तै सफा सडकको किनारै–किनार पैदल हिंड्यौं । पाँच मिनेट हिंडुन्जेलसम्म पनि सडकमा एउटा फोहोरको टुक्रा थिएन, वरिपरि गमलामा रंगीचंगी फूल रोपिएका । पौवा, विश्रामस्थलमा गफ गरिरहेका मानिसहरू ।

हामी लिफ्टबाट एउटा टावरको बीच तलाको कफी हाउसमा प्रवेश गर्‍यौं । यो टावरको नाम अर्गानिक टावर रहेछ । यहाँको सबै तलामा केवल अर्गानिक फुड मात्र बेचिने भएकोले यसको नाम अर्गानिक टावर राखिएको रे ! यहाँ धादिङको रुबी भ्याली, दार्खा, खनियाबासमा उत्पादन भएका चिया, कफी, कोदो, फापर, कागुनो, स्थानीय आलु, जौ, सिमी, बेनिघाटमा उत्पादित चिउरी, रुदिलोको मह लगायत जिल्लाका अन्य भेगबाट उत्पादन भएका स्थानीय परिकार थिए ।

भवनसँगै जोडिएको अमरावती सामुदायिक वनबाट चराको मधुर आवाज लगातार आइरहेको थियो । आकाश हेरें, नीलो र सफा थियो । मैले तलतिर हेरें, थोपल खोलामा बाँध बाँधेर बनाइएको सानो पुलबाट गाडी र मानिस आवतजावत गरिरहेका थिए । बाँधले बनेको सानो तालमा सेता हाँसका जोडी चुच्चो मिलाउँदै पौडिरहेका थिए । तलाउको पानी सफा राख्न यहाँको पालिका, टोल विकास संस्था र स्थानीय जनताले निकै मिहिनेत गरेका थिए । वरिपरि गाढा हरियो, दुबो र फूलको सुरम्य ।

हामी धादिङबेसीको सुन्दर बजारमा थियौं, यसको साबिकको नाम पुछार बजार हो । धादिङका तीन चर्चित बजार पुछार बजार, बीच बजार र सिरान बजार मध्येको एक । हामीले रुबी भ्यालीमा उत्पादित कफीसँगै मकै, भटमास, सिस्नो र उसिनेको आलु लियौं । यो नाममात्रको अर्गानिक होइन, साँच्चिकै अर्गानिक थियो । घरमा केटाकेटीलाई पनि हुने र बाटोमा आफूलाई पनि हुन्छ भनेर याकको चिज र छुर्पी लिएँ ।

तलबाट गुरुजीले फोन गरे । मलाई यो ठाउँ छाड्न मनै थिएन तर जीवनको सिद्धान्तले यसो भन्दैन । आज हाम्रो गन्तव्य अन्यत्र नै थियो तसर्थ जानै थियो, गयौं ।

दीपा अघिल्लो सिटमा छिन् । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङमा इको टुरिजममा मास्टरको पढाइ सकेर इन्टर्न गरिरहेकी उनी आजको हाम्रो गाइड ।

गाडीमा उनी र ड्राइभर बाहेक हामी पाँच जना छौं । दीपा गाइडको धर्म निभाउँदै छिन् ।

हामी नेपालको सबैभन्दा ठूलो र महत्वाकांक्षी बूढीगण्डकी जलविद्युत् परियोजनाको जलाशय घुम्न जाँदै थियौं । दीपाले स्मरण गरिन्, बूढीगण्डकीको कथा गजबको छ । हामीलाई सुन्दा र सम्झिंदा पनि अचम्म लागेर आउँछ । बूढीगण्डकीको परियोजना सफल होला र यो क्षेत्रको यस्तो कायापलट होला भनेर कल्पना पनि गरेका थिएनौं ।

उनी खुल्दै गइन्– म होइन, मेरा बाबा जन्मनु अगाडि नै यसको सम्भावना बारेमा अध्ययन भएको रहेछ । यो कथा पानीको फोका जस्तै आउने–जाने भइरह्यो । म सानै थिएँ, बाबाहरूको कुरा सुन्थें, यो चुनावी नारा मात्र हो भनेर । हुन पनि यस्तै थियो । बीचमा अनेक राजनीतिक उल्झन भए, ठेक्काको बारेमा सरकार फेरिएसँगै फरक निर्णय, क्षतिपूर्ति समस्या, एक होइन अनेक समस्या, बिचौलिया र दलालीको त कुरै गर्न परेन । हामी निराश भयौं, अब हुँदैन भनेर ।

