
काठमाडौं । मिरुना मगरको शीर्ष भूमिका रहने फिल्म ‘जनै हराएको बाहुन’को छायांकन सोमबारदेखि काभ्रेको पनौतीबाट सुरु हुने भएको छ । आइतबार बिहान बुढानिलकण्ठमा शुभसाइत पूजा गरियो ।
मिरुनासहित कलाकार सुशांक मैनाली, गौरव पहारी र भोलाराज सापकोटाले मुहूर्त सट् दिए । त्यसअघि स्क्रिप्ट पूजा पनि गरिएको थियो । फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् ।
फिल्ममा विजय बराल, केकी अधिकारी, रियर राईको पनि अभिनय हुनेछ । ४० दिनको छायांकन तालिका राखिएको फिल्मलाई काभ्रेसहित पाल्पा र काठमाडौंमा खिचिने भएको छ ।
फिल्मले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्ने जनाइएको छ । फिल्मले आमा र छोराबीचको भावनात्मक कथा भन्ने प्रेषित विवरणमा जनाइएको छ ।
संक्षिप्त कुरा गर्दै मिरुनाले भनिन्, ‘हाम्रो केही न केही हराएको छ । कोहीको सामान वा अस्तित्व हराएको हुनसक्छ । यो त्यही कथा हो । कुनै समुदाय विशेषको मात्र नभएर सबैको साझा कथा भएकाले जोडिएको हुँ ।’
सहायक निर्देशक राउतले यो फिल्ममा सबै नेपालीको कथा रहेको बताए । ‘यसमा हाम्रो सम्बन्धको कथा छ, दाजुभाइबीचको सम्बन्धका बारेमा छ, आमा छोराका बारेमा छ,’ उनले भने ।
अभिनेता मैनालीले ‘टलकजङ भर्सेज टुल्के’ रिलिज भएको १० वर्षपछि आफू फिल्ममा देखिन लागेको बताउँदै यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी लागेको बताए ।
पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने फिल्मको लगानीकर्तामा विमल न्यौपाने छन् । कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल र एसडी योगीको संगीत रहने फिल्मको छायांकारमा नवीन गुरुङ छन् । फिल्मलाई आदित्य फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो ।
प्रतिक्रिया 4