
मान्छेलाई कति पैसा चाहिन्छ ? यसको कुनै सर्वस्वीकार्य जवाफ छैन । यद्यपि मान्छेलाई पैसा चाहिन्छ, कम्तिमा बाँच्नका लागि ।
तर, मान्छे बाँच्न मात्र चाहने प्राणी होइन । धर्तीको यो एक यस्तो प्राणी हो, जसले आफ्नो जीवनलाई उत्कृष्ट ढंगले भोग गर्न चाहन्छ । र, यसका लागि पैसा वा धन जरुरत हुन्छ ।
त्यसो भए कसरी पैसा कमाउने ? धनी कसरी हुने ?
यसको आ–आफ्नै तौरतरिका र प्रक्रिया होलान् । यद्यपि यस्ता केही आधारभूत र साझा तरिकाहरू छन्, जसले सही ढंगले पैसा आर्जन गर्न सिकाउँछ । एउटा भनाइ छ, पैसा कसरी कमाउने भन्दा कसरी खर्च गर्ने भन्ने महत्वपूर्ण छ ।
अतः यसका लागि ‘रिच ड्याड, पुअर ड्याड’ नामक पुस्तक अत्यन्त सहयोगी सामग्री हुनसक्छ ।
यो विश्वविख्यात पुस्तक खासगरी किशोरपुस्ता र बालबालिकाका लागि महत्वपूर्ण मानिन्छ ।
पुस्तकले पैसाको आधारभूत ज्ञान दिन्छ, जुन स्कूलमा सिकाइँदैन । बच्चाहरूका लागि यो पुस्तक विशेष रूपमा लेखिएको नभए पनि यसका आधारभूत सिद्धान्तहरूले उनीहरूलाई सानैदेखि जीवनमा पैसाको मूल्य र प्रयोगबारे महत्त्वपूर्ण पाठ सिकाउन सक्छ ।
रोबर्ट टी. कियोसाकी र शेरोन लेच्टरले लेखेको यस पुस्तकमा के छ त ?
पैसा कमाउने र बचाउने तरिका : बच्चाहरूले मेहनत गरेर कमाउनुको सट्टा पैसालाई आफ्नो लागि काम लगाउने तरिका सिक्छन् ।
संपत्ति र दायित्वको फरक : उनीहरूले के कुराले पैसा ल्याउँछ (जस्तै, लगानी) र के कुराले पैसा लैजान्छ (जस्तै, ऋण) बुझ्न सक्छन् ।
वित्तीय शिक्षा : स्कूलमा नसिकाइने पैसासम्बन्धी ज्ञानको महत्त्व बुझ्छन् ।
जोखिम लिन सिक्ने : ठूलो सपना देख्न र जोखिम लिन डराउनु नहुने प्रेरणा पाउँछन् ।
दीर्घकालीन सोच : तत्काल खर्च गर्नुभन्दा भविष्यका लागि बचत र लगानी गर्न सिक्छन् ।
यो पुस्तक लेखकको आफ्नै जीवनमा आधारित छ, जहाँ उनले दुई बाबु-उनका शिक्षित तर आर्थिक रूपमा संघर्षरत ‘पुअर ड्याड’ (वास्तविक बाबु) र उनको साथीको धनी र व्यवसायी ‘रिच ड्याड’ (उनका गुरु)बाट सिकेका पाठहरूको तुलना गर्छन् ।
पुस्तकको मुख्य सार भनेको परम्परागत सोच (राम्रो पढ्ने, जागिर गर्ने, पैसा बचाउने) बाट माथि उठेर वित्तीय साक्षरता हासिल गर्नु हो । ‘रिच ड्याड’ ले पैसालाई आफ्नो लागि काम लगाउन (लगानी, व्यवसाय, सम्पत्ति निर्माण) सिकाउँछन्, जबकि ‘पुअर ड्याड’ ले मेहनत र जागिरमा जोड दिन्छन् । पुस्तकले सम्पत्ति (जसले आय दिन्छ) र दायित्व (जसले खर्च बढाउँछ) बीचको फरक बुझाउँछ। यसले जोखिम लिन, लगानी गर्न (रियल स्टेट, सेयर बजार), र वित्तीय स्वतन्त्रता प्राप्त गर्न प्रेरित गर्छ।
१. चुनौतिबाट भाग्न हुँदैन
