
२३ चैत, काठमाडौं । ऐतिहासिक अन्नपूर्ण प्रथमको सफल आरोहणको ७५ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा प्रदर्शनी सुरु भएको छ ।
नेपालस्थित फ्रेन्च दूतावास र अलियन्स फ्रान्सेस काठमाडौंले अन्नपूर्ण आरोहणको ७५ वर्ष विषयकेन्द्रित रहेर शुक्रबारदेखि प्रदर्शनी सुरु गरेका हुन् ।
पुल्चोकस्थित अलियन्स फ्रान्सेसमा सुरु भएको प्रदर्शनी १८ अप्रिल २०२५ सम्म चल्नेछ। प्रदर्शनीका क्यूरेटर स्वराजमान चित्रकार हुन्।
यो प्रदर्शनी ३ जुन १९५० मा भएको अन्नपूर्ण प्रथमको पहिलो सफल आरोहणको सम्मानमा सुरु गरिएको आयोजकले जनाएको छ । उक्त आरोहण फ्रान्सेली र नेपाली टोलीको सहकार्यमा सम्पन्न भएको थियो।
उक्त दिन पहिलोपटक मान्छेले ८ हजार मिटरभन्दा माथिको हिमाल सफलतापूर्वक आरोहण गरेको दिन थियो । यस ऐतिहासिक सफलताले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ ।
उद्घाटन समारोहमा नेपालका लागि फ्रेन्च राजदूत भिरजिनि कोर्तेभालले सन् १९५० को अभियानको सफलतामा नेपाली शेर्पाहरूले खेलेको महत्त्वपूर्ण भूमिकाको चर्चा गरे । उनले पर्वतारोहणको इतिहासमा उनीहरूको समर्पण र विशेषज्ञताको उच्च मूल्यांकन गरे।
प्रदर्शनीले नेपाली पर्वतारोहीहरूको योगदान, पर्वतारोहणको विकासक्रम र वर्षौँको मेहनतमा प्राप्त प्रमुख उपलब्धिहरूलाई पनि उजागर गरेको छ। प्रदर्शनी टिम फ्रान्सले सन् २०२५ भरि आयोजना गर्न लागेका विभिन्न गतिविधिमध्ये एक रहेको आयोजकले जनाएको छ ।
यही क्रममा २३ अप्रिल २०२५ मा सन् १९५० अन्नपूर्ण अभियानमा आधारित वृत्तचित्र प्रदर्शन गर्नुका साथै विशेषज्ञसँग दिगो पर्वतारोहणबारे छलफल गरिनेछ ।
त्यसैगरी, जुन २०२५ मा फ्रेन्च पर्वतारोही मौरिस हेर्जोगद्वारा लिखित क्लासिक पुस्तक ‘अन्नपूर्णः प्रिमियर ८०००’ को नेपाली अनुवाद सार्वजनिक गरिने फेन्च दूतावासका दिपेश बिडारीले जानकारी दिए।
फ्रान्स सरकारले अनुवादको खर्च व्यहोरेको छ र अनुवाद कार्य अलियन्स फ्रान्सेसले सम्पन्न गरेको उनले जानकारी दिए ।
त्यस्तै, अक्टोबर र नोभेम्बर २०२५ मा हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे विशेष छलफल कार्यक्रम आयोजना गरिएको बिडारीले जानकारी दिए ।
प्रतिक्रिया 4