गाडीमा डा. विश्वनाथको ‘छाडेर काम सारा, एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु’ बजिरहेको छ । म घरी दीपाको कुरा सुनिरहेको छु, घरी शिशिर योगीको स्वर सुन्दैछु ।

दीपाले ड्राइभरलाई गीतको भोलुम बढाउन आग्रह गरिन्, एक छिन चुप रहिन् र भनिन्– शायद अब उज्यालोको समय आयो । संसारमा एक दिन सबैको पालो आउँछ भन्थे हो रहेछ । देशमा स्थिर सरकार र राजनीतिक स्वप्नद्रष्टाको आवश्यकता थियो, त्यो पूरा भएसँगै फेरि नयाँ शिराबाट बूढीगण्डकीको काम शुरू भयो । यत्रो परियोजना मुआब्जाको क्षतिपूर्ति र डीपीआरमा भएको सरकारी लगानी बाहेक सबै नेपाली जनताको सेयरबाट बनेको हो । यहाँ सरकारले सहजीकरण मात्र गरिदिएको हो । न एक रुपैयाँ विदेशबाट आयो, न कुनै देशसँग हात पसार्नु पर्‍यो, न ऋण, न अनुदान । प्रविधि समेत हाम्रो आफ्नै । यसले थप के पनि प्रमाणित गरिदियो भने, राज्यमा लगानी प्रमुख कुरा होइन रहेछ, सरकारी विश्वास र नेतृत्वको सुझबुझ रहेछ ।

शिशिर योगी ओझेल परे । अब नारायण दाइ गुन्जिरहेका छन्, ‘केही मिठो बात गर’ । दीपा मिठो कुरा गरिरहेकी छिन् । माया पिरतीका होइन; सभ्यताका, विकासका, समृद्धिका ।

दीपा सुनाइरहेकी छिन्, कसरी ६०० मेगावाट, त्यसपछि १,२०० मेगावाट हुँदै अहिले २,००० मेगावाटको यो जलविद्युत् आयोजना बन्यो भनेर । यो परियोजनाबाट विद्युत् उत्पादन हुनासाथ देशको कायापलट गर्न ठूलो भूमिका रह्यो । यसको सफलतासँग देशका धेरै जलविद्युत्मा जनताको ठूलो लगानी भयो र अन्यत्र पनि यसलाई मोडल मानेर काम हुन थाल्यो । यसबाट लोडसेडिङको त हिसाबै भएन, घरघरमा खाना पकाउने ग्याँस र गाडीमा पनि विद्युत्को उपयोग हुन थाल्यो । यसले ग्याँस र इन्धनमा लाग्ने खर्च घट्यो । औद्योगिक लगानीको लागि बाह्य देशका उद्योगी आउन थाले र हामी भारत र बंगलादेशलाई विद्युत् निर्यात गर्ने अवस्थामा आइपुग्यौं । पहिलो पटक हामी अब बिजुलीको माध्यमबाट नै आयातभन्दा निर्यात बढी हुने र विदेशी मुद्रा कमाउने अवस्थामा आइपुग्यौं ।

उनले लामो सास फेरिन् । नारायण दाइ गुन्जिरहेका छन् । एकपछि अर्को, हिमाल सरी म अग्लिरहेछु, शायद हामीलाई सुनाइरहेका छन् । हामी उनी मात्र होइन देश पनि अग्लिंदै गएको महसुस गरिरहेका छौं ।
अब हामी आयोजनाको मुख्य सुरक्षाद्वारमा प्रवेश गरेका छौं । यहाँ सयौं गाडी लामबद्ध थिए, हाम्रो गाडी पनि त्यहीं गएर उभियो । यहाँ सुरक्षा जाँचको काम हुन्छ । सबैले परिचयपत्र हातमा राख्नुस् भनिन् । हामीले त्यसै गर्‍यौं । एक छिनपछि एक सुरक्षा टोली आए र सामान्य सोधपुछ गरेपछि हामीलाई अगाडि जान दियो । वरिपरि अत्यन्त गजबका फूल फुलेका थिए । तल हरियो दुबो, त्यसमाथि गमलामा फूल अनि माथिल्लो खण्डमा झाडीदार फूल । अत्यन्त मनमोहक, ड्राइभरले गाडी यहाँबाट नै पार्किङमा राखे, हामी फूल, बगैंचा, झरना हेर्दै अगाडि बढ्यौं ।

