+
+
Shares
यात्रा संस्मरण :

प्रदेश राजधानी बन्न नसकेको डोटीको कहानी

६६० वर्षभन्दा बढी समयदेखि निरन्तर राजनीतिक तथा प्रशासनिक शक्तिकेन्द्रमा रहेको डोटी पछिल्लो समयमा भने आफ्नो पहिचान र अधिकार खोसिएको पीडा सँगाल्न बाध्य छ ।

धर्मेन्द्र विह्वल धर्मेन्द्र विह्वल
२०८१ चैत २३ गते २१:१५

पश्चिम नेपालको एक महत्वपूर्ण स्थान हो, डोटी । यसलाई मैले हेर्न, सुन्न र बुझ्न थालेको निकै भइसक्यो । मेरा पिताजी २०३२–३४ सालतिर दार्चुलामा कार्यरत रहँदादेखि नै मैले यहाँका बारेमा बाक्लै सुन्न थालेको हुँ । डोटीको भूमि भने मैले धेरैपछि मात्र टेक्ने अवसर पाएँ ।

यहाँका पत्रकारसँग मेरो सम्पर्क र सम्बन्ध भने धेरै पहिलेदेखिकै हो । मलाई स्मरण भएसम्म मैले डोटीको भूमि पहिलो पटक २०६१–६२ सालतिर टेकेको हुँ । यहाँका पुराना पत्रकारत्रय उद्धवसिंह ढाँट, शंकर थापा र गणेश जोशीहरूको एउटा संस्था थियो- विकास सञ्चार समूह । त्यही संस्थाले सिलगढीमा आयोजना गरेको पत्रकारिता तालिमको सहजीकरण गर्ने सन्दर्भमा महेन्द्रनगरका पत्रकार मित्र खेम भण्डारीसँग म डोटी गएको सम्झन्छु ।

काठमाडौंबाट रात्रिबसमा धनगढी । धनगढीमा एक रातको बसाइपछि भोलिपल्ट बिहान पुनः बसको यात्रापश्चात् दिपायल अनि सिलगढी । वास्तवमा भन्ने हो भने अत्तरियादेखि उत्तर पहाडतिर मैले थाहा पाउने गरी यो नै मेरो पहिलो यात्रा थियो । रोमाञ्चलाई स्वाभाविक नै मान्नुपर्ने हुन्छ ।

अत्तरिया, गोदावरी, बुढीतोला, सहजपुर, बुडर, गैरा, हगुल्टे, भातकाँडा, स्याउलेसम्मको यात्रा निकै रोमाञ्चकारी रहेको मेरो अनुभूति छ । गोदावरीपछि स्याउलेसम्म एउटा पुल पनि नभएको यो सडक नेपालकै एक उदाहरणीय भौतिक संरचना मानिन्छ । यो सडकको बारेमा मैले धेरै सुनेको भए पनि अनुभूत गर्ने अवसर भने पहिलो थियो ।

अत्तरियाबाट स्याउलेसम्मको झण्डै ११५ किलोमिटरको घुमाउरो पहाडी बाटो सामान्य व्यक्तिका लागि असामान्य अनुभव हुन सक्छ । तर पहाडी बाटोको यात्रा, दायाँ–बायाँ देखिने प्राकृतिक मनोरम दृश्यबाट आनन्द लिन सकियो भने निकै रमाइलो हुन्छ । दृश्यपानको आनन्द कतिले लिन सक्छन् भने कतिले सक्दैनन् ।

मलाई पहाड बाटोको अनुभव भएकाले मैले भने यात्राको आनन्द लिइरहेको थिएँ । म डोटी गइरहेको मितिको मलाई यकिन स्मरण छैन । तर सडकको दायाँ–बायाँ गुराँस फुलेर सकिन थालेको हो कि भन्ने भान हुन्थ्यो । रूखहरूमा गुराँस अझै देख्न सकिन्थ्यो, ढकमक्क भने थिएन । जे होस् रातो गुराँसले यात्रा रंगीन बनाउन मद्दत नै पुर्‍याएको थियो ।

