+
+
Shares

पर्फ्युमको प्रचलन कसरी सुरु भयो ? यी हुन् चल्तीका १० ब्रान्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १५:३०

मानव सभ्यताको सुरुवातदेखि नै सुगन्धप्रति आकर्षण रहँदै आएको छ । सुगन्धले हाम्रा भावनालाई प्रभावित गर्छ, सम्झनाहलाई जीवन्त बनाउँछ र व्यक्तित्वलाई अभिव्यक्त गर्छ ।

हामी जुन पर्फ्युमको बोतल हातमा लिएर सुगन्धको आनन्द लिन्छौं, त्यसका पछाडि हजारौँ वर्षको इतिहास र सँस्कृतिको लामो यात्रा छ ।

पर्फ्युमको प्रचलन कसरी सुरु भयो ? कुन ब्रान्ड चर्चित छन् ? कसरी किन्ने र प्रयोग गर्ने भन्नेबारे चर्चा गर्नेछौँ  ?

पर्फ्युम प्राचीन कालदेखि आधुनिक युगसम्म

पर्फ्युमको इतिहास झन्डै ४,००० वर्ष पुरानो मानिन्छ। यसको सुरुवात प्राचीन मेसोपोटामियाबाट भएको मानिन्छ, जहाँ सुगन्धित धूप जलाउने प्रचलन थियो। तर, पर्फ्युमको वास्तविक प्रचलनको श्रेय प्राचीन इजिप्टलाई दिनुपर्छ ।

इजिप्टवासीहरूले धार्मिक अनुष्ठान र मृत शरीरको संरक्षणका लागि सुगन्धित तेल र मलहम प्रयोग गर्थे। उनीहरूले मिर्र, फ्रान्किन्सेन्स र गुलाबजस्ता प्राकृतिक सामग्रीबाट सुगन्ध निकाल्थे। क्लियोपाट्राले आफ्नो सौन्दर्य र आकर्षण बढाउन सुगन्धको प्रयोग गरेको कथा इतिहासमा प्रसिद्ध छ ।

प्राचीन ग्रीस र रोममा पनि सुगन्धको प्रयोग व्यापक थियो। ग्रीकहरूले सुगन्धलाई कला र विलासिताको प्रतीक बनाए । रोमनहरूले स्नानपछि सुगन्धित तेल लगाउने चलन सुरु गरे । मध्ययुगमा इस्लामिक सभ्यताले पर्फ्युम निर्माणको प्रविधिलाई परिस्कृत गर्‍यो। विभिन्न फूल र जडीबुटीका रसायनहरू बनाइ यसलाई मिश्रण गरेर शुद्ध सुगन्ध निकाल्ने कला विकास गरे, जुन आजको पर्फ्युम उद्योगको आधार बन्यो ।

युरोपमा पर्फ्युमको प्रचलन पुन :र्जागरण कालमा फैलियो। १४औं शताब्दीमा फ्रान्स पर्फ्युमको केन्द्र बन्यो। फ्रान्सेली राजा लुई चौधौंले सुगन्धलाई दरबारको शान बनाए। १९औं शताब्दीमा जब रसायनशास्त्रको विकासले कृत्रिम सुगन्धको निर्माण सम्भव बनायो, यसपछि पर्फ्युमको आधुनिक स्वरूप विकास भयो ।

सन् १८८९ मा गुएरलेनले जिकी’ नामक पर्फ्युम बजारमा ल्यायो, जुन पहिलो आधुनिक पर्फ्युम मानिन्छ । त्यसपछि सन् १९२१ मा च्यानल नं. ५ को आगमनले पर्फ्युमलाई विश्वव्यापी पहिचान दिलायो ।

पर्फ्युमको इतिहासमा फ्रान्सको योगदान

फ्रान्सको ग्रास क्षेत्रलाई पर्फ्युमको राजधानी मानिन्छ । यहाँको हावापानी र माटो ल्याभेन्डर, ज्यास्मिन जस्ता फूलहरू खेतीका लागि अनुकूल मानिन्छ । फ्रान्सेली पर्फ्युम निर्माताहरूले सुगन्धलाई कला र विज्ञानको संयोजन गरी आधुनिक रुप दिए । आज पनि विश्वका उत्कृष्ट पर्फ्युम ब्रान्डहरू फ्रान्सबाटै उत्पत्ति भएका छन् ।

पर्फ्युम केबल सुगन्ध मात्र होइन, यो संस्कृति र पहिचानको हिस्सा पनि हो। भारत र नेपालमा सुगन्धित धूप र तेलको प्रयोग धार्मिक प्राचीनकालदेखि हुँदै आएको छ। पश्चिमी देशहरूमा यो व्यक्तिगत शैलीको प्रस्तुत गर्ने माध्यम बन्यो ।
आज पर्फ्युमले लिंग, उमेर र सँस्कृतिलाई पार गरेर विश्वव्यापी मान्यता पाएको छ।

