+

यूथ ओडीआई : नेपालमाथि अफगानिस्तानको नाटकीय जित

२०८१ चैत  २४ गते १७:५४ २०८१ चैत २४ गते १७:५४
यूथ ओडीआई : नेपालमाथि अफगानिस्तानको नाटकीय जित

२४ चैत, काठमाडौं । अफगानिस्तानका कप्तान महबुब खानले ब्याटिङमा अर्धशतक तथा बलिङमा अन्त्यतिर शानदार बलिङ गर्दै एक विकेट पनि लिएपछि नेपालले काठमाडौंमा जारी यूथ ओडिआई शृंखलामा लगातार दोस्रो हार बेहोरेको छ ‌। आइतबार भएको नाटकीय खेलमा नेपाल १ रनले पराजित भएको हो ।

मुलपानी क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल बाँकी छँदा १६७ रनमा अलआउट भयो । साहिल पटेलले सर्वाधिक ६४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

कुनै समय सहज जितको नजिक देखिएको नेपाल अन्त्यतिर लगातार रूपमा विकेट गुमाएपछि दबाबमा आएको थियो । अन्तिम ओभरमा १ विकेट बाँकी र ११ रन आवश्यक रहँदा अफगानी कप्तान महबुब खानलाई दर्श सोनारले पहिलो र तेस्रो बलमा गरी २ चौका प्रहार गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

त्यसपछि खेलमा नाटकीय मोड आएको थियो । महबुबले दर्शलाई बोल्ड गरे तर अम्पायरले नो बल देखाएका थिए, त्यही बलमा दर्श क्रिजबाहिर रहँदा किपरले स्टम्प नै निकालेर रनआउटको अपिल गरे । अम्पायरहरूले लामो समयको छलफलपछि रनआउट मान्यता दिए र अफगानिस्तान १ रनले विजयी भएको थियो ।

त्यसदअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान यू-१९ ले ५० ओभरमा अलआउट हुँदै १६८ रन बनाएर नेपाललाई १६९ रनको लक्ष्य दिएको थियो ।

कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए । नवौँ नम्बरमा ब्याटिङ गरेका रुहुल्लाह अरबले २७ रन बनाए । ओपनर खालिद अहमदजाइ १९ रनमा आउट भए ।

पहिलो खेलमा ३०० रन खर्चेको नेपालका बलरले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि सन्तोष यादवले किफायती बलिङ गर्दै १० ओभरमा २३ रन दिएर सर्वाधिक ३ विकेट लिए । सिब्रिन श्रेष्ठ र बिपिन प्रसाद शर्माले २-२ तथा अभिषेक तिवारी र अपराजित पौडेलले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा १३० रनले पराजित भएको थियो । ३ खेलको शृंखलामा नेपाल २-० ले पछि परिसकेको छ ‌र अब बुधबार हुने अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुनेछ ।

यूथ ओडिआई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय