
‘लीलालाई कस्तो छ ? दुर्गाको घरमा जस्तापाता लगायो ? नीरबहादुरले रक्सी खान छाड्यो ? मृगेन्द्रले कति अलैंची फलाउँछ ?’
काठमाडौंको कुनै अनाम–गल्लीमा वर्षौं–वर्षपछि अचानक भेटिँदा भैरव सर (रिसाल) ले चर्को स्वरमा सातो खाएका थिए । त्यो मध्यान्ह मैले सुविस्तासँग उनको प्रश्न हल गर्न पाएको थिइनँ । त्यही साता थापाथलीस्थित वातावरण पत्रकार समूहको भवनमा भैरव सरले प्रश्न दोहोर्याएका थिए, ‘लीलालाई कस्तो छ ?’
लिला, जसलाई हामी ‘डल्ले’ भन्थ्यौं । करिब पाँच फिट तीन इन्च अग्ला डल्ले वास्तवमा ‘डल्ले’ थिएनन् । तर, हामी उनको असली नाम ‘लिलाबहादुर’ वा ‘लिला दाजु’ सम्बोधन गर्न कञ्जुस गर्थ्यौं । किनभने ऊ अलि सुस्त मनस्थितिको थियो ।
भैरव सरले भने उनलाई सग्लो नामले बोलाउँथे । प्रेमपूर्वक । डल्ले फुरुङ्ग ।
त्यसताका हाम्रो गाउँमा पाहुना बनेर भैरव सर कति साता वा महिना बसे ? मलाई हेक्का छैन । हामी कट्टु नलगाई कुद्ने उमेरका थियौं । भैरव सर मायालु भाषामा हप्काउँथे, ‘ए..ए खै त लुगा लगाएको ? खै त सिँगान पुछेको ? खै त पढेको ?’
फल्यासब्याकः एउटा सुकिलो मान्छेको आगमन
गाउँ भनौं टिपिकल गाउँ पनि होइन । शहर ? शहर त हुँदै होइन ।
एउटा ठिमाहा बस्ती । झुरुप्प दर्जन जति घर भएको । लस्करमै निम्न माध्यामिक विद्यालय । घरेलु कपडा उत्पादन कारखाना । दुग्ध संकलन केन्द्र । सानो परोपकार केन्द्र । कृषि विकास बैंकको शाखा । हुलाकको पत्र–मञ्जुसा बक्सा । बाजेको घुम्ती दोकान । घट्ट (मिल) । र, त्यही मिलबाट घर–घरमा बिजुली ।
धुस्रोफुस्रो बस्तीमा एउटा सुकिलो मान्छे देखापरेका थिए । होचो–होचो । ठूलो तालु भएको । चम्किलो आँखा भएका । सफाचट पाइन्ट, सर्ट लगाएका । सर्टको खल्तीमा कलम भिरेका । सानो पकेट डायरी बोकेका । छालाको जुत्ता लगाएका । नाम, भैरव रिसाल ।
देख्नासाथ सबैले हतार–हतार भन्थे, ‘नमस्ते भैरव सर !’
उनी को हुन् ? थाहा थिएन । किन आएका ? त्यो पनि थाहा थिएन । के गर्छन् ? त्यो पनि थाहा थिएन ।
थाहा थियो, उनी ‘ठूला मान्छे’ हुन् । हाम्रा बुबाहरुले मान्ने मान्छे । सूर्य सर, श्याम सरले पनि ‘सर’ भनेर बोलाउने मान्छे । निसन्देह, पुड्को भए पनि यी गतिला मान्छे हुन् ।
रामदेव जस्तै भैरव सर
गाडीमा आउँथे । गाडीमा जान्थे । चिरिच्याट्ट पर्थे । मान्छे भेला गरेर चर्को स्वरमा के–के भन्थे । उनले बोलिसकेपछि भेलाले ताली पड्काउथे । उनका सामुन्ने सबै झुक्थे । सर्तक हुन्थे । र, अक्सर उनले सोध्ने प्रश्न ‘फलानोकोमा चिया पाक्यो ?’ को जवाफ दिन तम्तयार भएर बस्थे ।
हो त, उनी एकाबिहानै हरेकको घर–घरमा पुग्थे । यसो भन्दै, ‘खै, यहाँको चिया ?’