चुनौतिबाट भाग्ने होइन, यसलाई एउटा अवसरको रुपमा हेर्ने र सोही ढंगले लिनुपर्छ । मध्यम वर्गीय परिवारमा सुरुबाटै बच्चालाई कुनै सामान किन्न पर्यो वा त्यसको कुरा मात्र आयो भने पनि ‘यी सामान किन्ने हैसियत छैन, क्षमताले भ्याउँदैन’ भनेर सिकाइन्छ । यस्तोमा बच्चालाई बाल्यकालदेखि नै यस्ता धेरै कुरा पहुँचबाट धेरै टाढा छ भन्ने लाग्न थाल्छ ।
यता, धनी परिवारमा भने महँगो कुरा चाहिएमा कसरी लिन सकिन्छ भन्ने कुरा सिकाइन्छ । यदि केही नसोची यसरी आफैँ कुनै कुरा लिन क्षमताभन्दा बाहिर छ भनेर पछि हट्छौं भने त्यो कुराको सम्भावना नै मर्छ । त्यसको बारेमा सोच्न पनि छोडिन्छ ।
यता, जब कुनै सामान मनपर्यो भने कसरी हासिल गर्ने भनेर दिमागलाई जोड दिन थाल्यौँ भने नयाँ उपाय आउँछ । यसमा कुनै शंका छैन, त्यसपछि स्वयमका लागि धन पनि जम्मा गर्न सकिनेछ ।
२. कमाउने भन्दा बढी आफूसँग कति छ भन्ने कुरा आवश्यक
कियोसाकीका बाबु पीएचडी गरेका भए पनि महिनाको अन्तिममा पैसा धेरै बच्ने थिएन । यता, उनका साथीको बाबु अर्थात् धनी बाबु हाईस्कुलसम्म मात्र पढेका थिए ।
तर, उनको सबै ध्यान सम्पत्ति जोड्ने र जम्मा गर्नेमा रहन्छ । सम्पति चल होस् वा अचल कसरी जोड्न सकिन्छ भन्ने सबै जानकारी राख्ने गर्थे ।
जस्तो कि, मानौं तपाईँ महिनामा १ लाख रुपैयाँ कमाउनुहुन्छ र ५ हजार रुपैयाँ बचत गर्नुहुन्छ। जबकि अर्कोले ५० हजार रुपैयाँ कमाउँछ तर आफ्नो आम्दानीको २० देखि ३० प्रतिशत बचत गर्छ । र, सम्पत्ति सिर्जना गर्छ। लामो समयसम्म पनि ५० हजार कमाउने व्यक्तिसँग धेरै सम्पत्ति हुनेछ। यसले के देखाउँछ भने अर्थ, बचत गर्नु त्यति नै महत्त्वपूर्ण छ जति त्यो बचतबाट कमाउनु र सम्पत्ति सिर्जना गर्नु हो।
३. जोखिम लिनु अनिवार्य छ
यस पुस्तकले सिकाउने तेस्रो कुरा भनेको जोखिम लिनु महत्त्वपूर्ण छ। मध्यम वर्गीय परिवारहरूमा बालबालिकाहरूलाई जोखिम लिन सधैं निरुत्साहित गरिन्छ ।
यदि पैसाको कुरा हो भने कुनै पनि जोखिम नलिनु भनेर पटक-पटक सम्झाउने गरिन्छ ।
कियोसाकी भन्छन्, ‘यदि तपाईं धनी बन्न चाहनुहुन्छ भने तपाईंले जोखिम लिन सिक्नुपर्छ । यदि तपाईं सम्पत्ति सिर्जना गर्न चाहनुहुन्छ भने तपाईंले गणना गरिएको जोखिम लिनुपर्छ । बिस्तारै तपाईंले जोखिम व्यवस्थापन सिक्नुहुन्छ।’
मध्यम वर्गमा घाटा सहन सक्ने क्षमता कम हुन्छ, जबकि धनी मानिसहरूले घाटा सहन सक्छन् । धनी मानिसहरू जोखिम लिन्छन्, गल्ती गर्छन् र सिक्छन् । त्यसपछि ती गल्तीहरू दोहोर्याउदैनन् ।
४. व्यक्तिगत वित्तीय शिक्षाबारे जानकारी लिने
कियोसाकी लेख्छन् — हामीले व्यक्तिगत वित्तको बारेमा कम्तिमा चार आधारभूत कुराहरू जान्नुपर्छ ।
