
आजको समयमा स्मार्टफोन हाम्रो दैनिकी बनिसकेको छ । बिहान ब्युँझिएपश्चात् रातमा नसुतुन्जेलसम्म स्मार्टफोन हाम्रो साथमा रहने मात्र होइन स्मार्टफोनको स्क्रिनले हाम्रो दैनिक घण्टौंको समय खाइदिएको हुन्छ ।
पछिल्लो समयमा स्मार्टफोनको यस्तो लत विश्वव्यापी रुपमै फैलिरहेको छ र स्मार्टफोनको अत्यधिक प्रयोगले मानिसमा विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरू निम्त्याइरहेको विभिन्न शोधहरुले देखाएका छन् ।
यदि तपाईंलाई पनि स्मार्टफोनको स्क्रिनमा झुण्डिइरहने लत लागेको छ र त्यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने यी ५ वटा उपाय निकै उपयोगी हुनसक्छन् :
१. स्क्रिन टाइममा नियन्त्रण : फोनमा बिताउने समयमाथि नियन्त्रण कायम गर्नका लागि स्मार्टफोनमा रहेको स्क्रिन टाइम फिचरको प्रयोग गर्नुहोस् । यो फिचरबाट तपाईंले आफूले फोनमा कति समय बिताउको छु भन्ने थाहा पाउन सक्नुहुन्छ र त्यस्तो समयमाथि नियन्त्रण कायम गर्न सक्नुहुन्छ ।
२. नोटिफिकेसन बन्द गर्नुहोस् : फोनमा लगातार आउने नोटिफिकेसनले बारम्बार फोन हेर्ने बानी लगाउँछ । त्यसैले आवश्यक नपर्ने एपहरुका नोटिफिकेसन बन्द गर्नु उपयुक्त हुन्छ ।
३. सोसल मिडिया तथा एपहरुको लत कम गर्नुहोस् : यदि तपाईंलाई सोसल मिडिया एप वा अन्य कुनै एपको लत लागेको छ भने त्यसबाट मुक्ति पाउनका लागि त्यस्ता एपलाई आफ्नो फोनबाट डिलिट गर्नुहोस् । तपाईंले त्यस्ता एपलाई पूरै डिलिट गर्नु सम्भव छैन भने ती एप प्रयोगका लागि निश्चित समयसीमा निर्धारण गर्नुहोस् ।
४. रातको समयमा फोनसँग दूरी कायम गर्नुहोस् : रातमा सुत्नुभन्दा कम्तिमा पनि १ घण्टा अगाडिबाट फोन चलाउन छाड्नुहोस् । फोनलाई सकेसम्म बेडरुममा प्रवेश नगराउनुहोस् । यदि गराइहाल्नु परेमा पनि do not disturb मोड चालू गर्नुहोस् ।
५. वास्तविक जीवनका गतिविधि तथा विभिन्न क्रियाकलापमा सहभागी हुनुहोस् : स्मार्टफोनको भर्चुअल संसारमा भुल्नुको साटो किताब पढ्ने, योगा तथा व्यायाम गर्ने, साथीभाइसँग भेटघाट तथा कुराकानी, विभिन्न कामहरुमा संलग्न भई आफूलाई सक्रिय राख्नुहोस् । यसले मानसिक रुपमा स्वस्थ राख्ने मात्र होइन शारीरिक रुपमा समेत तन्दुरुस्त बनाउन सहयोग गर्नेछ ।
प्रतिक्रिया 4