सबैको चुल्होमा पाकेको चिया पिउनु उनको लत थियो वा आत्मियता ? हामी बुझ्ने उमेरका भएकै थिएनौं । हाम्रो घरमा पस्थे । र, उही आवाजमा कराउथे, ‘लु धविन्द्रको घरको चिया खाने ।’
हामी सिरकमा गुटमुटिएको हुन्थ्यौं । त्यसबेलासम्म उनले लेकको चिसो पानीले एकसरो ज्यान पखालिसकेका हुन्थे । हामीलाई सुनाइन्थ्यो, ‘भैरव सर दिनदिनै नुहाउँछ ।’ कतिवेला नुहाउँछ ? देख्दैनथ्यौं । तर, नुहाइधुवाई सकेर कोठामा एक्लै चटक देखाउन थालेपछि हामी केटाकेटी उनको ढोका अघिल्तिर भिड लाग्थ्यौं । ठेलमठेल गर्दै ।
हामीलाई चटक नै लाग्थ्यो । टपलेस ज्यान लिएर अहिलेका रामदेवले जस्तो अनेक–अनेक गरेको । कहिले उँधोमुन्टो पर्ने, कहिले खुट्टाले नाखको टुप्पो छुने, कहिले पलेंटी कसेर दुबैं हातले ज्यानलाई जुरुक्क उचाल्ने । बुढा त जादुगर नै थिए, हाम्रा लागि ।
त्यसपछि उनी पालै पालो दायाँ–बायाँ नाक निकालेर सास लिन्थे । छाड्थे । घाँटी भित्रैबाट चर्को स्वर निकाल्थे । हामी भन्थ्यौं, ‘भैरव सर रुन्छ ।’
भैरव सरको, इमान–इज्जत
हाम्रा बुबा स्थानीय स्कुलका मास्टर । तर, बेलामौकामा जाँड घुट्काउँथे । मातेपछि कसैसँग डराउँदैनथे । संसारकै ठूलो हुँ भन्ठान्थे । तर, भैरव सरको सामुन्ने कहिल्यै ठूलो हुन नसक्ने । जसै भैरव सर फूर्तिसाथ अघिल्तिर आइपुग्थे । बुबाहरु जतिसक्दो आफुलाई भलाद्मी देखाउन बल गर्थे । भैरव सरले जे भनेपनि, जति बोलेपनि चुपचाप स्वीकार्थे ।
एक थिए, लिम्बु बडा । रक्सी नभेटेसम्म ‘देउता’ । रक्सी भेटेपछि साउथ इन्डियन फिल्मका भिलेन जस्ता । कसैसँग नटेर्ने । उनको सामुन्ने भैरव सर पनि बामपुड्को ।
गाउँभरका ‘लेडिज एन्ड जेन्टलमेन’को भेला गराउथे भैरव सरहरु । लिम्बु बडाले बोल्न दिए पो !
भेलामा गएर बुढा आफुखुसी गीत गाउने, कराउने । त्यसपछि जुनसुकै भेलामा पनि सर्वप्रथम लिम्बु बडालाई पहिलो वक्ता बनाउने कुरा भएछ । अब भिडमा उभिएर बोल्नु र जथाभावी बोल्दै हिँड्नु उस्तै भो त ?
भिडमा जतनसाथ उभिएर बान्की मिलाई–मिलाई बोल्न बुढालाई नआउने । अन्तत जानी–नजानी दुई/चार कुरा ओकल्यो, साइड लाग्यो ।
भैरव सरको गुड आइडिया !