-सामान्य तर आधारभूत कुरा : हामी कम्पनीको वित्तीय विवरणहरू पढ्न र बुझ्न सक्छौँ ।
-लगानी : हामी लगानी गरेर हाम्रो पैसा बढाउन सक्छौँ भन्ने ज्ञान राख्नुपर्छ ।
-वित्तीय बजार कसरी चलिरहेको छ ? त्यो सँगै त्यसका आधारभूत नियमहरू जान्नुपर्छ ।
-कर : हामीले करसँग सम्बन्धित कुराहरू जान्नुपर्छ । ताकि, हामीले कमाएको पैसा बचत गर्न सकौँ । धेरै पटक यस्तो हुन्छ कि कोही मानिसहरू धनी हुन्छन् । तर आधारभूत कुराबारे जानकारी नहुँदा बिस्तारै आफ्नो पैसा गुमाउँछन् । यसको सबैभन्दा ठूलो कारण वित्तीय शिक्षाको अभाव हो ।
५. अर्काका लागि मात्र होइन, आफ्नो लागि पनि केही गर्नुहोस्
यो पुस्तकमा जीवनभर अरूका लागि काम गरेर, अर्थात् जागिर गरेर मात्र सम्पत्ति कमाउन नसकिने उल्लेख गरिएको छ । लेखकका अनुसार एक कर्मचारीले आफ्नो एक महिनाको कडा परिश्रम एक महिनाको तलबमा खर्च गर्छ । साथै, रोजगारदाताले कर्मचारीलाई दिने तलबभन्दा धेरै गुणा बढी कमाउनमा ध्यान केन्द्रित गर्छ ।
त्यसकारण, कुनै व्यक्तिले जागिरबाट कमाउने कुरा सधैं उसको वास्तविक मूल्यभन्दा कम नै हुन्छ ।
जब तपाईं आफ्नै केही सानो वा ठूलो व्यवसाय गर्नुहुन्छ वा आफ्नै लागि काम गर्नुहुन्छ, अरू कसैको पनि तपाईंको आम्दानीमा हिस्सा हुँदैन भने सम्पती आर्जन हुनथाल्छ ।
तपाईंले जति धेरै कमाउनुहुनेछ, त्यति नै धेरै बचत गर्न सक्नुहुनेछ, जति धेरै बचत गर्नुहुनेछ, त्यति नै धेरै सम्पत्ति प्राप्त गर्न सक्नुहुनेछ । त्यति नै धेरै सम्पत्ति सिर्जना गर्न सक्नुहुनेछ ।
६. पैसा कमाउनका लागि मात्र होइन, सिक्नका लागि पनि काम गर्नुहोस्
रिच ड्याड, पुअर ड्याडको मुख्य विचार भनेको धनीहरूले पैसा कमाउने कुरामा मात्र नभई सीप हासिल गर्ने कुरामा ध्यान केन्द्रित गर्छन् ।
यस पुस्तकले बहुमूल्य सीपहरू प्राप्त गर्नु महत्त्वपूर्ण छ भनेर देखाउँछ । यो भनेको तलबका लागि काम गर्नुको सट्टा आर्थिक संघर्षबाट मुक्त हुने र वास्तविक सम्पत्ति निर्माण गर्ने तरिका हो ।
यो पुस्तकले मानिसहरूलाई उद्यमी जस्तै सोच्न र उच्च तलब दिने जागिर खोज्नुको सट्टा बजारयोग्य सीप विकास गर्न प्राथमिकता दिन प्रोत्साहित गर्छ ।
पुस्तकले म्याकडोनाल्डको उदाहरण दिँदै स्पष्ट पारेको छ- राम्रो ह्याम्बर्गर बनाउने जस्तो सीप हुनु सामान्य कुरा हो । यद्यपि, यसलाई नाफामुखी व्यवसायमा परिणत गर्नु वास्तवमै महत्त्वपूर्ण कुरा हो ।
छोटकरीमा भन्नुपर्दा, यसको मुख्य सन्देश भनेको तलबको लागि काम गर्नुको सट्टा कमाईका अवसरहरू आउन सक्ने सीपहरू प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गर्नु हो ।
प्रतिक्रिया 4