+
+
Shares

को हुन् भाकपा (मार्क्सवादी)का नयाँ महासचिव एमए बेबी ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १८:०२

२४ चैत, काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को भारतको तामिल्नाडुस्थित मादुराईमा सम्पन्न २४औँ महाधिवेशनले एमए बेबी महासचिवमा चयन गरेको छ ।

सीताराम येचुरीको निधनपछि भाकपा (मार्क्सवादी) को महासचिव पद खाली थियो । नयाँ जिम्मेवारीसँगै येचुरीले हाँकिरहेको पार्टी अब केरला सरकारका पूर्वमन्त्री समेत रहेका एमए बेबीले सम्हाल्नेछन् ।

को हुन् एमए बेबी ?

७० वर्षीय एमए बेबी (मरियम एलेक्जेन्डर बेबी) ले भाकपा (मार्क्सवादी) को विद्यार्थी संगठन स्टुडेन्ट्स फेडरेशन अफ इन्डिया (एसएफआई) बाट सक्रिय राजनीति सुरु गरेका थिए । त्यसपछि उनी पार्टीको युवा संगठन डेमोक्रेटिक युथ फेडरेशन अफ इन्डिया (डीवाईएफआई) सँग आबद्ध भए।

सन् १९८६ देखि १९९८ सम्म उनी राज्यसभाका सांसद रूपमा भाकपा (मार्क्सवादी)बाट प्रतिनिधित्व गरे । महासचिव बन्ने दौडमा बेबीसँगै अखिल भारतीय किसान सभाका अध्यक्ष अशोक धवले र पश्चिम बंगालका वरिष्ठ नेता मोहमद सलीमको नाम पनि चर्चामा थियो ।

गत वर्ष सेप्टेम्बरमा सीताराम येचुरीको निधनपछि पार्टीको महासचिवको पद रिक्त थियो। हालसम्म प्रकाश करातले कार्यबाहक महासचिवको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

केरलाबाट दोस्रो महासचिव

मिडिया रिपोर्ट अनुसार, भाकपा (मार्क्सवादी)को महासचिव बन्ने बेबी केरलाबाट दोस्रो नेता हुन्। यसअघि ईएम नम्बूदरीपादले पनि पार्टी नेतृत्व सम्हालिसकेका थिए ।

सन् १९९२ मा नम्बूदरीपादले पदबाट राजीनामा पछि हालसम्म केरलबाट कुनै नेता महासचिव बनेका थिएनन् । त्यसैले यसपटक बेबीको नाम प्राथमिकतामा परेको बताइएको छ ।

पोलिटब्यूरोका १६ सदस्यहरूमध्ये ११ जनाले बेबीको पक्षमा समर्थन जनाएका थिए। उनी केरला राज्यको कोल्लम जिल्लास्थित प्रक्कुलम क्षेत्रका स्थायी बासिन्दा हुन् ।

बेबीको केरलका मुख्यमन्त्री पिनाराई विजयनसँगको सम्बन्ध खासै सुमधुर छैन भन्ने चर्चा थियो। पार्टी विधान अनुसार ७५ वर्ष नपुगेका सदस्यहरूले मात्र नेतृत्वमा आउन सक्छन् । यही प्रावधानले उनलाई महासचिवको जिम्मेवारीमा सहजै पुर्‍याएको भाकपा (मार्क्सवादी) का नेताहरूले बताएका छन् ।

हालका कार्यवाहक महासचिव प्रकाश करात, उनकी पत्नी वृन्दा करात, त्रिपुराका पूर्व मुख्यमन्त्री माणिक सरकार, सुभाषिनी अली, सूर्यकान्त मिश्र र जी. रामकृष्णन जस्ता नेताहरूले पनि ७५ वर्ष उमेर पार गरिसकेकाले उनीहरूको पार्टी नेतृत्वमा आउने बाटो बन्द भएको हो ।

बंगालमा पार्टी लामो समय सत्तामा रहे पनि ममता बनर्जी र भारतीय जनता पार्टीको उदयसँगै पार्टीको हैसियत कमजोर बनेको छ।

यस्तो अवस्थामा बेबीको काँधमा पार्टीलाई राष्ट्रिय शक्तिको रूपमा पुनरोदय गराउने चुनौती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?