कतिपय ठाउँमा सडक किनारमा गुराँसको थुंगा लिएर उभिएका बालबालिकाहरू गुराँस किन्ने यात्रुको खोजी गरिरहेको पनि देखिन्थ्यो । यो दृश्यले मेरो मनमा अनेक प्रश्न सिर्जना गरेको म सम्झन्छु । यस्तै कतिपय ठाउँमा काफल, ऐंसेलु, किनमणा, आल्चा, आलुबखडा लगायतका स्थानीय मौसमी फल पनि बिक्रीका लागि राखिएको मैले देखेको छु ।

यी फल बिक्री गर्न बालबालिका पनि सक्रिय भएको पाएको छु । सडकले दूरदराजको क्षेत्रसम्म आवतजावतमा मात्र सुविधा पुर्‍याएको छैन बरु रोजगारी र आर्थिक गतिविधिमा पनि उत्तिकै सहयोग पुर्‍याएको छ ।

हामी स्याउलेबाट बायाँ नलागी दायाँ मोडिएका थियौं र डोटीतर्फ लागेका थियौं । बायाँतिरको बाटो डडेल्धुरा हुँदै बझाङ, बैतडी र दार्चुलासम्म जान्छ भने दायाँतिरको बाटो डोटीहुँदै अछाम, बाजुरासम्म पुग्छ । स्याउलेबाट झण्डै दुई घन्टाको यात्रापछि पिपल्ला पुगियो । यहाँ केही साथीहरू त थिए तर झमक्क साँझ परिसकेकाले हामी त्यहाँ नओर्लेर सोझै सिलगढीतिर लागेका थियौं ।

सिलगढीमा आयोजक संस्थाका साथीहरू शंकर, गणेश, उद्धवसिंह ढाँट हाम्रो प्रतीक्षामा थिए । एकैछिनपछि चक्र कठायत पनि जोडिए । शायद प्रोएक्टिभ पत्रकारिता सम्बन्धी दुई दिनको तालिम थियो । त्यसवेला डोटीमा क्रियाशील अधिकांश पत्रकारको सहभागिता थियो, त्यो तालिममा ।

डोटीका पत्रकारहरूसँग एकै पटक एकै ठाउँमा मैले संगत गर्न पाएको त्यही नै पहिलो अवसर थियो । तीनदिने तालिम कुनबेला शुरू भएर कुनबेला सम्पन्न भयो पत्तै भएन । तालिम समापनपछि म त्यहाँबाट आए पनि यहाँका पत्रकार साथीहरूसँग मेरो निकट सम्बन्ध विकसित हुन पुगेको थियो र त्यसपछि हामी निरन्तर सम्पर्कमै रह्यौं ।

त्यसै बखत मैले डोटीलाई नजिकबाट चिन्ने अवसर पाएको थिएँ । डोटीको, खासगरी दिपायल र सिलगढीको भूगोलका बारेमा थोरै भए पनि बुझ्ने मौका पाएको थिएँ । करिब १० किलोमिटरको दूरीमा रहेको दिपायल र सिलगढीको भूगोल र हावापानी एकअर्काका विपरित छ भनेर भनियो भने अस्वाभाविक हुने छैन ।

यात्राकै क्रममा मैले थाहा पाएको हुँ, सेती पारिलाई दिपायल भनिंदो रहेछ भने वारिलाई पिपल्ला तर समष्टिमा सेती किनारको यहाँको समग्र भूमिलाई दिपायल भनेरै चिनिने गरिएको छ । समग्रमा दिपायलको मौसम उष्ण छ । गर्मी याममा नेपालकै सर्वाधिक गर्मी हुने ठाउँमध्येको एक हो दिपायल । समथर मैदानमा पसारिएको दिपायल तुलनात्मक रूपमा नयाँ बस्ती मानिन्छ । अर्कोतिर सिलगढी नेपालकै पुरानो मध्येको सभ्यता हो । पहाडी भूगोलमा अवस्थित यहाँको मौसम तुलनात्मक रूपमा चिसो छ ।