टिकट अनलाइन नै बुक भएकोले हामी प्रवेशद्वार मार्फत ठूलो घरमा प्रवेश गर्‍यौं । त्यहाँ सयौं मान्छे उभिइरहेका थिए । हामी त्यहाँ भित्तामा भएका फोटो हेर्दै जानकारी लिदै थियौं । केही जानकारी नेपालीमा र केही अंग्रेजीमा । वरिपरि विदेशी पनि निकै थिए । विदेशीहरू नेपाल आउँदा राष्ट्रिय निकुन्ज, हिमाली क्षेत्र र पुरातात्विक सम्पदा हेर्न आउनेमा अब यस्ता जलाशय हेर्न र सिक्न आउन थाले । सबैले हेर्ने एजेन्डा, सभ्यता र विकास नै रहेछ ।

एकैछिनमा भित्तामा स्क्रिन चल्यो । हामीलाई जलाशयको हेर्ने मुख्य र निषेधित ठाउँ, यात्रुले पालन गर्नुपर्ने नियमको जानकारी दिइयो । करिब ५ मिनेटको भिडियोमा हामीलाई यो जलाशय कुलेखानीको जलाशयभन्दा २० गुणा ठूलो, यसको बाँध ३०० मिटरको उचाइ, एक किलोमिटर चौडाइ रहेको र यसले बूढीगण्डकी नदीमा ५५ किलोमिटर लम्बाइ र आँखु (नेत्रावती) मा २५ किलोमिटर लामो जलाशय निर्माण भएको जानकारी दिइयो । यसको मुख्य बाँध चाहिं बेनिघाट बजारभन्दा दुई किलोमिटर माथि रहेको र यो चाहिं सर्वसाधारणको लागि निषेधित क्षेत्र रहेछ । यो निर्माणको क्रममा करिब ५० हजार घरपरिवार विस्थापित भए र राज्यले त्यसको उचित क्षतिपूर्ति र मुआब्जा दियो । विस्थापित परिवारमध्ये आधा जति यतै वरिपरि केही पेशा गरेर बसेका र केही यो स्थान छाडेर अन्यत्र गएको जानकारी गरियो । दीपाले खुसुक्क हामीलाई भनिन्– हाम्रो परिवार पनि यिनै ५० हजार परिवारमध्येको एक हो ।

सरकारले यसलाई जलाशयको रूपमा मात्र विकास नगरी जैविक विविधता संरक्षणको हिसाबले पनि उत्कृष्ट गन्तव्य बनाएको रहेछ । पानीमा पाइने अन्य साना जनावरको अलावा सयौं थरीका रैथाने माछा पालन रहेको, स्वदेशीका अलावा ठूलो मात्रामा आगन्तुक चराले पनि वासस्थान बनाएकोले अध्ययन गर्न पनि वर्षको सयौं अनुसन्धानकर्ता आउने रहेछन् । वर्षेनि यहाँ स्वदेशी तथा विदेशी गरी १०औं लाखले भ्रमण गर्ने रहेछन्, जसले यहाँको आर्थिक समृद्धिमा ठूलो टेवा पुगेको रहेछ । हामी अवाक् रह्यौं, एउटा जलाशयको आर्थिक करामत देखेर ।

मैले हाम्रो बूढीगण्डकी परियोजना सम्झें । देशका अन्य जलविद्युत् आयोजना सम्झें । बूढीगण्डकीको लागि वर्षौंदेखि डिजल र पेट्रोलमा उठाएको कर सम्झें । अनि, मनमनै नमिठो हाँसें ।

अब हामी मोनोरेलतर्फ लाग्यौं । मोनोरेल लहर मिलाएर उभिएका थिए, एउटा भरिनासाथ हिंड्ने । मूल ड्याम पुग्नु अगाडि हामी एउटा गजबको स्थानमा प्रवेश गर्दै थियौं । यो थियो, प्रसिद्ध नरसिंह धाम । जलाशय बन्नु अगाडि नै यहाँ पौराणिक कथा बोकेको नरसिंह अवतारको मन्दिर थियो । धेरैलाई चिन्ता थियो, यहाँ जलाशय बनेपछि यो मन्दिर के हुन्छ ? सबैको स्वतः उत्तर हुन्थ्यो, अवश्य नै डुब्छ । तर यहाँको महन्थको फरक जवाफ थियो, यो स्थानमा जलाशय बन्नेछ तर मन्दिर डुब्न दिनेछैनौं । जलाशय भित्र नै सिसाको फ्रेमभित्र सिंगै मन्दिर राखिनेछ र संसारलाई देखाउने एउटा उपहार हुनेछ ।