विश्वमै चर्चित पफ्र्यूमका केही ब्रान्ड

च्यानल : च्यानल नं. ५ संसारको सबैभन्दा चर्चित पर्फ्युम हो। यो सुगन्ध महिलाहरूको शक्ति र सुन्दरताको प्रतीक मानिन्छ ।

क्रिड : २५० वर्षभन्दा पुरानो यो ब्रान्ड हस्तनिर्मित र प्राकृतिक सुगन्धका लागि प्रसिद्ध छ। ‘एभेन्टस’ यसको लोकप्रिय उत्पादन हो ।

डायर : जे’अडोर र साउभेज जस्ता पर्फ्युमले डायरलाई फेसन र सुगन्धको पर्याय बनाएको छ ।

टम फोर्ड : आधुनिक र बोल्ड सुगन्धका लागि यो ब्रान्ड चर्चित छ । ‘ओउड वुड’ र ‘नोइर डे नोइर’ यसका उदाहरण हुन् ।

गुरलेन : परम्परा र नवीनताको संयोजन गर्ने यो ब्रान्डको ‘शालिमार’ अझै पनि सदावाहर मानिन्छ ।

ल्यानकम : ‘ला बेले ले’ जस्ता पर्फ्युमले रोमान्टिक सुगन्धको पहिचान दिएको छ ।

यभेस सेन्ट लौरेन्ट : ‘लिब्रे’ र ’ओपियुम’ जस्ता पर्फ्युमले यो ब्रान्डलाई आकर्षक बनाउँछ ।

जो मालोन : हल्का र व्यक्तिगत सुगन्धका लागि यो ब्रान्ड प्रिय छ ।

हर्मेस : ’टेरे डी’हर्मेस’ जस्ता पर्फ्युमले प्रकृतिको सुगन्धलाई बोतलमा कैद गर्छ ।

बाइरेडो : न्यूनतम डिजाइन र अनौठो सुगन्धका लागि यो आधुनिक ब्रान्ड लोकप्रिय छ ।

पर्फ्युम किन्नुअघि ध्यान दिनुपर्ने कुराहरू

सुगन्धको प्रकार : पर्फ्युम विभिन्न नोट्स (टप, मिडल, बेस) मा आधारित हुन्छ। फ्लोरल, सिट्रस, उड वा ओरिएन्टलमध्ये आफूलाई मन पर्ने छान्नुहोस् ।

गुण तथा विशेषता : पर्फ्युमहरू ईडीटी, ईडीपी र पर्फमजस्ता प्रकारका हुन्छन्। ईडीटीमा सुगन्ध ५ देखि १५ प्रतिशत रहन्छ भने ३–४ घण्टा टिक्छ । ईडीपीमा सुगन्ध १५ देखि २० प्रतिशत रहन्छ । यो ६–७ घण्टा टिक्छ । पर्फममा सुगन्ध २० देखि ३० प्रतिशत रहन्छ भने यो लामो समय टिक्छ ।

कुन पर्फ्युम लिने आफ्नो आवश्यकताअनुसार छान्नुपर्छ ।

छालाको संवेदनशीलता : पर्फ्युम छालामा लगाउँदा एलर्जी हुनसक्छ। किन्नुअघि छालामा अलिकति राखेर परीक्षण गर्नुहोस् र २४ घण्टा पर्खनुहोस्।

लेबल हेर्ने : नक्कली पर्फ्युमबाट बच्न आधिकारिक पसलबाट मात्र किन्नुपर्छ । मूल्य, प्याकेजिङ र ब्याच नम्बर जाँच्नुहोस्।

परीक्षण : कागजमा मात्र होइन, छालामा लगाएर सुगन्ध कस्तो किसिमको छ भनेर हेर्नुपर्छ । एकैपटक धेरै पर्फ्युम नसुँघ्नुहोस्, नत्र गन्ध छुट्याउन गाह्रो हुनसक्छ ।

प्रयोग गर्ने सही तरिका

–हत्केलाको पछाडिको भाग, घाँटी, कान पछाडि र छातीमा लगाउन सकिन्छ । यी ठाउँमा नाडीको गति र तापले सुगन्ध फैलाउँछ ।

–नुहाएपछि वा मोइस्चराइजर लगाएको छालामा पर्फ्युम लगाउँदा लामो समय टिक्छ ।

–बोतललाई ५–७ इन्च टाढा राखेर हल्का स्प्रे गर्नुहोस्। धेरै लगाउँदा सुगन्ध अत्याधिक हुनसक्छ, त्यो राम्रो होइन ।

–कपालमा हल्का स्प्रे गर्दा सुगन्ध लामो समय रहन्छ, तर अल्कोहलले कपाल सुक्खा बनाउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस् ।

–दिनमा २–३ पटकभन्दा बढी प्रयोग नगर्नुहोस्, नत्र अरूलाई असहज हुन सक्छ ।

–पर्फ्युमलाई चिसो, अँध्यारो ठाउँमा राख्नुहोस्, किनकि गर्मी र उज्यालोले सुगन्ध बिगार्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?