‘स्विच सर’ र आलु
एक थिए, गोरा ।
अग्ला, ठूला काँठ, गोरा छाला, कैला कपाल भएका । स्वीट्जरल्याण्डका उनलाई उनलाई ‘स्विस’ नभनेर हामी हामी ‘स्विच सर’ भन्थ्यौं । ‘स्विच सर’ अंग्रेजी बोल्थे, हामीलाई बाल मतलव । तर, उसिनेको आलु बोक्रैसँग खाएको चाहि खुब स्वाद लाग्ने ।
घरमा हामीलाई भनिन्थ्यो, ‘स्विच सरले जस्तै बोक्रैसँग आलु खानुपर्छ, ताकत लाग्छ ।’
उनी ठूलो हाफपाइन्ट लगाएर गाउँघरका बारीमा पुग्थे । आलु रोपाउँथे । आलुको विउँ बाढ्थे ।
खासमा उनी स्वीटरल्यान्डका नागरिक रहेछन् । आलु उत्पादनकै लागि विशेष परियोजना लिएर नेपाल आएका । भैरव रिसाल त्यही परियोजनाका कर्मचारी । राष्ट्रिय समाचार समिति (रासस)मा लामो समय घोटिएपछि उनलाई फरक पेशाको स्वाद लिने जाँगर चलेका रहेछन् ।
अहिले सुन्छु, उनै ‘स्विच सर’ले हाम्रोतिर ड्याङ बनाएर आलु रोप्न सिकाए ।
आलु रोप्ने विधि सिकाएर उनी आफ्ना देश फर्किएको बर्षौ वित्यो । त्यसबीचमा आलुको बिउँ पनि थरीथरी आए । रोपण विधीहरु पनि परिवर्तन भए होलान् । तर, हामीकहाँ अझै ड्याङ बनाइन्छ ।
विकासे मोडलका मास्टर माइन्ड
बस्ती सानो । झुरुप्प घर । तर त्यही थियो, कृषि विकास बैंकको शाखा । त्यही थियो, दुध संकलन केन्द्र । त्यही थियो, विद्यालय । त्यही थियो, कपडा बनाउने घरेलु उद्योग । त्यही थियो, परोपकार केन्द्र । त्यही थियो, हुलाकको पत्र मञ्जुषा । त्यही थियो, अन्न पिस्ने मिल । मिलबाट घर–घरमा बिजुली ।
त्यसबेला भैरव सर देखेका थियौं, चिनेका थिएनौं । ठूलो भएपछि थाहा भयो, हाम्रो गाउँको ‘विकासे मोडल’का मास्टर माइन्ड उनै रहेछन् ।
यी सब किस्सा सुन्दा यस्तो लाग्ने, मानौ उनी दक्षिण भारतिय फिल्म ‘शिवाजी द बोसका हिरो हुन्, जसले जादुयी ढंगले एउटा गाउँको मुहार फेरिदिन्छन् ।
त्यही बसाईमा उनले ‘आलु गोदाम’ बनाएका रहेछन्, जहाँ गाउँभरीका किसानले आलु भण्डारण गर्थे । खासगरी बिउको लागि । चिया विस्तार योजनाको अवधारणा उनकै घर्षणबाट पैदा भएछ । दुग्ध चिस्यान केन्द्र बनाउने निधो उनैले गरेछन् । उनैको पहलमा तत्कालीन राजा विरेन्द्रको भ्रमण गराइएछ ।
तामझामको साथ राजा वीरेन्द्र पुगेर सानो गाउँमा भएका भएभरका विकासका प्रयासहरु हेरेछन् । काकाको अलैंची बारीमा पुगेछन् । र, सोधेछन्, ‘अलैंची कति फलाउँर्छौ ?’