शक्तिकेन्द्र डोटी : इतिहासदेखि वर्तमानसम्म

डोटी धेरै कारणले चर्चित छ, परिचित छ । सधैं शक्तिको केन्द्रमा रहेको डोटी पछिल्ला दिनमा भने आफ्नो पुरानो शक्तियुक्त राजनीतिक हैसियत कायम राख्न असफल रहेको छ । इतिहास साक्षी छ, डोटी एक ऐतिहासिक जिल्ला हो र यसमा कुनै शंका छैन यसले शक्तिको इतिहास बोकेको छ ।

नेपालमा बाइसे र चौबीसे राज्यहरू कायम रहँदा त्यस शासनकालमा, डोटी एक विशाल र शक्तिशाली राज्यका हैसियतमा स्थापित थियो । डोटीको इतिहासको अध्ययन गर्ने हो भने निरय पालको समयदेखि कात्युरी वंश हुँदै अन्ततः रैका वंशका राजाहरूको शासनकालमा शासन सहित आधुनिक नेपालमा एकीकरण भएको पाइन्छ ।

डोटीले राणाकालमा पनि आफ्नो शक्ति कायम राख्यो । देशका चारवटा प्रशासनिक केन्द्रमध्ये सबैभन्दा पश्चिम क्षेत्रको केन्द्र डोटी थियो । राणाकालमा प्रशासनिक केन्द्रका रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी थिए । २००७ सालको क्रान्तिपछि पनि डोटी चर्चामै रह्यो ।

 

यही जिल्लाका डा. केआई सिंह देशको प्रधानमन्त्री पनि बने । राजा वीरेन्द्रको समयमा २०३७ सालमा, जब देशलाई भौगोलिक रूपमा पाँच विकास क्षेत्रमा विभाजित गरियो, सेती र महाकालीका नौ जिल्ला एकीकृत गरी सुदूरपश्चिम विकास क्षेत्र बनाइयो, यही डोटीको दिपायललाई त्यस क्षेत्रको सदरमुकाम कायम गरियो ।

संघीयता आगमनपश्चात् सुदूरपश्चिम प्रदेशको स्थापनापछि पनि प्रदेश राजधानीमा डोटीको दावी थियो । तर सम्भव भएन । त्यसपछिका दिनमा भने क्रमशः डोटीको राजनीतिक प्रभावको क्षयीकरण हुन थालेको अनुभव गरिएको छ । राजधानीका लागि आन्दोलन पनि भयो । सर्वत्र विरोध पनि गरियो तर डोटीको कुरा सुनिएन ।

सुदूरपश्चिमका अन्य जिल्लासँग झण्डै समदूरीमा अवस्थित डोटी र डडेलधुराको राजधानीको सन्दर्भको माग दावी सायद पुगेन, प्रदेश राजधानीका रूपमा कैलालीको गोदावरी नगरपालिकालाई प्रस्ताव गरियो । अहिले अस्थायी राजधानी कैलालीकै धनगढीमा छ ।

यसरी क्षेत्रीय सदरमुकाम मात्रै नभई दिपायलले ६६० वर्षदेखिको यस क्षेत्रको राजनीतिक तथा प्रशासनिक केन्द्रको हैसियत गुमायो । शक्तिशाली जुम्ला (खस) राज्यसँग छुट्टिएर १४२० सालमा निरय पालले डोटीलाई छुट्टै राज्यको रूपमा स्थापित गरेदेखि नै दिपायल यस क्षेत्रको केन्द्र रहँदै आएको थियो ।