युवा मठाधीशको कुरा सुनेर मानिसहरू मनमनै हाँस्थे र भन्थे ए हो र ? यस्तो पनि हुन्छ ? तर यस्तो पनि हुन्छ र भनी सधैं प्रश्न उठ्ने स्थानमा नै हामी प्रवेश गर्दै थियौं । मनमा उत्सुकता थियो, कताकता डर पनि । हामी मूल मन्दिरभन्दा वरैबाट सुरुङ खनेर निर्माण गरेको सिसाको महलमा छिरेका थियौं । केही हिंडेपछि सिसाको सुरुङभित्रको लिफ्टबाट मूल मन्दिरमा जाँदै थियौं । सिसाबाट स्पष्ट रूपमा माछा, कछुवा पौडिरहेका देखिन्थे, समुद्र नभएको देशमा समुद्रको झल्को थियो ।

यो स्थानमा महन्थको अद्भुत सपना थियो जुन साकार भएको थियो । हामी लिफ्टबाट अर्को बाटोहुँदै बाहिर निस्कियौं र मूल स्थलतर्फ लाग्यौं ।

हामी चढेको रेल एउटा खुला स्थानमा रोकियो । यो धादिङतर्फको सबैभन्दा ठूलो र आकर्षक त्रिपुरा पार्क थियो । त्रिपुरासुन्दरीको प्रसिद्ध मन्दिर जलाशयमा पर्ने भएपछि यहाँ ल्याएर स्थापना गरिएको थियो । यहाँ हजारौं मान्छे थिए । जलाशय निर्माणको क्रममा भेटिएको अजंगको ढुङ्गोलाई स्थापित गरिएको थियो र जलाशयको माइलस्टोन भनी लेखिएको थियो । यहाँ आउने सबै जसोले यही ढुंगालाई आधार मानेर फोटो खिचाउने रहेछन् । वरिपरि सुन्दर बगैंचा, कृत्रिम झरनाबाट पानी झरिरहेको, युवायुवतीदेखि बुढाबुढीसम्म फोटो खिच्न, खिचाउन, भिडिओ बनाउन व्यस्त ।

म अलमलमा परें, यो मेला–महोत्सव हो कि जलाशय क्षेत्र ?

गोरखा र धादिङको सिमानामा रहेको यो जलाशयमा हामी अहिले धादिङको भागमा छौं । पार्कको माथितिर विभिन्न होमस्टे छन् । यीमध्ये अधिकांश कुमाल, गुरुङ, मगर, तामाङले सञ्चालन गरेका, देख्दै बसौं–बसौं लाग्ने सफा अनि चिटिक्क मिलेका बस्ती । जातीयता झल्कने गाउँपिच्छे साना म्युजियम, प्रत्येक गाउँमा बेलुका स्थानीयपन झल्कने सांस्कृतिक कार्यक्रम, तालको सुरक्षालाई ध्यान दिएर स्थानीय सामग्रीको प्रयोगबाटै स–साना घर बनाइएको रहेछ ।

अब हामी गोरखाको सिमानामा प्रवेश गरेका थियौं । गोरखा प्रवेश गरेपछिको पहिलो पार्क भीमसेन पार्क थियो । यहाँ बगैंचाको अलावा भीमसेन थापाको सम्झना र सम्मानमा निर्माण गरिएको मूर्ति र संग्रहालय रहेछ । जलाशय निर्माणको क्रममा उनको पुख्र्यौली थातथलो पानीभित्र परे पनि अलिक माथि यिनै सामग्रीलाई प्रयोग गरेर बनाइएको संग्रहालयमा हामी पस्यौं । उनको बाल्यकालदेखिको मूर्ति लगायत उनले प्रयोग गर्ने गरेका हतियार, कपडा आदि थिए । उनको राजनीतिक उतारचढावको कथा झल्किने केही फोटो र छोटो भिडियो हेरियो । एउटा खुला रेस्टुरेन्टको सरसफाइ देखेर म अचम्मित भएँ । काठका कुर्सी, टेबल टलक्क टल्केका ।

तलाउको पानी कतै नीलो, कतै हरियो तर सफा थियो । यही सफा पानीको मज्जा लिंदै लहरहरू उन्मुक्त ढंगले छचल्किरहेका थिए । सेफ जोनमा केटाकेटीदेखि युवायुवती डुबुल्की लगाउँदै, कृत्रिम ढंगले तयार गरिएको बालुवामा सुतेर आफूलाई सेकाउँदै थिए । त्यहाँ अर्को उत्सव थियो ।