यो प्रश्नको जवाफ काकाले कति उमंगमय भावमा दिए होलान् ? सम्झदा मन त्यसै–त्यसै प्रफुल्ल हुन्छ । काकाको ठूलो अलैंचीबारी (टार) लाई राजारानी टार भन्न थालियो । त्यही फलेको अलैंचीले काकाले समृद्ध जीवन विताए ।
ती भैरव सर, यी भैरव सर
‘काठमाडौं जाँदा भैरव सर भेट्नु’ बुबाहरु यसै भन्थे ।
उनी पत्रकार हुन् । राजासँग डाइरेक्ट बातचित गर्ने मान्छे हुन् । किताब लेख्ने मान्छे हुन् । जेल परेका मान्छे हुन् । बाल्यकालमा यस्तै किस्सा सुन्दै हुर्कियौ हामी ।
‘भैरव सर’ जसलाई हाम्रो गाउँले सधै एक आदर्श व्यक्तिको रुपमा पुकारिरह्यो । अहिलेसम्म पनि ।
आउन त उनी त्यहाँ जागिर खान आएका थिए । तर, उनले जागिर मात्र खाएनन्, पुरानै लयमा सुस्ताइरहेको गाउँलाई तङ्ग्राए । बासी हावा बहकिएको समाजमा ताजा हावा चलाइदिए । उनले आलुभन्दा पनि हरेकको मनमा जाँगर र उत्साहको बिउ रोपिदिए ।
हुक्र्यौं, बढ्यौं । काठमाडौं आइयो । थापाथलीको नेपाल वातावरण पत्रकार समूहको कार्यलय पुगियो । टुप्लुक्क भेटिए, भैरव सर ।
उस्तै लुगा, उस्तै अनुहार, उस्तै स्वर, उस्तै जाँगर, उस्तै उत्साह ।
भैरव सरले अजम्बरीको बुटी खाएका छन् ?
त्यो युगदेखि यो युगसम्म उनी उस्तै छन् त ! बुढ्यौली, थकान केही छैन । बर्षाै पछि उस्तै आवरण र बान्कीमा भेट्दा भैरव सर मलाई अनौठो लाग्यो । उनले चर्को स्वरमा सोधें, ‘अँ, तिमी कसको छोरो रे ? धविन्द्रको ? धविन्द्रले रक्सी खान छाड्यो ?’
‘बुबा वितेको बर्षौं भयो’ मेरो कुरा सुनेर उनले विस्मय मान्दै ‘अहो !’ शैलीमा आँखा तन्काए ।
त्यसपछि उनले मेरो अन्र्तवार्ता लिन थाले ।
‘निरबहादुरलाई कस्तो छ ?’
‘उहाँ पनि बित्नुभो ।’
युवराज लिम्बुको, के छ ?
‘उहाँ अलि रोगी हुनुभएको छ ।’
बाटो पिच भयो ?
‘छैन ।’
मृगेन्द्रले कति अलैंची फलाउँछ ?
‘तीस, चालीस मन ।’
अँ, लीलालाई कस्तो छ ? अलि राम्रो भयो ?
ठिकै छ, उस्तै छ ।
लाग्यो, बुढालाई हाम्रो गाउँको ‘तीन पुस्ते’ जानकारी रहेछ । हरेकको नाम याद छ । हरेकको पेशा र प्रवृत्ति याद छ ।
लाग्यो, बुढाले लामै समय हाम्रो गाउँमा बसेका रहेछन् । तर, कुरा फरक रहेछ । हाम्रो गाउँमा मात्र होइन, देशका असंख्यौं गाउँ–वस्ती चाहारेका रहेछन् बुढाले । हरेक गाउँसँग उस्तै आत्मीयता गाँसेका रहेछन् । बुढाका बारेमा थाहा पाएपछि भूपि शेरचनले इलाम यात्रामा लेखेको कवितालाई रिमिक्स गर्न मन लाग्यो ।
भूपिले लेखेका रहेछन्, ‘नेपालभरि अलि–अलि इलाम छर्न मन लाग्यो ।’
मैले यसैको रिमिक्स भर्सन बनाइदिएँ, ‘नेपालभरि एउटा–एउटा भैरव रिसाल आविष्कार गर्न मन लाग्यो ।’
(१९ साउन २०७५ मा अनलाइनखबरमा पहिलोपटक प्रकाशित यो सामग्री आज भैरव रिसालको महाप्रस्थान भएको दिन स्मृतिस्वरूप पुनः प्रकाशन गरिएको हो ।)
प्रतिक्रिया 4