डोटीले यस क्षेत्रको भाषिक, सांस्कृतिक, सामाजिक चेतना, सभ्यता लगायतको पनि अगुवाइ गर्दै आएको थियो र छ । यस अर्थमा ६६० वर्षभन्दा बढी समयदेखि निरन्तर राजनीतिक तथा प्रशासनिक शक्तिकेन्द्रमा रहेको डोटी पछिल्लो समयमा भने आफ्नो पहिचान र अधिकार खोसिएको पीडा सँगाल्न बाध्य छ । संघीयतापछि प्रदेश सरकारले १२ असोज २०७५ मा प्रदेश राजधानी गोदावरी अत्तरियामा स्थापना गर्ने निर्णय गरेपछि डोटी हतप्रभ बनेको थियो ।

पर्यटन र विकास : सम्भावनै सम्भावना

पर्यटनका हिसाबले डोटी धनी छ । खप्तड, तेलेलेक, बोगटान क्षेत्र, सेती नदी, शैलेश्वरी मन्दिर, दिपायल फाँट, डोटी दरबार, बानडुङ्ग्रीसैन फाँट, सिलगढी ऐतिहासिक क्षेत्र, बोगटानको ठूला केदार, बीपीनगर क्षेत्र, जोरायल क्षेत्र लगायतका स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हुन् ।

धार्मिक तथा वातावरणीय पर्यटनका लागि व्यापक प्रचारप्रसार गर्न सके पर्यटनका दृष्टिले उत्तम गन्तव्य बन्न सक्छ डोटी । सकारात्मक सोच र गुरुयोजना बनाएर पर्यटनका क्षेत्रमा अगाडि बढ्ने हो भने यहाँ विकासका तमाम सम्भावना छन् । त्यस्तै पश्चिम सेती जलविद्युत् परियोजना बनाउने सके डोटीको अर्थ वाणिज्यका क्षेत्रमा फड्को मार्ने निश्चित छ ।

डोटीको बोगटान, जोरायल, बानेडुङ्ग्रीसैन, सेती बगर लगायतका क्षेत्रमा कृषि उत्पादनलाई बढावा दिई डाँडाकाँडामा बस्ती बसाउनुका साथै शहरीकरण गर्न सके यहाँको आर्थिक गतिविधिमा सुधार ल्याउन सकिन्छ ।

कृषिमा आधुनिकीकरण गरेर बोगटान क्षेत्रमा फलफूल, बोगटानको अदुवा, सुन्तला, चुक, अन्न उत्पादनका साथै जोरायलको बासमती धानलाई प्रवद्र्धन गर्न सके यहाँको अर्थतन्त्रमा आमूल परिवर्तन गर्न सकिने आधार छ ।

त्यस्तै यहाँको वनजंगलमा पाइने जडीबुटी प्रशोधन गर्न सकिने आधार छ । यसका साथै उद्योगधन्दा, कलकारखाना चलाउनका लागि जलविद्युत् उत्पादन गर्न सकिने अनेक नदीनाला र प्राकृतिक स्रोत छन् डोटीमा ।

चहलपहल छैन ‘कान्छी नेपाल’ मा

काठमाडौंको जस्तै हावापानी, अड्डा अदालत, नेवार बस्ती र सभ्यता, मठमन्दिर तथा व्यावसायिक चहलपहल भएकाले सिलगढीलाई विगतमा कान्छी नेपाल पनि भनिन्थ्यो । डाँडामाथिकी देवी शैलेश्वरीको आँगनमा बसेको सिलगढी बस्ती र बजार कुनै वेला सुदूरपश्चिमका अछाम, बाजुरा, हुम्ला, जुम्ला र मुगुसम्मको मुख्य व्यापारिक केन्द्र मानिन्थ्यो ।

