+

आईपीएलमा राजस्थानको लगातार दोस्रो जित

२०८१ चैत  २३ गते २३:३२ २०८१ चैत २३ गते २३:३२
आईपीएलमा राजस्थानको लगातार दोस्रो जित

२३ चैत, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनले हराएको हो ।

राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि नेहाल वधेराले सर्वाधिक ६२ रन बनाए ।‌ ग्लेन म्याक्सवेलले ३० रन बनाए भने प्रभसिमरन सिंहले १७ रन बनाए ।

४३ रनमा ४ विकेट गुमाएको पञ्जाबका लागि नेहाल र म्याक्सवेल मिलेर ८८ रनको साझेदारी गर्दै पञ्जाबलाई खेलमा फर्काएका थिए तर १५औं ओभरको अन्तिम बल र १६औं ओभरको पहिलो बलमा लगातार यी दुईको विकेट गुमेपछि पञ्जाब फेरि खेलमा पछाडि परेको थियो ।

राजस्थानका जोफ्रा आर्चरले ३, महीश थिक्साना र सन्दीप शर्माले २-२ विकेट लिँदा कार्तिकेया सिंह र वानिन्दु हसरंगाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो । यशश्वी जैसवालले ६७ रन बनाए भने रियान पराग ४३ रनमा अविजित रहँदा कप्तान सन्जु सामसनले ३८ रन बनाए ।

पञ्जाबका लकी फर्गुसनले २ विकेट लिँदा अर्शदीप सिंह र मार्को यान्सेनले १-१ विकेट लिए ।

योसँगै ४ खेलमा ४ अंक जोडेको राजस्थान अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ भने ३ खेलमा पहिलो हार बेहोरेको पञ्जाब ४ अंकसहित चौथो स्थानमा खस्किएको छ ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय