
अमेरिकी कम्पनी एप्पलको स्मार्ट घडी एप्पल वाचका विषयमा केही नयाँ तथा उत्साहप्रद खबर सार्वजनिक भएका छन् । जसअनुसार भविष्यमा एप्पलको स्मार्ट घडीमा क्यामरा र एआई फिचर समेत उपलब्ध हुनेछ ।
समाचार अनुसार सन् २०२७ सम्ममा एप्पल वाचमा क्यामरा समेत राख्ने लक्ष्य एप्पलले तय गरेको छ । यद्यपि यस विषयमा कम्पनीले आधिकारिक रुपमा केही पनि बताएको छैन ।
रिपोर्ट अनुसार एप्पल वाचको स्टाण्डर्ड तथा अल्ट्रा भेरिएन्टमा क्यामेरा राख्ने योजनामा कम्पनीले काम गरिरहेको छ । स्टाण्डर्ड भेरिएन्टमा डिस्प्लेको मुनि क्यामेरा रहनेछ भने अल्ट्रा भेरिएन्टमा बटन साइडमा क्यामेरा हुनेछ ।
एप्पल वाचमा क्यामेरा राख्नुको उद्देश्य चाहीँ बाहिरका वस्तुहरु पहिचान गर्नु हो र क्यामेराको मद्दतले स्क्यानिंग पनि अब्बल हुनेछ । यद्यपि स्टाण्डर्ड तथा अल्ट्रा वाचको मोटाई भने फरक फरक हुनेछ र क्यामेरा लेन्सको अवस्थिति पनि फरक फरक स्थानमा रहनेछ ।
एप्पल इन्टेलिजेन्स फिचर
एप्पलको स्मार्ट घडीमा हुने क्यामेरा लेन्सले एप्पल इन्टेलिजेन्ससँग मिलेर काम गर्नेछ । यो आइओएस १८.१ सँगै गत अक्टोबरमा लन्च भएको थियो । एप्पल इन्टेलिजेन्सको मद्दतले क्यामेराले वस्तु तथा सामाग्रीहरु पहिचान गर्नमा सहयोग गर्नेछ । यसले आसपासमा रहेको वातावरणसँग नयाँ तरिकाले जोडिने मौका प्रदान गर्नेछ ।
एआई इकोसिस्टम विस्तार गर्ने पहल
स्मरण रहोस् एप्पलले आफ्नो एआई इकोसिस्टमलाई विस्तार गर्ने विषयमा काम गरिरहेको छ । मार्क गुम्र्यानले आफ्नो एक पूरानो रिपोर्टमा दाबी गरेका थिए कि एप्पलले एयरपड्समा इन्फ्रारेड क्यामेरा समेत राख्दैछ र सन् २०२६ सम्ममा क्यामेरा सहितको इयरबड्स बजारमा आउने सम्भावना छ ।
एप्पलले आफ्नो एप्पल वाच तथा एयरपड्ससम्म एआई हार्डवेयर पुर्याउन चाहन्छ । योसँगै एप्पलले ओपन एआईको च्याट जिपिटी तथा गुगलको जेमिनी एआई प्लाटफर्ममाथिको आफ्नो निर्भरता कम गर्न चाहन्छ । एजेन्सी
प्रतिक्रिया 4