बाइसे, चौबीसे राज्यहरू अस्तित्वमा रहेको समयमा अछामी, दर्नाली, बिमकोटे, बार्जुकोटे, बझाङी, दुल्लु, सिंजाली राजाहरूको किनमेल गर्ने ठाउँ पनि सिलगढी नै थियो । माथि पनि थोरै चर्चा गरियो विगतमा जुम्ला, पाल्पा र धनकुटा सँगै सिलगढी नेपालका चार गौंडामध्येको एक थियो ।

पत्रकार टेकेन्द्र देउवा जानकारी दिंदै भन्छन्, ‘२०१८ सालसम्म पनि डोटीमै छिमेकी अछाम, बैतडी, बझाङ, बाजुरा र डडेल्धुरा जिल्लाका तालुक अड्डा थिए । यहाँको बजारमा विगतमा मानिसको निकै भीडभाड हुने गथ्र्यो । मैले आफैंले पनि सिलगढी बजारको गुल्जार रूप देखेको हुँ । बजार क्षेत्रका प्रत्येक घरमा चहलपहल देखिन्थ्यो ।

डोटी विगतमा राजनीतिक दृष्टिले त महत्वपूर्ण थियो नै जिल्लाको सदरमुकाम सिलगढी त शैक्षणिक र आर्थिक–व्यावसायिक दृष्टिले देशकै एक चर्चित स्थानका रूपमा पछिसम्म दरिएको भूमि हो । प्रशासनिक दृष्टिले देशको प्रशासनमा महत्वपूर्ण सहभागिता रहेको सिलगढी अहिले जनस्थानान्तरणको समस्याबाट प्रभावित हुन पुगेको छ भनियो भने अन्यथा हुनेछैन ।

विगतमा नेपालको प्रशासनिक क्षेत्रको उपल्लो तहमा निकै अर्थपूर्ण र महत्वपूर्ण उपस्थिति रहने गरेको सिलगढीको अहिलेको अवस्था फेरिएको छ । सिलगढीको चहलपहल घटेको छ । यहाँको व्यावसायिक गतिविधि निराशाजनक छ । यसको प्रभाव यहाँको जनजीवनमा परेको छ ।

सिलगढीका बासिन्दा अब विस्तारै ओरालो लाग्दै वासस्थान परिवर्तन गरिरहेका छन् । पत्रकार मीन बमका अनुसार, अब सिलगढीमा पुरानो जस्तो अवस्था रहेन । यहाँका घरमा मानिस भेटिंदैनन् । यहाँका धेरै रैथाने व्यक्ति र परिवार घोषित–अघोषित रूपमा बसाइँ सरेका छन् ।

दिपायलमा म : मधेशमा आन्दोलन

एकपटकको डोटी यात्रा सम्झन्छु । मैले सम्झेसम्म डोटीको त्यो मेरो दोस्रो यात्रा थियो । त्यतिखेर अन्नपूर्ण पोस्ट्मा कार्यरत थिएँ । म त्यसवेला नेपाल पत्रकार महासंघको आमन्त्रणमा तीनदिने पत्रकारिता प्रशिक्षण कार्यक्रमको संयोजन गर्न दिपायल पुगेको थिएँ । सायद २०६३/६४ सालको कुनै महिना हुनुपर्दछ ।

म त्यहीं रहेकै वेला मधेश आन्दोलन चर्किएको थियो । मधेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, पर्सा जस्ता जिल्लामा आन्दोलनकारीहरू विरोधमा उत्रिएका थिए । राज्य र आन्दोलनकारीबीच एक किसिमले द्वन्द्वको अवस्था थियो । आन्दोलनकारीमध्ये केहीको मृत्यु समेत भएको थियो भने अनेकौं आन्दोलनकारी घाइते थिए ।

