+
+
Shares

बिल गेट्सको भविष्यवाणी : एआईले हडप्ने छैन यी ३ क्षेत्रको जागिर

एजेन्सी एजेन्सी
२०८१ चैत २४ गते ७:४७

कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको तीव्र विकास र विस्तारले विश्वभर आम मानिसहरुको रोजगारी गुम्नसक्ने चिन्ता बढाइरहेको छ । पछिल्ला केही वर्षमा एआईको तीव्र विकास भएको छ र हरेक क्षेत्रमा यसको व्यापक अबलम्बन गर्न थालिएको छ ।

तर के एआईको यो विकासले आगामी दिनमा मानिसको ठाउँ लिनसक्छ ? के एआईकै कारण लाखौं मानिस बेरोजगार हुनसक्छन ? यावत् सवालहरु टड्कारो बनिरहेको बेलामा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यस विषयमा आफ्नो विचार व्यक्त गर्दै एक भविष्यवाणी गरेका छन् । गेट्सका अनुसार एआईले कैयन् क्षेत्रमा मानिसको ठाउँ लिनसक्छ । तर, तीनवटा क्षेत्रमा पनि एआईको कुनै प्रभाव पर्नेछैन ।

यी तीन क्षेत्रमा मानिसका रोजगारी सुरक्षित

बिल गेट्सका अुनसार बायोलोजिस्ट अर्थात् जीव वैज्ञानिकलाई एआईले प्रतिस्थापन गर्न सक्नेछैन । वैज्ञानिक अनुसन्धान तथा नयाँ खोजका लागि रचनात्मक सोंच तथा प्रयोगको आवश्यकता हुन्छ, जुन एआईका लागि सम्भव छैन । यद्यपि एआईले डिएनए विश्लेषण, रोगको पहिचान तथा औषधिको खोजमा भने निकै महत्वपूर्ण सहयोग गर्न सक्नेछ । यति हुँदाहुँदै भने एआई प्रविधिले वैज्ञानिकहरुको अनुभव तथा प्रयोगको क्षमताको बराबरी गर्न सक्नेछैन ।

गेट्सले ऊर्जा क्षेत्रलाई पनि एआईको प्रभावबाट मुक्त बताएका छन् । उनका अनुसार यो क्षेत्र निकै जटिल छ र यसमा नवीकरणीय उर्जाका स्रोतहरुको विकास, जलवायु परिवर्तनसँग जुध्ने र ऊर्जा ग्रिडको व्यवस्थापन लगायतका काम रहेका छन् । यी सबै कामहरु मानिसको गहन बुझाइ तथा निर्णय क्षमतामा निर्भर हुन्छन्, जुन एआईका लागि सम्भव हुँदैन ।

गेट्सका अनुसार एआईका कारणले गर्दा संकटमा नपर्ने अर्को जागिर कोडिङ हो । एआईकै कारण विज्ञ तथा अनुसन्धानकर्ताहरुको जागिर संकटमा नपर्ने उनको तर्क छ । यद्यपि एआईलाई कोडिङ तथा सफ्टवेयर विकासमा प्रयोग गर्न सकिनेछ तर यसलाई नैतिक रुपमा विकास गर्ने र नियन्त्रण गर्नका लागि मानिसकै भूमिका अहम रहनेछ ।

एआई प्रविधि कोड सिर्जना गर्नमा क्षमतावान बन्दै गइरहेको भएपनि अनुगमन प्रणाली, त्रुटिहरूको निवारण तथा थप समृद्ध समाधानको विकास गर्नमा मानव विज्ञता आवश्यक पर्दछ । त्यसैले भविष्यमा एआईको कार्यक्षमता सुधार्न तथा त्यसलाई नयाँ उचाइँसम्म पुर्‍याउनका लागि मानव विज्ञहरुको नै आवश्यकता पर्नेछ ।

आफूमा सुधार ल्याउन सुझाव

गेट्सका अनुसार एआई अहिले आफ्नो प्रारम्भिक चरणमा छ । तर यो तीव्र गतिमा विकसित भइरहेको छ । आगामी दिनमा यसले धेरै रोजगारीहरुलाई प्रभावित गर्नसक्छ, खासगरी डेटा इन्ट्री, ग्राहक सेवा, आधारभूत कोडिङ तथा सामग्री लेखन जस्ता क्षेत्रमा । यद्यपि रचनात्मकता, निर्णय लिने क्षमता तथा नवप्रवर्तनशीलताका क्षेत्रमा मानिसको भूमिका सदैव रहनेछ । यस्तोमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको मानिसले आफूलाई अद्यावधिक राख्ने, समयक्रमसँगै स्तरोन्नति गर्ने, नयाँ सीप सिक्ने गर्नु पर्दछ, ताकि एआईको युगमा प्रतिस्पर्धा गर्न सकियोस्।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?