केही बोटहरू पानीमा जम्मा हुन आएका फोहोर सफा गरिरहेका थिए । निषेधित क्षेत्रमा बाहेक अन्यत्र सानादेखि ठूला फाइभ स्टार क्रुज कुदिरहेका थिए, त्यहाँ पनि मानिसको लर्को थियो । सुरक्षा निकायको क्रुज छुट्टै रहेछ, समय समयमा गस्ती गर्दो रहेछ । डाँडाको वरिपरि रहेका मन्दिरमा जान विभिन्न स्थानमा रोपवे चलिरहेका थिए । रोपवे तालको छेउ हुँदै डाँडाको टुप्पोसम्म जाने रहेछ, त्यहाँ टुप्पोमा पनि हजारौं मानिस जाने रहेछन् जहाँबाट धादिङ र गोरखाका धेरै स्थान सहज देखिंदो रहेछ । झिलीमिलीले गर्दा मन भरंग भइरहेको थियो ।

कसैले अब हामी आज बस्ने होटल आउन लाग्यो भनेर मधुरो स्वरमा भनेको सुनें । कताकता स्वरमा बदलाव भए जस्तो लाग्यो । शायद मैले केही जवाफ दिइन कि क्या हो ? पछाडि फर्केर मलाई कसैले हलुका ढंगले हल्लाउँदै भन्यो, विष्णु आर यु ड्रिमिङ ? म झल्याँस्स भएँ, म निद्रामा पो भ्रमण गर्दै रहेछु । म तत्कालै सम्हालिएँ । अगाडिको सिटमा अब दीपा होइन, लिली थिइन् । वरिपरि हेरें, सँगै रहेका साथीहरू मस्तसँग घुरिरहेका थिए । चिनियाँ ड्राइभर एकसुरले गाडी चलाइरहेका थिए ।

म एकैपटक धादिङबाट यिचाङ आइपुगेको थिएँ । यिचाङ, छिमेकी राष्ट्र चीनको हुबेइ प्रान्तको पश्चिममा पर्ने एउटा मुख्य पर्यटकीय सुन्दर शहर । प्रसिद्ध यांग्त्से नदीको किनारमा रहेको यो शहर सपनाको मात्र होइन, यथार्थमा सफा र राम्रो थियो । सफा अनि ठूलो बाटो, सडक किनारमा अनेकौं रंगीचंगी फूल ।

हामी विश्वको सबैभन्दा ठूलो र चर्चित थ्री गर्जेज बाँध हेरेर फर्कंदै थियौं, सायद ममा यसको धङधङी थियो । चीन सरकारले यस्तो बृहत् परियोजना कसरी सम्पन्न गर्‍यो र माओत्सेतुंगको सपना कसरी लागू भयो भनेर प्रत्यक्ष हेरेर आएका थियौं । शायद मन लोभिएको थियो कि ? मनमा लागेका तर यथार्थतामा आउन नसकेका कुरा मानिसले सपनामा भए पनि पूरा गर्छ भन्थे, हो रहेछ कि क्या हो ?

लिली आजको हाम्रो गाइड थिइन् । विदेशीलाई सहजताको लागि लिली भन्दै रहिछिन् । उनको खास नाम चाहिं शिजिंगली रहेछ, यिचाङको बासिन्दा । होटल अगाडि हाम्रो गाडी रोकियो, केही औपचारिकतापछि उनी हामीसँग बिदा भइन् ।

कोठामा आएपछि एकतमासले मन अमिलियो । मैले हाम्रो बूढीगण्डकी परियोजना सम्झें । देशका अन्य जलविद्युत् आयोजना सम्झें । बूढीगण्डकीको लागि वर्षौंदेखि डिजल र पेट्रोलमा उठाएको कर सम्झें । मनमनै नमिठो हाँसें । थाहा छैन, यो हाँसो कसको लागि व्यंग्य हो । आफ्नै लागि, आफ्नै नियतिको लागि वा हाम्रा नीति–निर्माताका लागि ?

विचरा हामी नेपाली कति छिटो सपना देख्न सक्ने, आफैंलाई आफ्नो माया लागेर आयो, अनि नरमाइलो र एकतमासको मन लिएर सिलिङ हेर्दै पल्टिरहें । नमिठो मनले के निद बोलाउँछ र ? तर हामी नेपाली जब्बर हौं, जे–जस्तो अवस्थामा पनि निदाउन सक्ने क्षमताको सदुपयोग गर्दै निद्रा देवीको शरणमा त्वंशरणम् भएँ ।

लेखक
विष्णुप्रसाद आचार्य

लेखक धादिङका डिभिजनल वन अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?