२४ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एक तिहाई खेल सकिसकेको छ ।
७ टोली सहभागि लिगमा अहिलेसम्म खेल नजित्ने र गोल पनि नगर्ने टिममा झापा एफसी छ । झापा एफसीले यसअघि खेलेका दुवै खेल गोलरहित बराबरी खेलेको थियो ।
अर्कोतर्फ अहिलेसम्म खेलको दुई खेल जित्दै शतप्रतिशत जित निकाल्ने एक्लो टोलीको रुपमा एफसी चितवन छ । चितवन अंकतालिकाको शीर्ष स्थानमा रहँदा झापा पाँचौ स्थानमा छ ।
यदी दुई टोली झापा र चितवनबीच आज खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
खेल नजितेपनि अपराजित रहँदै २ अंक जोडेको झापालाई लयमा रहेको चितवन विरुद्ध गोल गर्ने चुनौती छ ।
चितयनले यस सिजन लगातार दुई खेल जित्दै सानदार सुरुवात गरेको छ । पहिलो खेलमा पवखरा थण्डर्सलाई २-० ले पराजित गरेको चितवनले दोस्रो खेलमा बुटवल लुम्बिनीलाई १-० ले पराजित गरेको थियो । चितवनले दुई खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा रहँदा दुई क्लिनसिट पनि राखेको छ ।
झापाले पनि अपराजित रहँदै दुवै खेलमा क्लिनसिट राखेपनि अहिलेसम्म गोल गर्न सकेको छैन । त्यसैले झापाको फरवार्ड लाइन दबाबमा हुनेछ ।
झापाका दुई विदेशी फरवार्ड लाजार अर्सिक र अल्हारी गेरोले सोचे अनुसार खेल देखाउन सकेका छैनन् ।
यस्तै चितवनमा मार्की अन्जन विष्टले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । उनी दुवै खेलमा पूरा समय खेलेनन् । उनलाई रिप्लेस गरिएको थियो ।
झापाको प्रशिक्षक प्रवेश कटुवाल र चितवनका प्रशिक्षक नविन न्यौपाने हुन् । आजको खेल दुई नेपाली प्रशिक्षकबीचको भिड्नत पनि हुनेछ । नेपालको क्लब फुटबलमा यी दुई प्रशिक्षक धेरै पटक आमने सामने भइसकेका छन् । नविन न्यौपानेले सम्हालेको त्रिभुवन आर्मीलाई पछि पार्दै प्रवेश कटुवालको प्रशिक्षणमा रहेको मछिन्द्र एफसीले ए डिभिजन लिग जितेको थियो ।
चितवनका विदेशी खेलाडीमा उज्वेकिस्तानका नोदिर माभलोनोभ, अमेरिकन जोनी क्याम्पबेल र भिक्टोर मानसारले, जमैकन गोलकिपर अमल नाइट, घानाका टोरिक जेबरिन र नाइजेरियन मलिक युसुफको प्रदर्शन प्रभावकारी देखिएको छ । नोदिरले पहिलो तथा जेबरिनले दोस्रो खेलमा गोल गरेका थिए ।
प्रतिक्रिया 4