+
+
Shares

रेडपाण्डासँग जम्काभेट

मिलन मुखिया मिलन मुखिया
२०८१ चैत २४ गते १३:००

बिहानको त्यस्तै ८ बजेको हुँदो हो । घामको कलिलो किरणले लेकका अग्ला कोणधारी रुखहरूलाई सुनौलो बनाइसकेको छ । हामी सन्दकपुरलाई गन्तव्य बनाएर उक्लिदैछौँ।

सन्दकपुर, अर्थात इलाम र दार्जिलिङको सीमावर्ती गन्तव्य । पर्यटकले भरिभराउ हुने यस भेगको आफ्नै कथाव्यथा छन् । त्यतातिर नलागौं । किनभने, यसपाली हामी सन्दकपुरसम्मको पैदल यात्रामा छौं । भनिन्छ नि, गन्तव्य होइन यात्रा सानदार हुनुपर्छ । हामी यही मान्यतालाई शिरोधार्य गर्दै अगाडि बढ्दैछौँ ।

तीन दिने पदयात्राका क्रममा हामी माबुस्थित दोबाटे पूर्व कैयाँकट्टा जाने पदमार्गबाट हिँडिरहेका छौं । मालिङ्गो घारीमा झरेर साथीहरू साउती गर्नथाले । उनीहरू यसरी साउती गर्न थाले, मानौं उनीहरूले एलियन नै भेटे ।

नजिकै पुगेर हेर्दा थाहा भयो, साथीहरूले रेडपाण्डा देखेछन् । रेडपाण्डा, हाम्रा लागि एलियनभन्दा के कम भयो र ?

हामीसँगै र हाम्रै युगमा यो धर्तीमा बाँचिरहेको रेडपाण्डा भेटिनु आफैँमा दुर्लभ योग हो । किनभने रेडपाण्डा नै खोज्न निस्कने हो भने संसारै खोजेर पनि हम्मेसी यो प्राणी भेटिँदैन ।

कुनै पनि कुरा जति दुर्लभ हुन्छ, उत्तिनै मूल्यवान पनि हुने रहेछ । रेडपाण्डा त्यसै यति अनमोल कहाँ भएको हो र ?

मैले अत्यन्तै नजिकबाट रेडपाण्डा नियालेँ । कति मस्त, कति मायालु, कति मोहक । हेरिरहुँ लाग्यो । कुनै अबोध बालकजस्तो । रुखको तेर्सो हाँगामा आनन्दले बसेका छन्। अनि अघिल्तिरका नङ्ग्रा चाटिरहेका छन् । त्यसपछि घामको न्यानोतर्फ फर्किएर विन्दास मुडमा सुत्छन् ।

उसलाई न कुनै भय थियो, न तनाव । आफ्नै लय र धुनमा ऊ स्वच्छन्द बाँचिरहेका छन् । घरीघरी उठेर टुक्रुक्क बस्छन् । घरी सुत्छन् । हामीलाई उसले यसरी सम्मोहित गरिदियो कि, एक घण्टा बितेको पत्तो भएन ।

हाम्रो ध्यान त्यसबेला मात्र भंग भयो, जब ऊ जुरुक्क उठेर हाँगा-हाँगा हुँदै अगाडि बढ्यो । अनि मालिङ्गो घारीमा पसेर लुसुक्कै कतै गायब भयो ।

संयोग पनि कस्तो भने, यतिबेला सन्दकपुरमा रेडपाण्डा महोत्सव चलिरहेको छ । सोही सिलसिलमा हामी माइपोखरी, गोरुवाले, छिन्तापु हुँदै चार दिने पदयात्रामा निस्कियौँ । यात्राको मैजारो गर्ने दिन अर्थात चौथो दिनमा हाम्रो जम्काभेट भयो, रेडपाण्डासँग ।

रेडपान्ण्डा । यसो भनौं, अकबरी सुनलाई कसी लगाउन पर्दैन । यो अनमोल प्राणीको बारेमा धेरै व्याख्या गर्नै पर्दैन ।

दुःखलाग्दो कुरा, यो एक लोपोन्मुख प्रजातिमा पर्छ । अबका पुस्ताले यो प्राणीलाई धर्तीमा देख्न पाउँछ वा पाउँदैन ? चिन्ताको विषय हो।

रातो खैरो रङ, कालो नाक र सेतो अनुहारले यसलाई विशिष्ठ बनाएको छ । यसको मूख्य आहार चाहिँ बाँस वा निगालाको टुसा, फलफूल र साना किराहरू हुन् । यो रातमा बढी सक्रिय हुने र दिनमा सुत्ने गर्छ ।

जैविक विविधता र पर्यावरणीय सन्तुलनका लागि यो एक महत्वपूर्ण जीव मानिन्छ । यो हिमालय क्षेत्रको पारिस्थितिकी प्रणालीको सूचक हो । अर्थात यसको उपस्थितिले वनको स्वास्थ्य र सन्तुलनलाई संकेत गर्छ ।

सन्दकपुर गाउँपालिका इलाम र नेपाल पर्यटन वोर्ड काठमाण्डौ लगायत विभिन्न संस्थाको समन्वयमा दोश्रो सन्दकपुर रेडपाण्डा महोत्सव भएको हो । सन्दकपुरले यसपाली यस प्राणीलाई नै पर्यटकीय आकर्षणका रुपमा पेश गर्ने जुन तारतम्या मिलायो, त्यो आफैँमा महत्वपूर्ण छ । यसले स्थानीय क्षेत्रको पर्यटकीय महत्व मात्र बढाउँदैन रेडपाण्डको महिमालाई पनि बचाउन मद्दत पुग्छ ।

यद्यपि अब यसको कथा र तस्विर मात्र होइन, वासस्थान पनि बचाउनुपर्छ । यसलाई कसरी बाँच्न सहज हुन्छ र कसरी प्रजननमा सहयोग पुग्छ, त्यसतर्फ पनि ध्यान दिनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?