राज्यमाथि आन्दोलनलाई दबाउन खोज्ने नियतले बल प्रयोग गरेको आरोप थियो । मधेश एक किसिमले ‘जाम’ थियो । जनजीवन ठप्प जस्तै थियो । परिस्थिति विषम थियो । यस्तोमा म पत्रकारिताका विद्यार्थीलाई दिपायलमा आचारसंहिताको कुरा गर्दै समाचारमा एबीसी (सत्यतथ्य, सन्तुलन र विश्वसनीयता) निर्वहनको कुरा गरिरहेको थिएँ ।

पत्रकार स्वयं कुनै आन्दोलनको पक्ष वा विपक्षको पात्र बन्नुहुँदैन भनेर सिकाउने प्रयत्न गरिरहेको थिएँ । त्यसवेलासम्म दिपायलको बजार विकसित भइसकेको थिएन । राम्रा होटल थिएनन् । मधेशका आन्दोलनकारीलाई के थाहा ? म जनकपुरको स्थायी वासिन्दा यतिखेर सुदूरपश्चिम पहाडको केन्द्र मानिने डोटीको दिपायलमा पत्रकार टेकेन्द्र देउवाको भाडाको कोठामा बसेर रात काटिरहेको थिएँ ।

त्यहाँ खाना खाइरहेको थिएँ । मेरो सम्पूर्ण व्यवस्थापन टेकेन्द्रको निवासमा भइरहेको थियो र म सुरक्षित अनुभूत गरिरहेको थिएँ भनेर मधेशका ती आन्दोलनकारीले कसरी थाहा पाउनु ? बजारमा निस्कँदा, मधेश आन्दोलनका कारण, मेरो मनस्थिति रक्षात्मक हुने गरेको मेरो अनुभव छ । मैले त्यसवेला डोटीका पत्रकार र आमव्यक्तिसँग प्राप्त गरेको सुरक्षात्मक भाव र सम्मान मेरा लागि आजीवन स्मरणीय महत्वपूर्ण निधिका रूपमा रहनेछ ।

सेती पारि दिपायल : उडेन चिलगाडी

शायद त्यसबेला उद्धवसिंह ढाँटले नेपाल पत्रकार महासंघको नेतृत्व दिलबहादुर छत्याललाई हस्तान्तरण गरिसकेका थिए । अन्नपूर्ण पोस्ट्का लागि डोटीबाट टेकेन्द्रले समाचार पठाउँथे । त्यसबेलाको यात्रामा मैले डोटीमा टेकेन्द्र, मीन बम र योगेन्द्र बलायरसँग अधिकांश समय विताएको हुँ ।

यी साथीहरूले मलाई निकै सघाएको म सम्झन्छु । म यी भाइप्रति उपकृत छु । त्यसबेलाको डोटीमा पत्रकारको संख्या खासै उल्लेख्य थिएन । सिलगढीमा शंकर, गणेश, चक्र अलि बढी सक्रिय रहेको मानिन्थ्यो भने दिपायललाई आधारभूमि बनाएर पत्रकारिता गर्नेमा उद्धव, दिलबहादुर, टेकेन्द्र, योगेन्द्र, मीन, मुकुन्द भण्डारी, विमल विष्ट, तेजबहादुर खड्का तेजु लगायतलाई सम्झन्छु । अरुण बमलाई पनि दाजु मीनसँग देखेको सम्झना छ ।

सारमा, डोटीसँग जोडिएका अनेक स्मृति छन्, सबैलाई लिपिबद्ध गर्न सम्भव छैन । तर स्मृति त स्मृति न हुन्, मनमस्तिष्कमा आउन कुनै समय कुरिरहनुपर्दैन । सम्झना त सेती पारिको दिपायलको पनि छ । त्यहाँ विमानस्थल छ तर उडान नहुने गरेको सम्झना पनि छ । सम्झना यो पनि छ– म फर्किने दिन पनि ‘चिलगाडी’ हेर्ने रहरमा केही स्थानीय वासिन्दा विमानस्थलमा एकत्रित त भएका थिए तर ‘चिलगाडी’ आउने नआउने टुंगो भने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?