२४ चैत, काठमाडौं । आज विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस नेपालसहित विश्वभर मनाइँदैछ । यस वर्षको दिवसको मूल नारा “खेल मैदानको समतलीकरण : सामाजिक समावेशिताका लागि खेल” रहेको छ ।
हरेक वर्ष चैत २४ (अप्रिल ६) मा मनाइने यो दिवसले खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्ने विश्वासलाई उजागर गर्दै आएको छ । यसले विभिन्न सामाजिक, आर्थिक, जातीय, लिङ्गीय भेदभावका सीमाहरूलाई तोड्न खेलकुदको प्रभावकारी भूमिकालाई मान्यता दिन्छ ।
सामाजिक विकासका लागि सन् २०२५ मा आयोजना हुने दोस्रो विश्व सम्मेलनको तयारी स्वरूप, यो वर्षको दिवसले विशेष गरी सामाजिक समावेशीकरणलाई केन्द्रमा राखेको छ । यसले महिला, बालबालिका, वृद्धवृद्धा, जातीय तथा लैंगिक अल्पसंख्यक समूहहरूलाई खेलकुदमार्फत मुख्य धारमा ल्याउने उद्देश्य राखेको छ ।
खेलकुदलाई समावेशी समाज निर्माणको माध्यम बनाउने लक्ष्यका साथ, सामाजिक रूढीवादी सोचलाई चुनौती दिने, समान अवसरको प्रवर्द्धन गर्ने तथा सबैका लागि पहुँचयोग्य खेल वातावरण सिर्जना गर्न यो दिवस प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।
यस अवसरमा संयुक्त राष्ट्र मुख्यालय, न्यूयोर्कमा विशेष कार्यक्रम आयोजना हुने भएको छ । उक्त कार्यक्रम मोनाको र कतारको स्थायी मिसन, आर्थिक तथा सामाजिक मामिलासम्बन्धी विभाग, विश्व सञ्चार विभाग तथा संयुक्त राष्ट्र महिलासँगको सहकार्यमा आयोजना गरिनेछ ।
कार्यक्रममा लिङ्ग समानता, जातीय समानता तथा स्वस्थ वृद्धावस्थासँग सम्बन्धित विषयमा गहन छलफल गरिनेछ । यसले सामाजिक समावेशमा खेलकुदको भूमिका, चुनौती र सम्भावनाका विषयमा जागरूकता फैलाउनेछ ।
खेलकुदको विशाल पहुँच, लोकप्रियता तथा सकारात्मक मूल्यका आधारमा यसलाई संयुक्त राष्ट्रसंघले विकास र शान्तिका लक्ष्यमा योगदान पुर्याउने महत्वपूर्ण साधनका रूपमा मानिएको छ । यही सम्भावनाको पहिचान गर्दै संयुक्त राष्ट्र महासभाले ६ अप्रिललाई विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको रूपमा घोषणा गरेको हो ।
यसै सन्दर्भमा, आगामी चैत २५ (अप्रिल ७) मा न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा ‘खेलमार्फत सामाजिक समावेशीकरणको प्रगति : सामाजिक विकासका लागि दोस्रो विश्व सम्मेलनतर्फ’ शीर्षकमा विशेष कार्यक्रम समेत आयोजना हुने जनाइएको छ ।
प्रतिक्रिया 4